काठ लिलाम बिक्रीबाट रु ७४ लाख राजश्व

0
766

भद्रपुर,

एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ ।

वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार साल जातको काठ दुई हजार ८९० घनफिट र अन्यजातको ६१६ घनफिट गरी तीन हजार ५०६ घनफिट काठ लिलाम बिक्री भएको थियो । उहाँले सरकारले तीन ग्रेडमा राजश्व मूल्य तोकेको बताउँदै सोहीअनुरुप नै लिलाम बिक्री गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सुखवा ए, बी र सी ग्रेडको प्रतिघनफिट रु एक हजार, रु ७०० र रु ५०० मूल्य निर्धारण गरिएको थियो । गत कात्तिकमा पत्रपत्रिकामा बोलपत्र आह्वानको सूचना निकाली कार्यालयमा परेको निवेदनका आधारमा सबैभन्दा बढी डाक बढाबढ गर्नेलाई काठ लिलाम बिक्री गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।

काठसँगै बरामद गरिएका सवारी साधन पनि कार्यालयमा वर्षौँदेखि थुप्रिएका र काम नलाग्ने अवस्थामा पुगेकाले चाँडै प्रक्रिया पूरा गरेर लिलामी गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here