भद्रपुर,
पूर्व राजा–रानीप्रति झापाली जनताको मोह अझै घटेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक स्थित मिनी दरबार आएका पूर्व राज दम्पतीलाई भद्रपुर स्थित चन्द्रगढी विमानस्थलमा उनका समर्थकले भव्य स्वागत तथा सम्मान गरेका छन् ।
श्री एयरलाइन्सको जहाजबाट बुधवार दिउँसो १ बजेर २८ मिनेटमा झापा उत्रिएका पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमललाई विमानस्थल परिसरभित्रै स्वागत तथा सम्मान गरेका थिए ।
राजालाई स्वागतका लागि बिहानै देखि सयौँको सङ्ख्यामा आएका समर्थकले पूवराजा ज्ञानेन्द्र र रानी कोमललाई फुल माल लगाएर भव्य स्वागत तथा सम्मान गरेका थिए ।
समर्थकहरूले राजा आऊ देश बचाउ, नेपाल आमा के भन्छिन्, राजतन्त्रले भन्छिन्, गणतन्त्र मुर्दावाद लगायतका नारा लगाएका थिए । विमानस्थलमा समर्थकको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाइ हम्मे हम्मे परेको थियो । साथै राज दम्पतीसँग फोटो खिचाउन समर्थकहरू हात हातमा मोबाइल फोन बोकेका थिए ।
राज दम्पतीले सिधै उनका समर्थकहरूको सम्मान लिँदै करिब आधा घण्टाको विमानस्थलमा बिताएका थिए । पूर्व राज दम्पतीको सुरक्षाका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी, साधा पोसाकका प्रहरी, शिव सेना र हिन्दु सेनाले स्कटिङ गरेका थिए ।
राज दम्पती दमक नगरपालिका १५ स्थित हिमालय महालक्ष्मी गुडरिक प्रा।लिको चिया बगानमा रहेको मिनी दरबारमा एक महिना बस्ने कार्यक्रम रहेको जनाइएको छ । पूर्व राज दम्पती झापा भ्रमणलाई विशेष रूपमा हेरिएको भए पनि उनी आउने उद्देश्यको बारेमा अहिलेसम्म केही खुलेको छैन ।





























