कैदीबन्दीलाई स्वास्थ्य परीक्षणमा समस्या

0
429

दमौली, 

तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा सरुवा भएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।

कारागारमा स्वास्थ्य सहायकको दरबन्दी रहेको छ । “ यहाँ कार्यरत स्वास्थ्यकर्मी गत असोजमहिनादेखि समायोजन पछि अन्यत्र जानुभएको र यसपछि अर्का स्वास्थ्यकर्मी नआएका कारण कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवा पाउनबाट बञ्चित भएका छन् । ”

कारागारका सूचना अधिकारी नारायण अधिकारीले भन्नुभयो । उहाँका अनुसार अहिले कैदीबन्दीलाई दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लैजानुपर्ने बाध्यता परेको छ । चिसो बढेपछि कैदीबन्दीमा पनि विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेको छ ।

पैतीस जनाको क्षमता रहेको कारागारमा हाल कैद तोकिएका ६९ र कैद नतोकिएका ७८ गरी १४७ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नु पर्दा कैदीबन्दीमा बढी मात्रामा छालासम्बन्धी रोगहरु देखिने गरेको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीका नाइके विष्णुहरि घिमिरेले स्वास्थ्यकर्मीको अभावमा कारागारमा स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या परेको गुनासो गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here