गलत नीतिले मालपोत र नापीमा भ्रष्टाचार मौलायो

0
766

भद्रपुर,

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले मालपोत र नापी कार्यालयहरूमा नीतिगत भ्रष्टाचार मौलाउँदै गएको बताए।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरको ९ औँ अधिवेशन तथा १३ औँ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष दाहालले भने, ‘सिंहदरबारको अधिकार गाउँ-गाउँमा जाने सरकारको गलत नीतिले मालपोत तथा नापीका कर्मचारीमा मनोबल बढेको र भू-उपयोगसम्बन्धी गलत नीतिले कित्ता काट रोक्दा भ्रष्टाचार बढेको हो।’

सरकारी निकायमा नीतिगत भ्रष्टाचार रोक्न सरकारले ठोस कदम नचाले सम्म लेखापढी व्यवसायीमा माथि नै भ्रष्टाचारको आरोप लाग्दै आउने उनको भनाई छ। ‘सरकारले घुस लिने तथा भ्रष्टाचार गर्न कर्मचारीलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘जहिलेसम्म यी कार्यालयमा भ्रष्टाचार र घुस रोकिँदैन। देशमा सुशासन आउँदैन।’ ‘मैले मन्त्रीलाई नै भनेको छु। ९० प्रतिशत कर्मचारी भ्रष्टाचारमा लिप्त छन्।

तपाईंले ती कर्मचारी कारबाही गर्नुहोस्। हामी भ्रष्टाचार संलग्न लेखापढी व्यवसायीलाई ५ मिनेट भित्रै कारबाही गर्छौ’, उनले भने।’ उनले सरकारले ल्याएको भू नीति अनुसार अनलाइन सिस्टममा सहयोग पुर्‍याइदिन हुन र भू सेवा केन्द्र लिई दिनु हुन सबै लेखापढी व्यवसायीलाई अनुरोध समेत गरे।

इकाई समिति भद्रपुरका अध्यक्ष महेश न्यौपानेको अध्यक्षता सम्पन्न उद्घाटन कार्यक्रममा विगत लामो समयदेखि संगठनमा कार्यरत आफ्ना ज्येष्ठ सदस्य वैधनाथलाल कर्ण र टिका कोइरालालाई सम्मान गरेको छ। साथै २०७६ सालको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई पास हुने सदस्यका छोराछोरीहरू प्रसान पौडेल, सदीक्षा न्यौपाने, इशुभ ढुङ्गाना र विवेक घिमिरेलाई नगदसहित सम्मान गरेको छ।

कार्यक्रममा निवर्तमान केन्द्रीय अध्यक्ष तेजप्रसाद ढकाल, केन्द्रीय सचिव युवराज कार्की केन्द्रीय सदस्य रमेश पोखरेल, प्रदेश १ का प्रमुख पुरुषोत्तम अधिकारी, इकाई समिति भद्रपुरका पूर्व अध्यक्ष लोकनाथ भट्टराई, दमक इकाईका कार्यवाहक अध्यक्ष उद्धव दाहाल, लेखापढी बचत तथा ऋण सहकारीका अध्यक्ष महेश भट्टराईलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए।

इकाई समितिका कोषाध्यक्ष लावन्यकुमार पोखरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र खतिवडाले गरेका थिए। आगामी तीन वर्षीय कार्यकालका लागि यही अधिवेशनले अध्यक्षसहित १३ सदस्यीय कार्यसमिति गठन गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here