अर्जुनधारा ।

झापाको अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २२औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष सन्तबहादुर मगरले व्यक्त गरेका थिए ।
सभामा समूहका अध्यक्ष लोहारले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्बरबहादुर सुब्बाले चालु आर्थिक वर्ष ०७६÷०७७को अनुमानित बजेटसहित वार्षिक नीति तथा कार्यक्रम र कार्यालय सचिव श्रीप्रसाद नेपालले गत आर्थिक वर्ष ०७५÷०७६को आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा कुल आम्दानी भन्दा १० लाख ७० हजार सात सय ८९ रुपैयाँ बढी खर्च भएको समूहको गत आर्थिक वर्षको कुल आम्दानी ७६ लाख ९३ हजार छ सय ३९ रुपैयाँ र जम्मा खर्च ८७ लाख ६४ हजार चार सय २८ रुपैयाँ उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा वन विकासतर्फ ३० लाख ११ हजार चार सय एक रुपैयाँ, प्रशासनिकतर्फ २१ लाख ७८ हजार एक सय ३६ रुपैयाँ, कटानी ढुवानी पाइलिङ तथा चिरानतर्फ १७ लाख ९५ हजार छ सय सात रुपैयाँ, सामाजिक विकासतर्फ नौ लाख २६ हजार ६९ रुपैयाँ र गरिबी न्यूनिकरणतर्फ आठ लाख ५३ हजार दुई सय १५ रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको लागि अनुमानित एक करोड ४९ लाख ४८ हजार आठ सय ५३ रुपैयाँ ४० पैसा बराबरको बजेट सभामा पेश गरिएको थियो । पेश गरिएको बजेटमध्ये गरिबी न्युनिकरणतर्फ ५२ लाख ३२ हजार ९८ रुपैयाँ, वन विकासतर्फ ३७ लाख ३७ हजार दुई सय १३ रुपैयाँ ३५ पैसा, प्रशासनिकतर्फ १७ लाख ९३ हजार आठ सय ६२ रुपैयाँ, सामाजिक विकासतर्फ १७ लाख ९३ हजार आठ सय ६२ रुपैयाँ, काठदाउरा संकलनतर्फ ११ लाख ९५ हजार नौ सय आठ रुपैयाँ २७ पैसा, करतर्फ नौ लाख एक हजार तीन सय २६ रुपैयाँ, भैपरी तथा विपद् व्यवस्थापनतर्फ दुई लाख ४४ हजार पाँच सय ८४ रुपैयाँ र विविधतर्फ ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

सोही सभाको अवसरमा स्थानीय नीजि वनधनी ज्ञानेन्द्र बस्नेतलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । त्यसैगरी समूहको ३० वटा टोलमध्ये उत्कृष्ट हुने टोल नंं.२५ र २७, उत्कृष्ट कर्मचारी चन्द्र सुब्बा, उत्कृष्ट विद्यार्थीद्धय स्थानीय सिंहदेवी माध्यमिक विद्यालयका निशान्त सुवेदी र गणेश आधारभूत विद्यालयका अनिल भट्टराईलाई जनही नगद पुरस्कार पाँच हजारसहित प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो ।
त्यस्तै वन संरक्षण र अग्नि नियन्त्रणमा सहयोग पु¥याउने नौ जना उपभोक्ता कुलबहादुर घिमिरे, कृष्ण खड्का, तीवेन्द्र काफ्ले, बलविक्रम बोहोरा, भूपिन ओली, राजकुमार राई, शेरबहादुर लिम्बू, सन्तोष कार्की र सुदीप राईलाई नगद पुरस्कारसहित सम्मानित गरिएको थियो ।
सभामा अर्जुनधारा–१का वडाध्यक्ष गजाधर खतिवडा, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, नगर सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष नन्दलाल खनाल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रतिनिधि अम्बरबहादुर बस्नेत, नेपाली काँग्रेसका प्रतिनिधि नेत्र आचार्य, हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र तामाङ, पूर्व अध्यक्षद्धय वीजेन्द्र एक्तेन र विष्णु प्रसाईं, सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समूहकी सचिव प्रभा नेपालले गरेकी थिइन् ।































