अपाङ्गता रोकथाम र पुनस्र्थापनाको सम्झौता

0
529

पाँचथर।

फाल्गुनन्द गाउँपालिका र नेपाली गैरसरकारी संस्था करुणा फाउण्डेशनबीच अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनको लागि एक कार्यक्रमकाबीच सम्झौता गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक अध्यावधिक, स्वास्थ्य उपचार र सहायक सामग्री वितरण, क्षमता विकास, जीवीकोपार्जन, समावेशी शिक्षा, जनचेतना अभिवृद्धि गर्दै अपाङ्गतामैत्री स्थानीय तह निर्माण गर्ने उद्देश्यले शर्तसहितको सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर भएको हो ।

दुवै पक्षको सहकार्यमा एक करोड ३३ लाख ९१ हजार ६ सय ६० रुपैयाँ रकम अन्तर्गत ०७६ माघ १ गतेदेखि ०७९ पौष मसान्तसम्म कार्यक्रम सञ्चालन गरिने सूचना अधिकृत राजेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाकातर्फबाट कार्यक्रम व्यवस्थापक अजित योञ्जन र अध्यक्ष कुरुम्बाङको हस्ताक्षर रहेको छ । सम्झौतामा उपाध्यक्ष देवित्राकुमारी आङ्देम्वे र अपाङ्गता प्रतिनिधि सुरेशकुमार राईले पनि हस्ताक्षर गरेका छन् ।

पालिका स्तरीय विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा अध्यक्ष कुरुम्बाङको संयोजकत्वमा सात सदस्यीय कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरिएको बताइएको छ ।

कार्यक्रम सञ्चालन गर्नका लागि सहजकर्ता र कर्मचारीहरु छनौट प्रक्रिया तत्काल अघि बढाउने संयोजक कुरुम्बाङले बताए । स्थानीय श्रोत साधनको उपयोग गर्दै अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने संस्थाको उद्देश्यलाई दृढताका साथ सहयोग गर्ने उनले जनाए ।

जन्मजात अपाङ्गता र बालबालिकामा हुने अपाङ्गतालाई घटाइ विकासोन्मुख देशमा अपाङ्गता भएका बालबालिका र वयस्कको जीवनको गुणस्तर सुधार्ने उद्देश्यसहित सन् २००७मा नेदरल्याण्डका एक उद्यमीले करुणा फाउण्डेशनको स्थापना गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here