पूर्णबहादुर कटुवाल,
सामान्यतयः स्थानीयस्तरका विषयवस्तहरू समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिने शैक्षणिक सामग्री नै स्थानीय पाठ्यक्रम हो । यसले स्थानीय क्षेत्रका प्राथमिकतामा रहेका विषयवस्तुहरूलाई समेट्छ र तिनीहरूलाई विद्यालयको नियमित कार्यक्रम अनरूप कक्षाकोठासम्म पुर्याउने अपेक्षा गरिन्छ । यस पाठ्यक्रममा विशेषशतः स्थानीय स्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा, व्यवसाय विपद् व्यवस्थापन लगायतका विषय वस्तु समेटिन्छन् । जसलाई स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन निर्देशिका २०६४ ले निर्दिष्ट गरेको छ ।
नेपाल आफ्नै विशिष्टता र विविधताले भरिपूर्ण भएको मुलुक हो । जहाँ भौगोलिक, धार्मिक एवम् सांस्कृतिक, जातीय, भाषिक विविधता देशका प्रमुख विशेषता हुन् । यसैले विद्यालय तहमा केन्द्रबाट तयार गरी लागू गरिएको पाठ्यक्रमले मात्र विद्यार्थीहरूलाई आवश्यक ज्ञान, सीप र व्यवहारका सम्पूर्ण सक्षमताहरू प्रदान गर्न सक्तैन भन्ने यथार्थलाई मध्यनजर गरी स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।
यसलाई प्राथमिक शिक्षा पाठ्यक्रम २०६२÷२०६५, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३, स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन निर्देशिका २०६४ ले समेत प्रष्ट पारेको छ । यसै सन्दर्भमा स्थानीय पाठ्यक्रम प्रारूप, २०७१ समेत प्रकाशन भई कार्यान्वयनमा आइसकेको परिप्रेक्षमा यसको औचित्य प्रमाणित भएको छ । त्यसैगरी नेपालको संविधान २०७२ ले समेत माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनमा स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिसकेकाले पनि स्थानीय तहको अगवाईमा स्थानीय पाठ्यक्रमको निर्माण गरी कार्यान्वयन गर्नु आजको आवश्यकता समेत हो ।
हाम्रो देशमा परिमार्जित प्राथमिक शिक्षा पाठ्यक्रम, २०६२ (कक्षा १÷३)÷२०६५ (कक्षा ४÷५)का अनुसार कक्षा १÷५ मा सामाजिक अध्ययन, शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयको ८०% पाठ्यक्रम केन्द्रले र २०% पाठ्यक्रम स्थानीय तहबाट निर्माण गर्ने प्रावधान छ र सोही अनरूप धेरैजसो विद्यालयमा कार्यान्वयन हुँदै आएको छ । त्यसैगरी साप्ताहिक ४ पाठ्यभार ( वार्षिक १२८ घण्टी) रहेको १०० पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने दायित्व पनि स्थानीय तहलाई दिइएको छ ।
आधारभूत शिक्षा (कक्षा ६÷८) पाठ्यक्रम २०६० का अनुसार कक्षा ६÷८ मा समेत जम्मा ८०० पूर्णाङ्क मध्ये स्थानीय विषय वा संस्कृत वा अन्य विषयको ५ पाठ्यभार र १०० पूर्णाङ्क कायम गरी १७५ बार्षिक घण्टी दिइएको छ । यस आधारमा पनि कक्षा ६÷८ को पनि स्थानीय आवश्यकता अनुसार स्थानीय पाठ्यक्रम बनाउने प्रावधान रहेको छ ।
नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा तयार भई २०६३ सालदेखि देशभरका विद्यालयहरूमा कार्यान्वयन हँुदै आएको प्राथमिक तहको पाठ्यक्रममा व्यवस्था भए अनुरूप कक्षा १ देखि ५ सम्मको कूल ६०० पूर्णाङ्कमध्ये १००पूर्णाङ्क एवम् १२८ घण्टी वार्षिक पाठ्यभार रहेको स्थानीय विषयको पाठ्यक्रम निर्माण गरी अध्यापन गर्नुपर्दछ । त्यसैगरी आधारभूत शिक्षा (कक्षा ६÷८) पाठ्यक्रम २०६० मा समेत जम्मा ८०० पूर्णाङ्कमध्ये स्थानीय विषय वा संस्कृत वा अन्य विषयको ५ पाठ्यभार र १०० पूर्णाङ्क कायम गरी १७५ घण्टी वार्षिक पाठ्यभारको पाठ्यक्रम निर्माण गरी अध्यापन गर्न सकिन्छ ।
यसै आधारमा स्थानीय विद्यालयद्वारा सो सम्बन्धी पाठ्यक्रम निर्माण गर्नुपर्ने व्यहोरा स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका २०६४ र वर्तमान स्थानीय पाठ्यक्रम प्रारूप २०७१ ले समेत यसलाई थप पुष्टि गरेको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गरी आधारभूत तहमा अध्ययनरत् बालबालिकाहरूलाई आप्mनो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान सीप प्रदान गर्ने यसको मुख्य अभिप्राय रहेको छ । स्थानीय तहको शिक्षा विभागद्वारा निर्माण गरिने पाठ्यक्रमले स्थानीय क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई प्रविष्ट गर्नसक्नुपर्छ । र, सोही क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनलाई समेत महत्व दिनसक्नुपर्छ ।
मानव सभ्यता र विकासका लागि स्थानीय तहबाट नै जागरुकता आउनुपर्दछ । संसारमा सबै प्रकारका विकास र सुधारका कार्यहरू मानवबाट नै सम्भव भएका छन् । मानिसले सर्वप्रथम आप्mनो गाउँ, समुदायको पहिचान गर्नुपर्दछ । त्यहाँ भएका प्राकृतिक, ऐतिहासिक सम्पदाहरू र आर्थिक क्रियाकलापहरूबारे जानकार हुनुपर्दछ । आफू र आप्mनो क्षेत्रबाट सुधारको पहल गरेर मात्र व्यापक क्षेत्रमा पुग्न सकिन्छ सकिन्छ भन्ने मान्यतालाई भुल्न हुँदैन । यसै सन्दर्भलाई हृदयंगम गरी स्थानीय पाठ्यक्रमले आफ्नो क्षेत्रको विशिष्ट पहिचान दिनसक्नुपर्छ ।
आधारभूत तहमा अध्ययनरत् बालबालिकाहरूले स्थानीय पाठ्यक्रमको माध्यमबाट औपचारिक रूपमा आप्mनो गाउँ, समाज र जिल्लाको वस्तुनिष्ठ ज्ञान प्राप्त गर्न सक्नुपर्छ र यहाँ प्रचलित भाषा, संस्कृति, ऐतिहासिक र धार्मिक महत्वका स्थलहरू, प्राकृतिक सम्पदा तथा यसको संरक्षण एवम् सम्वद्र्धन गर्दै सम्भावित स्थानीय प्राकृतिक बिपत्तीहरूका बारेमा समेत पहिचान गर्नसक्नुपर्छ । स्थानीय क्षेत्रमा प्रचलित पेसा व्यवसाय र आर्थिक क्रियाकलापको औपचारिक जानकारी प्राप्त गर्नसक्नुपर्छ । पाठ्यक्रमले वातावरण संरक्षण तथा सुधारका निम्ति सहयोग गर्न प्रेरित गर्नुपर्छ र यसबाट बालबालिकाहरूले सामाजिक मूल्य–मान्यताको पालना गर्दै असल सामाजिक व्यवहारको अनुशरण गर्दै हामीले निर्माण गरेको पाठ्यक्रमको कार्यान्वयनले भावी सामाजिक तथा वातावरणीय विकासका धरोहर आजका बालबालिकाहरूलाई स्थानीय परिवेशको सर्वाङ्गिण पक्षको पहिचान गराई सोको संरक्षण तथा सुधारमा सहयोग र सक्रिय सहभागिता बढाउनका साथै स्वावलम्बनको धारणा समेत प्रदान गर्नसक्नुपर्छ ।
भविष्यमा स्थानीय क्षेत्रको विकासका निम्ति नयाँ सम्भावनाहरू पहिल्याउने अवसर प्रदान गर्दैै सामाजिक सहिष्णुता र मेलमिलापको वातावरण विकास गरी दिगो विकासका लागि सामाजिक ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै पेसा व्यवसायको लागि गाँउ छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने किसिमको हुनुपर्छ हाम्रो स्थानीय पाठ्यक्रम । तहगत सक्षमतालाई मापन गर्ने हो भने स्थानीय पाठ्यक्रमले निम्न अनुसारका सक्षमता समेट्न सक्नुपर्छ ः
क) स्थानीय स्तरमा पाइने वनस्पति तथा पशुपंक्षीको (जैविक विविधता) पहिचान ।
ख) स्थानीय क्षेत्रमा रहेका भौगोलिक सम्पदाको परिचय ।
ग) स्थानीय क्षेत्रका प्राकृतिक तथा मानवजन्य बिपत्तीहरूको पहिचान र सोबाट होसीयारी ।
घ) स्थानीय क्षेत्रका प्रचलित चाडपर्व र संस्कृतिको पहिचान ।
ङ) स्थानीय ऐतिहासिक स्थलहरूको परिचय ।
च) असल सामाजिक मूल्य–मान्यताको अनुशरण ।
छ) स्थानीय पेसा, व्यवसाय र आर्थिक क्रियाकलापहरूको पहिचान ।
ज) योग व्यायाम र खेलकुद सम्बन्धी परिचय ।
स्थानीय पाठ्यक्रमको छनौटका विषयवस्तुहरुमा, स्थानीय वातावरणमा पाइने वनस्पति, जडीबुटी र पशुपंक्षीहरू, प्रदुषण, फोहोरमैला व्यवस्थापन, ऊर्जा, जलवाय’ परिवर्तन, स्थानीय सेरोफेरोमा रहेका नदीनाला, तालकुण्ड, हिमाल र खनिज पदार्थ, भूकम्प, बाढी, पहिरो, आगजनी, चट्याङ, हुरी, बतास र सडक दुर्घटना, स्थानीय स्तरमा प्रचलित भाषा, चाडपर्व, धर्म–संस्कृति, रीतिरिवाज र भेषभुषा, मठ, मन्दिर, गुम्बा, चर्च र अन्य धार्मिक सम्पदाहरू, सामाजिक मूल्य–मान्यता र सकारात्मक व्यवहार, स्थानीय क्षेत्रमा प्रचलित पेसा, व्यवसाय, उद्योगधन्दा तथा आयआर्जनका क्रियाकलापहरू (पशुपालन, खेतीपाती, जडीबुटी खेती, हस्तकला, होटल व्यवसाय, पर्यटन आदि) स्थानीय क्षेत्रमा परम्परागत रुपमा खेलिने खेलहरु र योग व्यायामहरु ।
कतिपय स्थानीय तहमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा आइसकेको अवस्था छ भने कतिपय स्थानीय तहमा सो पाठ्यक्रम निर्माण हुने क्रममा रहेको छ । वास्तवमै स्थानीय पाठ्क्रम निर्माण र उपयोगको यो महत्वपूर्ण अवसर पनि हो । यो अवसरको उपयोगका लागि सम्बन्धित सरोकारवालाले अत्यन्त जिम्मेवारीबोधका साथ यसको निर्माण गर्नसक्नुपर्छ । विषयवस्तुको गाम्भिर्यतालाई बुझ्न कुनै कसर बाँकी राखिनु हुँदैन, पाठ्यक्रम निर्माणको घडीमा । कमजोर बौद्धिकताको सीमित स्वार्थको मिश्रणभन्दा पनि उच्च बौद्धिकता र मनोविज्ञानको प्रयोगद्वारा स्थानीय पाठ्यक्रम निर्माण र प्रयोग हुन सक्यो भने हाम्रो खस्कदो शैक्षिक गुणस्तर उकास्ने एउटा बलियो इँटा समेत सावित हुनसक्छ हाम्रो पाठ्यक्रम ।


























