विमानस्थलको डीपीआरविरुद्ध जनप्रतिनिधि र उद्योगी–व्यवसायी

0
956

भद्रपुर।

स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय नगरी झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि तयार पारिएको प्रस्तावित डीपीआरको विरोधमा जनप्रतिनिधि, उद्योगी, व्यवसायी उत्रिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चन्द्रगढी नागरिक उड्डयन कार्यालयको स्तरोन्नतिका लागि डीपीआर तयार पारी सार्वजनिक गरेसँगै त्यसविरुद्ध स्थानीय जनप्रतिनिधि, उद्योगी तथा व्यवसायीले असन्तुष्टि पोखेका हुन् ।

चन्द्रगढी विमानस्थलको डीपीआरमा अहिले रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तरपट्टि सार्न खोजिएको विरोधमा भद्रपुर–८ नम्बर वडा कार्यालयले अर्थमन्त्री डा. युवराज खतिवडा, जिल्ला प्रशासन कार्यालय झापा र चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरलाई ध्यानाकर्षण गराउँदै लिखित रूपमा ज्ञापनपत्र बुझाएको छ ।

वडाध्यक्ष गौरव सुब्बा (मनोज)को नेतृत्वमा गएको टोलीले अर्थमन्त्री खतिवडालाई मेची बहुमुखी क्याम्पसमा, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर र चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पुण्य चुडाललाई ज्ञापनपत्र बुझाएका थिए ।

यता झापा उद्योग संघ र झापा उद्योग वाणिज्य संघ भद्रपुरले पनि सोमबार बिहान विमानस्थलको प्रस्तावित डीपीआरप्रति असन्तुष्टि जनाउँदै पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र पठाएको छ । विमानस्थलको टर्मिनल भवन र मुख्य प्रवेशद्वारको विषयमा ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय झापामार्फत मन्त्री भट्टराईलाई ज्ञापनपत्र पठाइएको हो ।

झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल र झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु (राजु)को संयुक्त हस्ताक्षर रहेको सो ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई बुझाइएको हो । सो ज्ञापनपत्र झापा उद्योग वाणिज्य संघका महासचिव पंकजकुमार शर्माले वाचन गरेका थिए ।

विमानस्थलको डीपीआरले नगरको विकासमा हलचल

भद्रपुर–८स्थित चन्द्रगढी विमानस्थल विस्तारका लागि नागरिक उड्डयन कार्यालयले थालेको अभियानले झापाली उद्योगी व्यवसायी अत्यन्तै हर्षित भएको ज्ञापनमा उल्लेख छ ।

चन्द्रगढी विमानस्थल विस्तार र विकास गरी भारतका विभिन्न राज्य पश्चिम बङ्गाल, विहार, आसाम, मणिपुर, नागाल्याण्ड, मेघालय बाहेक भुटान, बर्मा र बंगलादेश सम्मका मानिसहरूको आवतजावतको हब बन्ने विमानस्थललाई विस्तार गरी स्तरोन्नतिका लागि विस्तृत सर्वेक्षण परियोजना डीपीआर तयार पार्दा साबिक कायम रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार विमानस्थलको उत्तरतर्फ स्थानान्तरण गर्ने गरी बनाइएकोले यसप्रति हामी दुःखी भएका छौं ज्ञापनपत्रमा भनिएको छ ।

२०२२ सालदेखि सञ्चालनमा रहेको विमानस्थलमा साबिकदेखि चलिआएको सडक, गेट लगायतका संरचना विस्थापित गर्ने कुराले भद्रपुर र दक्षिणी झापावासीको वर्तमानको विकास अवधारणामा मै हलचल पैदा गर्ने भन्दै जिम्मेवार निकायलाई ज्ञापन पत्रमार्फत सचेत गराइएको झापा उद्योग संघका अध्यक्ष ढकालले बताए ।

‘५४ वर्ष लामो इतिहासलाई निर्मुल पार्ने गरी बनाइएको डीपीआरप्रति हामी सकारात्मक हुन सक्दैनौं भने दाताको निःस्वार्थ सहयोगलाई अवहेलना गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ’– उनले भने । ‘अहिलेको मुख्य प्रवेशद्वारका कारण त्यहाँ व्यापार व्यवसाय फस्टाउँदै गएको छ’– उनले भने– ‘त्यससँग जोडिएर नगरमा थुप्रै औद्योगिक र व्यावसायिक प्रतिष्ठान, होटेल तथा लज चलेका छन् ।’

प्रहरी कार्यालय झापाको गेट हाल भएको गेट नजिकै रहेकोले सुरक्षाको दृष्टिले पनि उपयोगी र सहज हुने भएकाले कुनै पनि हालमा मुख्य प्रवेशद्वार सारिनु हुँदैन– ढकालले भने । ‘भद्रपुरको विकासका लागि निर्माण भएको मेची पुल र सो पुल भएर आउने भारतका विहार तथा बङ्गाल र बङ्गलादेशका यात्रुलाई पनि साबिकै मुख्य प्रवेशद्वार सहज हुन्छ’– झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले भने– ‘मेची पुलसँगै हुलाकी राजमार्ग (भद्रपुर–विराटनगर) लाई पनि अहिलेकै मुख्य गेट हुँदा आवतजावतमा गर्न सहज हुन्छ’– उनले भने– ‘प्रस्तावित विमानस्थलको डीपीआरलाई परिमार्जन र संशोधन गरी टर्मिनल भवन र मुख्य प्रवेशद्वार यथास्थानमा राख्न सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’

भूमाफियाहरुको चलखेल शुरु

८ नम्बर वडाध्यक्ष सुब्बाले विमानस्थलको मुख्य प्रवेशद्वार सार्न भूमाफियाहरु लागीपरेको आरोप लगाएका छन् । ‘अहिले रहेको मुख्य प्रवेशद्वारलाई सार्न ठूलै चलखेल शुरु भइसकेको बताउँदै उनले भने– ‘उत्तरपट्टिको घनाबस्तीमा अहिले जग्गाको कारोबार बढेको छ, विमानस्थलको मुख्य प्रवेशद्वार बन्ने गरी डीपीआर बाहिरिएपछि भूमाफियाहरु यस्तो चलखेलमा लागेका हुन् ।’

डीपीआर बनाउँदा पनि सम्बन्धित वडामै रहेको विमानस्थलको बारे वडा कार्यालयसँग विमानस्थलका कर्मचारीले कुनै समन्वय र सहकार्य गरेको छैन । अध्यक्ष पनेरुले विमानस्थलको मुख्य प्रवेशद्वार सार्न खोजिए वडावासी त्यसको विरोधमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here