सुपारी खेती संरक्षणका सात सूत्र !

1
1725

सुरेश खतिवडा,

कृषक र कृषिका मुख्य मुद्दाहरु बिभिन्न समाचार र लेखहरु मार्फत उठान गरिरहेको देख्छु । यसका धेरै पाटाहरु मध्ये पछिल्लो समय कृषिमा समृद्धीलाई मात्र हेर्ने हो भने पूर्वको कृषिमा समृद्धीको मात्र होइन ‘कृषि पर्यटन’ कै खम्बा मानिने ‘सुपारी खेती’ले यो वर्ष सुपारी खेती गर्नेको परिवारमा आम्दानी दियो कि दिएन ? भनी गहिरिएर अध्ययन गर्नुपर्छ भन्ने मैले बुझेको छु । वास्तविक सुपारी खेती गर्ने किसानको समस्या के छ ? कृषि उपज निर्यातका जटिलताको कारण के हो ? ढिला नगरी खोजी गर्नुपर्दछ भने किसान हितका लागि सबैले सरकारलाई घचघच्याई दिन जरुरी देख्दछु ।

म एक ग्रामीण सुपारी किसान ! सुपारीले नै मलाई पढायो, लेखायो, शहर भित्र्यायो । सुपारी खेती सन्दर्भमा पहुँच भएका, बोल्नेले यसको इतिहास जता मोडेर रचिए पनि मलाई गर्व छ आफ्नै सुपारी किसान बुबामा । दुबै कान नसुन्ने र नबोल्ने मेरा बुवाको सुपारीसँग जोडिएको इतिहास अहिले मेरा काका बुवाले पोहोर सालको जस्तो ऊर्जाले ब्याख्या नगरे पनि र घरमा जोसुकै पाहुना आउँदा आफ्नो बगान, आफ्नो सृजना र आफ्नो तीनतले बाली बगानले ‘कृषिमा समृद्धि’ भन्ने सरकारी नारालाई सगाएको भन्दै हातको इसाराले नै बुझाउने, मेरा बुवा अहिले नभए पनि साविक शान्तिनगरमा रहेको संरचनाहरुले होइन भन्दैनन् ।

‘नबोल्ने बा’ भनेर परिचित हाम्रा बुवाको पहिचान सुपारी र सेतो घोडा रहेको जो कोहीले ब्याख्या गर्दछ । साहित्यकार तेराखको ‘मेरो प्यारो माल्दाई’ नामक उपन्यासले पनि यी ऊर्जाशील सुपारी किसानको बखान गरेको छ । मरेर जाँदै गर्दा आफूले संसार हेरेको आँखाको शक्ति अन्य कुनै दुई दृष्टिविहीनलाई काम लागोस् भनेर नेत्रदान गर्ने पहिलो अपाङ्ग नेत्रदाता बन्नुभएका मेरा पुजनीय पिता वा नबोल्ने बाका आँखाले अहिले पनि कहिँकतैबाट यही संसार नियालिरहेको भान भइरहेछ । सायद यहि कारण होला सुपारी खेतीका अभियन्ता भनेर चिनिनेहरुले समेत यी हाम्रा नबोल्ने बालाई कार्यक्रममा सम्मान नगरिँदा कार्यक्रम अपुरो र उनै बालाई अन्याय हुन्छ भनेरै होला ‘सुपारी कृषकका लागि प्रेरणाका श्रोत’ भन्दैै सम्मान समेत गरेका थिए एकताका ।

हाम्रा नबोल्ने बा जस्तै तल्ला घरकी नर्बदा माइजु, माथिल्लो टोलका राधाकृष्ण भेना, दहाल बा, पारीगाउँका न्यौपाने परिवार, गैरीगाउँका कुमाल र ऐयाबारीका धिमाल परिवार समेत उस्तै ऊर्जाशील छन् सुपारी खेती गर्नमा । यो खेती हेर्दा सुन्दर देखिन्छ । अरुको बगैंचा सुन्दर देखेर पनि सुन्दरताका लागि यो लगाइन्छ भने लगाई सकेपछि कम मेहनतमा चाडै राम्रो आम्दानी हुने खेतीमा समेत यो पर्दछ र छ पनि । सुपारीका पात, रुख, जरा, बोक्रा र खबटा समेत खेर नजाने र केही न केही रुपमा प्रयोगमा आउने सुपारीको बिरुवा वा खेतीले धेरै औषधीय गुणहरु बोकेको पाइन्छ । यसको त बाहिर कतैबाट झापा घुम्न आउनेले ब्याख्या आफै गर्नेछन् पनि ।

तर, गत दशैं–तिहार अगाडि फूलमा नै आफ्नो परिश्रमको फल प्राप्त गर्ने किसानको हात यो बर्ष खाली छ । तल्ला घरकी ती नर्बदा माइजुको दशैंअघि नै घरमै सुपारी ब्यापारीले ल्याइदिने पैसाको मुठो पोल्टामा राखी गजक्क पर्ने अनुहार खिस्रिक्क छ । यसपाली अनुहार कान्छो छोरातिर फर्किएको छ, केही दिन्छ कि भन्ने आशले । हुन त मेरी आमाको सुपारी सम्बन्धी गफ पनि केही कम भएको छ यो पटक मारवाडि र सिक्री लगाउने धोको पूरा नहुने भएको छ । बिमाको किस्ता रकम बुझाउन असहज भएको छ कतिलाई भने दोकानामा सामान हाल्ने योजना कतिको तुहिएको छ । सुपारी कै लागि प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत धेरै जोनहरुमध्ये सुपारी जोन पनि शुरु भएको छ झापा बुद्धशान्तिमा ।

ब्यापक प्रचार–प्रसारसहित स्थापना भएको जोनमा ठाउँ पाउन सक्नेले ठाउँ पाए । निजी उद्योग, सहकारी, कम्पनि भन्दै पदभार पनि सन्तुलित अनि सुन्दर छ भनिन्छ– होला पनि । जे होस् किसान सुपारी खेतीप्रति आकर्षित हुँदैछन् र आशाबादी पनि छन् भन्ने पुष्टि गएको झरीमा झापाको दक्षिण भेक र पश्चिम लैजाने भन्दै बिरुवा किन्न आएका एक ब्यापारीलाई मैेले नै बेचेको नौ सय थान र डाँडा गाउँबाट पनि त्यति नै मात्रामा बिक्री भएको बिरुवाबाट हुन्छ ।

पूर्वमा झापाको शान्तिनगर, पानीघट्टा, गडीगाउँ, खारखोला, बुधबारे, बाहुनडाँगी, शनिश्चरे लगायतका ठाउँमा धेरै र मोरङ, सुनसरी, उदयपुर, सर्लाही हँुदै नेपालको पश्चिमतिर यो खेती गर्न शुरु गरिएको छ । हामी किसानको बुझाईमा नेपाल सरकारले सुपारीलाई चिन्न नसकेको, विश्व ब्यापार संगठनका सदस्यका हैसियतमा निर्यातजन्य कृषि उपजका रुपमा सूचीकृत गराउन नसकेको, मेरो देशमा सुपारी छ भन्न नसकेको, उचित प्रबिधि भित्र्याउन नसकेको, एक गाउँ एक उत्पादनलाई बिस्तार गर्न नसकेको, किसानलाई खोजेर सूचीकृत गर्न स्थानीय तहदेखि पहल नगरिएको भन्ने आरोप भने सम्बन्धित क्षेत्रमा नै काम गर्नेलाई लाग्ने गरेको छ ।

हाल आकर्षण बढे पनि यो बर्ष भाउ नहुँदा किसान चिन्तित छन् । कुरा पक्कैै प्रतिनिधिमूलक हुनुपर्दछ । सुपारीका बिषयमा विज्ञता हासिल गर्नेहरु प्रसोधित सुपारीको बजार भाउ हुने, तर त्यो उच्च गुणस्तरको हुनु पर्ने बताउँछन् भने किसानका आगनमा पुग्ने ब्यापारीहरु कसैले रोकेको र निर्यात गर्न कठिन भएको, २०७० सालदेखि नै सुपारीका बोराहरु भन्सार छेउछाउ ब्यापारीका गोदाममा स्टक रहेको बताउँछन् । जसलाई व्यापारीले हतियारको रुपमा प्रयोग गर्दै दररेटमा किसानलाई बार्गेनिङ गर्ने गरेका छन् । जुन कुरा खोज्नु र बुझ्नु हाम्री आमा, माइजुहरु जस्ता किसानको पहँुच बाहिर छ । त्यसकारण सुपारीका बिषयमा निम्न सात कुरामा सरकारको ध्यान जान जरुरी छ ।

१) सुपारीलाई निर्यातजन्य कृषि उपजका रुपमा सूचीकृत गराउन पहल गरिनु पर्दछ :

नेपाल सरकार किसानलाई कुनै समूहको जोडबलमा चिनारी सहितको जोन, संरक्षण क्षेत्र, सुपर जोन, कुनै विशेष खेति क्षेत्र भन्दै छुट्याउने, तर त्यसपछि तयार भएको उत्पादनहरुलाई निर्यातका लागि विशेष लगानीसहितको दिर्घकालीन बजार स्थापनामा चासो नदिने, किसान स्वयम्को सुझावसहितको आग्रहलाई बेवास्ता गर्ने सरकारको दोहोरो चरित्रको अन्त्य हुनुपर्दछ ।

सुपारीलाई नगदेबाली भन्दै किसानलाई हौस्याउने मात्र होइन यसको मूल्यलाई बिचार गर्दै निर्यातजन्य कृषि उपजका रुपमा सूचीकृत गराउन पहल गर्नुपर्दछ । सुपारीको ब्यापारलाई भारतको पानीटंकी, नक्सलबारी, जोगमनि र गुट्का फ्याक्ट्रीलाई मात्र नहेरी अन्तर्राष्ट्रियकरण गरिनु जरुरी छ ।

२) किसान संलग्न प्रशोधन केन्द्रमा चालू प“ुजीको व्यवस्था :

सुपारी प्रसोधनमा लगातार लाग्ने लागत र पुँजी धेरै हुनाले साना सुपारी किसानहरु प्रशोधित सुपारी ब्यापारीलाई दिन सक्दैनन् भने किसानलाई गोलबद्ध गर्ने जोनको पुँजी अपर्याप्त छ । सहकारी स्थापना गरेर प्रशोधन गर्नुपर्ने सुझाव लगानी गर्न सक्ने किसानलाई र पर्खेर बस्न सक्ने किसानलाई मान्य होला ।

तर, खेतीका लागि खेतीबाटै आम्दानी गर्नैपर्नेलाई यो ग्राह्य हुँदैन । त्यसकारण सरकारले पूर्वाधारमा मात्र लगानी होइन प्रशोधन प्रकियामा लगानी गर्नुपर्दछ । व्यापारीहरु संलग्न होइन किसानहरु संलग्न रहेका प्रशोधन केन्द्रमा लगानी बढाउँदै गुणस्तरीय उत्पानमा जोड गर्नुपर्दछ । भण्डारण र प्रशोधन क्षमता बृहत् र बिस्तारित आधुनिक हुन जरुरी छ ।

३) कम्पनी, सहकारी र उद्योग मार्फत मात्र प्रशोधन गर्नेे र गुणस्तरिय उत्पादनमा जोड दिनुपर्दछ :

विश्वमा नमूना बनेको कृषिमा सहकारी र सहकारी मार्फत कृषिको बजारीकरण भन्ने कुरालाई सरकारले प्राथमिकता दिँदै सुपारी खेतीलाई प्राथमिकतामा राखेमा व्यापारीले मनोमानी ढंगबाट स्थापना गरेका परम्परागत प्रशोधन केन्द्रहरु र यसको मूल्यको अवमूल्यनलाई नियन्त्रण गर्न सकिने छ ।

यस्ताले तयार पारेका प्रशोधित सुपारी सफा नभएको, कालो दाग भएको, एकै साइजका नभएको र समग्रमा भन्नुुपर्दा सिंगापुरे सुपारी जस्तो चमकदार नभएकोले ठूला व्यापारीहरुले नरुचाएका र ती नआएका भन्ने हल्ला पनि सुनिने गरेको छ ।

४) पहिचानको अधिकार सम्बन्धित किसान र किसानकै संस्थालाई दिनुपर्दछ :

आधिकारिक तथ्यांकमा हालसम्म प्रशोधित बिभिन्न प्रकारका सुख्खा सुपारी बार्षिक ९८७६ मेट्रिक टनभन्दा बढी उत्पादन र निर्यात भई राखेको छ । हामी झापाली मात्र करिब २६७३ हेक्टरमा सुपारी खेती गर्दछौं भने इलाम, मोरङ, सुनसरी, उदयपुरमा क्रमसः १८१ हेक्टर, ५०४ हेक्टर, १३० हे, २२ हे. उत्पादन हुँदैछ र यो उत्पादन बढ्दै गइरहेको पनि छ ।

विगतको आम्दानीले हौसिएर यो बर्ष सरकारको कृषिमा समृद्धीको नारालाई साथ दिन अझ खेती बिस्तार भई रहेको प्रमाणित स्थलगत अध्ययनबाट थाहा हुन्छ जसको फिल्ड भिजिट र किसानसँग घरदैलो गर्दै सुपारीको रुख गनेर ‘सुपारी खेती बिकास संस्था’ले तथ्यांक संकलन गर्नेे गरेको छ र सरकारका विभिन्न निकायलाई डाटा उपलब्ध गराएको छ ।

त्यसकारण नेपाली किसानका सुपारी पहिचान गर्न सक्ने क्षमता र आधिकारिकता उसैमा रहने हुँदा कृषि मन्त्रालय, वाणिज्य महासंघ र अन्य सम्बन्धित निकायले व्यापारीका संस्थालाई होइन किसानका संस्थालाई सिइयो जारी गर्ने अधिकार दिइनु पर्दछ । केन्द्रीय संस्थाले सुपारी पहिचान अधिकार लिनु मुनासिव छ न कि जिल्ला जिल्लामा ब्यापारीले सिफारिस गरेका संस्थाहरुलाई ।

५) प्राविधिक र प्रबिधि र प्रशिक्षणको व्यवस्था :

हाल केही भारतीय प्रावधिक कारणले रोकिएको र नेपाल सरकारको उदासिनता त्यसमा कारक रहेको बताइए पनि काँचो सुपारी र किसान आफैले घरेलु रुपमा उत्पादन र प्रशोधन गरी उत्पादन गरेको सुपारीको गुणस्तर उच्च नहुनुमा प्राविधिक ज्ञानको कमी, सुपारीको महत्व किसानले नै नबुझ्नुु, यसको अन्तर्राष्ट्रिय बजारमा प्रयोग, औषधिय गुणहरु, सौन्दर्य गुणहरुबारे जानकारी अभावमा यसको चरित्र बुझन सकेको छैन ।

त्यसका लागि आसाम, मलेसिया, सिंगापुर, वर्मामा जस्तो आधुनिक प्रविधिहरु नेपाली सुपारी किसानको आगनमा भित्र्याइनु नितान्त आवश्यक छ । किसानका निमित्त एउटा तालिम दिन भारत र मलेसियाबाट प्राबिधिक झिकाइनु सरकारको उदासिनता हो । त्यसकारण केही पढेको किसानको छोराछोरीलाई बिदेश पठाएर सुपारी कृषि प्राविधिक बनाउन सरकारले कञ्जुस्याई गरिनु हुन्न ।

६) किसानलाई सूचीकृत गरी एक गाउ एक बालीको नीति ल्याउन जरुरी :

प्रत्येक किसान सरकारका हरेक कार्यक्रमसँग जोडिएको हुनु आवश्यक छ । सरकारबाट सेवा–सुबिधा र सहुलियत लिन चोक–चोकमा सरकार बिरोधी गतिबिधि होइन सहकार्यमा जानु पर्दछ । स्थानीय सरकारका प्रतिनिधिहरुले किसानलाई आफू हरेक गतिविधि गर्दा सूचीकृत हुनु महत्व बुझाउन जरुरी छ ।

सुपारी खेतीको उत्पादनको निर्यातमा सरकारी बेवास्ताले किसानलाई वैकल्पिक खेतीका लागि बाध्य बनाउँदैछ । टमाटर, काउली, कोपी, कुखुरा, अण्डा उत्पादनमा श्रम र अर्थ लगानी हुन्छ । तर, जब उत्पादनले चरम रुप लिन्छ कि त कतैबाट सस्तोमा आयात हुन्छ कि त बिभिन्न बहानामा मूल्य नपाएर किसान हतोत्साहित बने जसरी नै सुपारीमा त्यस्तो नहोस् ।

नयाँले पेसा छाड्दै जाने, पुराना किसान फेरि लरबराउँदै जाग्ने प्रयास गर्नेे हुनुभन्दा बेलैमा सरकार चनाखो बन्न जरुरी छ । सबै किसान आफ्नो सुपारी बोटको संख्यासहित सूचीकृत हुन जरुरी छ । जसले ती नर्वदा माइजुहरुको अनि ती बुवाहरुको योगदान खेर जान नपाओस् ।

७) चुहावट, बिचौलिया, दलाली र माफिया नियन्त्रण :

सुपारी मात्र होइन सबै किसानका उत्पादनमा बिचौलियाको चलखेल अप्रत्यक्ष–प्रत्यक्ष छ । व्यापारीले गर्ने सानातिना चलखेलले सिंगो किसानको बर्षौदेखिको लगानीबारे अनर्गल प्रचार गरिएको छ । सुपारी खेतीका किसानलाई आधार बनाउँदै पैसावालाहरु दर्जनांै संस्थाहरु खडा गर्दै राजनीति गरिरहेका छन् ।

यहाँ सरकार र खेती प्रबद्र्धन गर्ने बाहेक कसैले कहीँ संस्था दर्ता गर्न जरुरी देखिँदैन । यहाँ शंका छ, कहीँकतैबाट व्यापारीकै पहलमा कागजी संंस्थाहरु जिल्लैपिछे खुलेर वास्तविक किसानका उत्पपादनहरुको मूल्य, मूल्यविहीन त बन्ने होइन ! यस्तो चुहावट र बिचौलियाको चलखेलमा निगरानी र नियन्त्रण गरिनु पर्दछ ।

(खतिवडा झापा बुद्धशान्तिका सुपारी खेती कृषक हुन् ।)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here