नमुना सामुदायिक वनद्धारा १० बर्षे कार्ययोजना सार्वजनिक

३० मंसिर २०७६, सोमबार मा प्रकाशित

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ र रोङ गाउँपालिका–४ को ३१८ हेक्टर बन क्षेत्र रेखदेख गर्दै आएको नमुना सामुदायिक बन उपभोक्ता समूहले १० बर्षे कार्ययोजना सार्वजनिक गरेको छ । समूहको २३ औ बार्षिक साधारणसभामा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिकाप्रसाद पौड्यालले उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् ।

उक्त कार्ययोजना अनुसार नै बन समूहले आगामी दिनमा आफ्नो क्रियाकलाप सञ्चालन गर्ने संस्थाले जनाएको छ । विगतका बर्षहरुमा बन क्षेत्रभित्र रहेका ढलापढा रुख काटेर उपभोक्तालाई वितरण गर्दै आएको समूहले चालू आर्थिक यसबर्षबाट बन विकाससंगै माछा पोखरी र बन क्षेत्रमा बाँस रोप्ने अभियान शुरु गर्ने साधारणसभामा समूहका अध्यक्ष धनमान लिम्बूले बताए ।

कार्यक्रममा बोल्दै, वडाध्यक्ष पौड्यालले सामुदायिक बन र वडाले समन्वय गर्दै बन विकासका कार्यक्रमका साथसाथै बन समूहको अर्थोपार्जनका लागि बैकल्पिक सा्रेत अवलम्वन गर्ने बताए । उनले आगामी बर्ष प्रदेश सरकारबाट बजेट विनियोजन गर्न पहल गरी सामुदायिक बन र समूहको उत्तरमा रहेको सीमसार क्षेत्र भित्र रहेको सहस्र देविस्थानलाई पर्यटकीय क्षेत्र रुपमा विकास गरी बुद्धशान्ति गाउँपालिकाको नमुना सामुदायिक बनको रुपमा स्थापित गराउने आश्वासन दिए ।

समूहका अध्यक्ष लिम्बूले बन संरक्षण, रेखदेख र चोरी तस्करी रोक्न समितिलाई सम्पूर्ण उपभोक्ताले पनि सहयोग गर्नु पर्ने बताए । उनले भने,‘जिल्लाका ठूला र आत्मनिर्भर बनेका सामुदायिक बन भ्रमण गरी १० बर्षे कार्ययोजना तयार गरिएको र बन, वातावरणको साथै पर्यटन विकासतर्फ उन्मुख हुनेछौं ।’

सामाजिक र गरिवी न्यूनीकरणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बन समूूहले वडाभित्रका २० जना एसइइ दिएका छात्राहरुलाई नर्सिङ तालिम सञ्चालन गर्ने जनाएको छ । तीन महिने नर्सिङ तालिममा प्रशिक्षार्थीले ५० प्रतिशत बेहोर्ने र ५० प्रतिशत बन समूहले बेहोर्ने अध्यक्ष लिम्बूले जानकारी दिए ।

सो साधारणसभामा विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसस्थाका प्रतिनिधी, संस्थाका पूर्वअध्यक्ष, बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बन समूहका दिंवगत पदाधिकारीको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । बन समुहका उपाध्यक्ष दीपेश थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन मात्रिकाप्रसाद निरौला र नवराज गड्तौलाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here