‘१२ वर्ष बित्यो, कसैले सहयोग गरेनन्’

0
606

भद्रपुर।

‘१२ वर्ष बित्यो, तर अहिलेसम्म कहिँ कतैबाट उपचारका लागि आर्थिक सहयोग जुटेन, ह्वीलचियरको सहारामा जीवन गुर्जार्दै आएकी बिर्तामोड नगरपालिका– ८ स्थित सखरबाडीकी २१ वर्षीया सावित्री कटवालको पीडा हो यो ।

कटवाल परिवारमा पहिलो सन्तानको रूपमा जन्मिएकी सावित्री कटवालको शरीरको आधा भागले काम गर्न छाडेको एक दशकभन्दा बढी समय बितिसक्यो । ९ वर्षको उमेरमा आफ्नै मूलघरको टाढे घरबाट लडेर टाउकोमा चोट लाग्दा शरीरका विभिन्न अङ्गहरूमा समेत असर पर्दै गएको सावित्रीले बताइन् ।

‘कम्मरभन्दा तल बिस्तारै असर पर्दै गएपछि अस्पताल धाउन थालेँ’ –उनले भनिन्– ‘उपचारका लागि अस्पताल र पढ्नका लागि विद्यालय जानुपर्ने बाध्यता थियो, बिस्तारै बिमारले झन् च्याप्न थालेपछि एकैपटक दुईवटा काम गर्न सकिन र ११ वर्षकै उमेरमा पढाई छाड्नु प¥यो ।’ उनले देउनियास्थित सरस्वती प्राथमिक विद्यालयमा कक्षा ६ सम्म पढेर छाडेकी हुन् । बिमारले च्याप्दै गएकी उनको दुवै गोडा र हात चल्दैन । शुरुमा देब्रे खुटा दुख्न थालेपछि भद्रपुरस्थित मेची अञ्चल अस्पताल हुँदै बिर्तामोडको विर्तासिटी हस्पिटलदेखि काठमाडौँ र विराटनगरसम्मका अस्पताल उपचार गराएको उनकी आमा यमुनाले बताइन् ।

छोरीको उपचारमा करिब तीन लाख रुपैयाँ खर्च भइसकेको बताउँदै उनले भनिन्– ‘रकम अभावमा जेठी छोरीको यस्तो हविगत भएको छ । छोरीको उपचार कै क्रममा श्रीमान् गणेशले पनि मानसिक सन्तुलन गुमाएपछि परिवारमै बज्रपात परेको थियो ।’ तीन वर्षसम्म पतिको मानसिक सन्तुलन गुमाएको बताउँदै उनले भनिन्– ‘अहिले श्रीमान्को मानसिक सन्तुलन ठीक छ, घर नजिकैको पोल्ट्री फर्ममा काम गर्दै परिवार पाल्दै हुनुहुन्छ ।’

उनका अनुसार एक जनाको कमाइले दुई छोराको पठनपाठन र घरमा अपाङ्गता भएकी छोरीलाई उपचार गराउँदा गराउँदै परिवारमा आर्थिक अवस्था संकट परिसकेको छ । १५ धुर जग्गामा बस्दै आएको कटवाल परिवारमा यस्तो बज्रपात पर्दा पनि कुनै नेतासहित स्थानीय सरकारले पनि चासो नदेखाएको यमुनाले बताइन् । उनले छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन सबै पक्षसँग अपिल गरेकी छिन् । ‘सकेसम्म छोरीको उपचार त गरियो । छोरीको उपचारलाई निरन्तरता दिन पाएको भए समयमै निको हुने चिकित्सकले सल्लाह दिएको छन् । छोरीको उपचारका लागि कम्तीमा १५ लाख रुपैयाँ चाहिन्छ ।’ –उनले भनिन् ।

आल्फायू कम्पनी साउदीमा काम गर्ने गरामनीका श्रेष्ठ थरका व्यक्तिले २८ हजार रुपैयाँ सहयोग गरेको उनले बताइन् । सामाजिक सञ्जाल प्रयोग गरेर बिरामी छोरीको बारेमा जानकारी पनि गराइयो । प्रचार–प्रसारको अभावले गर्दा कहीँकतैबाट सहयोग नआएको हुन सक्ने सामाजिक अभियन्ता मनु राजवंशीले बताइन् ।

स्थानीय अनिल गौतम स्वास्थ्य बिमा गराउन उनको घर पुग्दा बिरामी छोरीको सामाजिक सञ्जाल मार्फत पीडा बाहिर ल्याएपछि बिर्तामोड नगरपालिका–८ नम्बर वडा कार्यालयले एकथान ह्वील चियर प्रदान गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here