बिर्तामोड।

सहारा नेपाल सहकारी संस्था लिमिटेड चारपानेले झापाका तीन वटा नगरपालिकासँग सहकार्य गर्दै नशा (न्यूरो) रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
संस्थाले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकासँग सहकार्य गर्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा आफ्ना सदस्य तथा गैरसदस्यको समेत निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधि समेत वितरण गरिँदै आएको सहकारीका जीवन बरदान कार्यक्रम संयोजक भक्तबहादुर खड्काले जानकारी दिए ।
लक्षितवर्गलाई मध्यनजर गर्दै आयोजित शिविरमा वरिष्ठ डा. बसन्त पन्तसहितको टिमले विरामीको स्वास्थ्य जाँच गर्नेछन् । बिर्तामोडस्थित वीएण्डसी अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र फेमिली हेल्थसँग सहकार्य गर्दै शिविरको आयोजना गरिएको हो ।
गत मंसीर २५ गते बिर्तामोडस्थित वेलडाँगी स्वास्थ्य केन्द्रमा नशा रोग सम्वन्धी शिविरको उद्घाटन गरिएको थियो । त्यस्तै मंसीर २८ गते कनकाई नगरपालिकाको सहकार्यमा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।
पुस ८ गतेसम्म सञ्चालन हुने शिविरमा बुधवार बिर्तामोड नगरपालिकाको अनारमनी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको निःशुल्क स्वास्थ्य जाँच गर्दै उद्घाटन भएको स्वास्थ्य शिविरमा वीएण्डसी अस्पतालका न्यूरो रोग विशेषज्ञ डा. दिनेशकुमार थापाले स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगरप्रमुख शिवाकोटीले नगरका नागरिकलाई स्वस्थ राख्न सहारा नेपाल सहकारी संस्थाले गरेको कार्य प्रशंसनीय भएको भन्दै खुशी व्यक्त गरे । उनले विपन्न आवास कार्यक्रमका लागि समेत सहयोग गर्दै नगरका नागरिकलाई घर निर्माण गरिदिएर नगरले गर्नुपर्ने काम गरेको भन्दै सहाराको प्रशंसा गरेका थिए ।
बिर्तामोड सेवा केन्द्र संयोजन समितिका प्रमुख टंकप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा सहारा नेपाल साकोसका स्वास्थ्य उपसमिति संयोजक नरेन्द्र बराल, सहयोग समिति सदस्य यादव ओली, अनारमनी स्वास्थ्य केन्द्रका इञ्चार्ज लीलाप्रसाद पोखरेल, लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड सेवा केन्द्र प्रमुख घनश्याम रायले गरेका थिए ।
यसैबीच सहकारीले पुस ५ गते प्राथमिक स्वास्थ्य केन्द्र अर्जुनधारा र पुस ८ गते गरामनी स्वास्थ्य चौकीमा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहकारीकी कर्मचारी सुशीला वोहोराले जानकारी दिइन् ।






























