पार्थ मण्डल/ भद्रपुर।
प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने योजनामा रहेको झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा नियमित सरसफाई नहुँदा बिरामी दुर्गन्धित वातावरणमा रहेर सेवा लिन बाध्य भएका छन् ।
अस्पताल प्रशासनले वार्षिक रूपमा टेन्डर आव्हान गर्दै सरसफाईको ठेक्का लगाउँदै आए पनि ठेकेदारसहित तलबमा राखेका स्थायी कर्मचारीले नियमित सरसफाईमा चासो नदिँदा फोहोरमैला थुप्रिन थालेको पाइएको छ । दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका बिरामीको स्वास्थ्यमाथि अस्पताल सञ्चालक समिति र प्रशासनले खेलबाड गर्दै आएको बिरामी र तिनका परिवारहरू बताउँछन् ।
अस्पताल परिसरभित्र जथाभाबी पानीका बोतल फ्याँक्नु, गुट्खा खाएर थुक्नु, झारजंगल सफा नगर्नु, बगंैचाका बोटबिरुवा नकाट्नु, शौचालय सफाई नगर्नु, बिरामी बस्ने कक्षमा सरसफाई नहुनु, धाराको पानी कोठामै चुहिनु, कोठाभित्रै भुस्याहा कुकुर पस्नु जस्ता समस्याहरू रहेको पाइएको छ । अस्पतालले नियमित सरसफाईका लागि ७ जना स्थानीय कर्मचारी राख्नुका साथै ठेकेदारले समेत १६ जना कर्मचारी सरसफाईका लागि खटाएको छ । तर, ती कर्मचारीले अस्पतालको सरसफाईमा खासै चासो नदेखाइ मासिक तलब मात्र बुझ्ने गरेकोले अस्पताल परिसर दुर्गन्धित र कुरूप बन्दै गइरहेको छ ।
बिरामी भन्छन्– नियमित सरसफाई हुदैन
‘बिरामी बस्ने कोठामा नियमित सरसफाई नै हुँदैन । भए पनि बाहिर–बाहिर मात्र सरसफाई गरेर कर्मचारी जान्छन्’– बिरामीका आफन्त शोभा भण्डारीले भनिन् । ‘बच्चा राख्ने कोठा त सफा हुनु प¥यो नि’– उनले भनिन्– ‘कर्मचारीले राम्ररी कोठा पनि पुछ्दैनन्, बेडमुनिको फोहोर जस्ताको तस्तै हुन्छ ।’
‘अस्पतालको शौचालयमा दुर्गन्धले बस्नै सकिँदैन, कोही सफा गर्न आउँदैन’– भद्रपुरकी लिजा पोखरेलले गुनासो गरिन् । ‘शौचालय मात्र नभई बेडमा रहेको बिजुलीको स्वीच र प्लग पनि बिग्रिएको छ’– उनले भनिन्– ‘नानीलाई खुवाउने पानी तताउनु प¥यो भने बाहिर जानुपर्छ ।’
बेडसम्म कुकुर
मान्छेको उपचार हुने अस्पताल नै पशु अस्पताल सरह बन्न थालेको बिरामीहरू बताउँछन् । आकस्मिक कक्षदेखि बिरामी बस्ने वार्डसम्म भुस्याहा कुकुर पस्दा पनि अस्पतालमा खटिएका सुरक्षा गार्ड र प्रशासन बेखबर छन् । अस्पतालको वार्डभित्रै कुकुर आउने सुनेको थियो– बिरामी इन्द्रबहादुर विश्वकर्माले भने– ‘राति १२ बजे बिरामी सुतेकै वार्डमा दुई वटा भुस्याहा कुकुर आएको थियो, कुकुर छिरेको थाह पाएपछि बिरामीका कुरुवाले खेदाए ।’
शौचालयको दुर्गन्ध वार्डसम्म आउँदा बस्नै समस्या भएको उनको भनाइ छ । यसअघि अस्पतालको आकस्मिक कक्षमा भुस्याहा कुकुर छिरेको फोटो सामाजिक सञ्जालमा भाइरल हुँदा समेत अस्पताल प्रशासनले त्यसलाई नियन्त्रण गर्न अहिलेसम्म चासो देखाएको छैन ।
नेकपाद्वारा सरसफाई
अस्पतालमा थुप्रिएको फोहोर मैलाको उचित व्यवस्थापन र सरसफाई नहुँदा बिरामीको स्वास्थ्यमाथि खेलबाड भइरहेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समन्वय कमिटीले गत बिहीबार बिहान अस्पताल परिसरभित्र सरसफाई गरेको थियो ।
मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल र अस्पतालका मेसु पिताम्बर ठाकुरकै सहभागितामा भएको सरसफाई कार्यक्रममा पार्टीका स्थानीय, क्षेत्रीय तथा जिल्ला नेताहरू आफूले संकलन गरेको फोहोरमैला देखेर आफैं छक्क परेका थिए ।
बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अस्पतालमा थुप्रिएको फोहोरमैला व्यवस्थापन नहुँदा जनप्रतिनिधिसहित नेकपाका नेता तथा कार्यकर्ताहरूले यस बारेमा सञ्चालक समितिसहित प्रशासनको ध्यानाकर्षण समेत गराए । नेकपाका झापा ३ नम्बर क्षेत्रीय अध्यक्ष पूजा खनालको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रामाया श्रेष्ठ, नेकपा जिल्ला सह–इञ्चार्ज हरि राजवंशी, सचिव बिजय साम्पाङ्ग, जिल्ला, क्षेत्रीय र नगर कमिटीका सदस्यहरूको सहभागिता रहेको थियो ।
ठेकेदार पक्षलाई चेतावनी
अस्पतालमा सरसफाई नभएको व्यापक गुनासो आएपछि सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पोर्तेल र प्रदेश सांसद बानियाँले सरसफाईको रेखदेख गर्ने ठेकेदारका सुपरभाइजरलाई चेतावनी दिएका छन् । सरसफाईकै क्रममा अध्यक्ष पोर्तेल दुई वटा वार्डमा सरसफाई यस्तै हो भन्दै सुपरभाइजरमाथि खनिएका थिए ।
सुपरभाइजरलाई सांसद बानियाँले भने– ‘हामीले अस्पतालको सबैतिर घुमेर हेर्दा सरसफाई कहीँ भएको देखिएन, तपाईँहरू यहाँ के गर्दै हुनुहुन्छ ?’
सरकारी बजेट नहुदा समस्या
यता अस्पतालका मेसु डा. पिताम्बर ठाकुरले अस्पतालको सरसफाईप्रति आफूलाई पनि चित्त नबुझेको प्रतिक्रिया दिएका छन् । अस्पतालमा सँधै सरसफाई हुनुपर्छ भन्दै उनले भने– ‘सरसफाईको विषयमा आफू पनि सफल भइँन ।’
सरकारले अस्पतालको सरसफाईमा बजेट नछुट्याएको जानकारी दिँदै उनले भने– ‘रकम नहुँदा समितिको निर्णय बमोजिम सरसफाईको ठेक्का लगाएर काम गराउँदै आएका छौं, ठेक्का लगाउने बेलामा एउटा मात्र टेन्डर फारम पर्छ, सबै चलखेल बाहिर हुँदा सरसफाईको रेट घटेर आउँछ, त्यसैले गर्दा राम्रो सरसफाई हुँदैन ।’






























