चिसो बढेसंगै झापा सहित देशभरको जनजीवन प्रभावित

0
693

झापा।

केही दिनयता चिसो र शितलहर बढेसंगै झापा सहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

बाक्लो हुस्सु र चिसो बतासका कारण झापाका बजारमा चहल पहल समेत घटेको छ । कांकरभिट्टा, बिर्तामोड, भद्रपुर, दकम लगायतका शहरहरुमा मानिसको चहलपहल घटेको जनाइएको छ । चिसोका कारण ठाउँ ठाउँमा सर्वसाधारण भेला भएर आगो ताप्न सुरु गरेका छन् ।

यस्तै अधिक चिसो बढे पछि प्रहरीले आगो ताप्नका लागि दाउरा वितरण शुरु गरेको छ । बिगत केही दिन देखि बढेको चिसोले जनजीवन प्रभावित भइरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले प्रदेश १ का सबै जिल्लाका बिभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको हो ।

प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले सबै प्रहरी कार्यालयहरूलाई स्थानीय चोक तथा ग्रामीण इलाकाहरूमा आगो बालेर ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । निर्देशन सँगै बिभिन्न प्रहरी कार्यालयहरूले स्थानीय तहसँगको समन्वयमा बिभिन्न स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाएका हुन् ।

शुक्रबार मात्र तराइका झापा, मोरङ र सुनसरी जिल्लाका ३०० भन्दा बढी स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित हुनुका साथै बिरामीको संख्या समेत बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।

चिसो मौसममा वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित हुने भन्दै खानपानमा ध्यान दिन सुझाव दिइएको छ । न्यानो लुगा लगाउन तथा तातो खानेकुरा खान चिकित्सकहरुले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here