सृष्टी र प्रकृतिसँग जोडिएको उधौली

0
967

रविकिरण वान्तवा,

यति बेला चिसो बढ्दैछ, यो मौसममा मानिसहरुसहित जीवजन्तु र चराचुरुङ्गीहरु न्यानो वतावरणको खोजीमा देखिन्छन् । मानिसहरु त आगो, हिटर तापेर वा न्यानो लुगा लगाएर अथवा तातो खानेकुरा खाएर जाडोलाई केही कम गर्न कोशिस गरिरहेको हुन्छ । चराचुरुङ्गी र जनावारहरु चिसोबाट बच्न लेकदेखि बेसीतिर झर्ने गर्दछ । किसानहरुले भर्खरै मात्र अन्नबाली काटेर भित्र्याएको हुनाले खेतमा छरिएका अन्नहरु र किराफट्याङ्ग्रा आहाराको रुपमा प्रशस्त पाइने हुँदा चराचुरुङ्गी यो मौसममा बेसी झर्ने गरेको बुझिन्छ । प्रकृति पुजक किरातीहरुले यी नै चरावर्गमा पर्ने कराङ्गकुरुङ्गको बसाईंसराइलाई नै ऋतु सुचकको रुपमा लिएको पाइन्छ । किराती संस्कृति परम्परामा दुई वटा मात्र ऋतु रहेको पाइन्छ उभौली र उधौली । जब चराचुरुङ्गीहरु गर्मी छल्न लेक वा हिमाली क्षेत्रतिर जान्छ त्यो समयलाई उभौली र चिसोबाट बच्न बेसी वा तराइतिर झर्न थाल्छ त्यस समयलाई उधौली भनिन्छ ।

यति बेला उधौली ऋतु– (मंसीर पूर्णिमादेखि) शुरु भइसकेको छ । किरात राईहरु प्रकृति पुजक भएको हुनाले नयाँ ऋतुको आगमन सँगसँगै पाकेको अन्नबाली भित्र्याएको खुशियालीमा पितृ र प्रकृतिका देवी–देवतालाई नयाँ बाली चढाउँदै पूजा गर्दछन्, जसलाई हामी साकेला उधौली पर्व भन्दछौं । सह, अन्नपातका देवता अर्थात् प्राणी जगतका पालककर्तालाई साकेला भन्ने गरिको तार्किक परिभाषा भए पनि राईहरुको समुदाय र भाषागत बिबिधता कारण यसको उच्चारण र परिभाषा पौराणिक किम्बदन्तीको आधारमा फरक–फरक भेटिन्छ । बिबिध राईहरुको समुदायगत भाषामा साक्खेवा, साकेवा, सान्खेवा, साकेल, साखेल, भुमे, तोस आदि भनिए पनि यसको मूलमर्म र दर्शन एउटै हुने हँुदा नाममा एकरुपता ल्याउन किरात राईहरुको साझा समाजिक संस्थाको अग्रसरतामा साकेला भन्न थालिएको हो । साकेला संस्कृति किरात राईहरुको पहिचान हो, यो संस्कृति बिना किरात राईहरुको परिकल्पना र पहिचान स्थापित गर्न सकिँदैन ।

साकेला उभौली र साकेला उधौलीको अवसरमा बिधिपूर्वक कूलपितृको पूजा गरिसकेपछि ढोल, झ्याम्टा र पुङ (अर्नाको सिङ)को संगीतमय वाताबरणमा साकेला सिलि नाच्दै घाम, पानी र जमिनको पूजा गर्दै देवी–देवताको आराधना गरिन्छ । बिभिन्न जीवजन्तु, चराचुरुङ्गी, शिकारी र कृषकहरुको अभिनय गर्दै नाच्ने शैली नै सिली हो । अरु नृत्यको जस्तै सिली नाचको पनि आफ्नै शैली हुन्छ । जीवजन्तुको क्रियाकलापसहित बाघ गर्जेको अभिनय गरेर नाचेको सिलीलाई किवासिली, अन्नको बीऊ छर्ने, बीऊ सार्नेदेखि पाकेपछि बाली उठाउनेसम्मको शिलशिले बद्धरुपको क्रियाकलापलाई चासुम सिली, चराचुरुङ्गीसहित कुखुराको क्रियाकलाप र भाले बासेको अभिनय गरेर नाचिएको सिलीलाई वापासिली भनिन्छ । धनुकाँड भिडेर शिकार गर्न गएको सिकारी जस्तो अभिनय गरेर नाचिनेलाई आप्तारुङ् सिली भनिन्छ । यस्ता सिली नाच किराती राई समुदायमा दुई सयभन्दा बढी प्रकारको भए पनि हाल लोप हुँदै गइरहेको यसका जानकारहरु बताउँछन् ।

उधौली पर्व मंसीर पूर्णिमादेखि १५ दिनसम्म नै मनाइन्छ । यस पर्वलाई न्वागी पर्व पनि भनिन्छ । पाकेको नयाँ अन्नबाली सृष्टिकर्ता पारुहाङ्ग सुम्निमासहित पितृहरुलाई चढाउँदै भण्डारण गरेको अन्न मुसा र किराहरुले नखाओस्, भनी साकेला सिली नाच्दै प्रकृति र बिभिन्न देबी–देबताको आराधाना गरी बाली भित्र्याएको खुशियाली स्वरुप पितृ र माङ्गसहित जल, जमिन, आकाश, बायु आदि प्रकृतिसँग आशिर्बाद माग्दै यो पर्व मनाइन्छ । यो मौसममा बोटबिरुवाको पातहरु झर्न थाल्ने, जाडो बढेसँगसँगै चराचरुङ्गी, लेकाली खोला नदीमा भएका माछाहरु चिसो छल्न बेसितिर झर्न थाल्छन् ।

उभौली पर्व बैशाख पूर्णिमादेखि १५ दिनसम्म भूमि पूजा, आकाश, खोलानाला, हावापानी, वनजंगलको बिधिवत् पूजा गरी प्रकृति र सृष्टिकर्तासंग सहमागी सुब्बेफाब्बे होस् भनेर कामना गर्दै पूर्खाहरुसित आशीर्वाद माग्दै पितृ पूजा गर्ने अवसरको रुपमा मनाइन्छ । यो मौसममा बोटबिरुवामा नयाँ पालुवा लाग्ने, बालीनालीमा छरेको अन्नहरु टुसाउने गर्मीयाम शुरु भएसँगै चराचुरुङ्गी उभो लेकतिर गर्मी छल्न बसाई सर्न थाल्छ । आफूले लगाएको अन्नबाली चराचरुङ्गी, किराफट्ङ्ग्राले नखाओस्, बालीनाली सप्रोस्, खोलानाला, बाढीपहिरो र रोगब्याधी हैजाहरुबाट मानवजीवनका रक्षा गरुन् भन्दै सृष्टिकर्ता पारुहाङ्ग सुम्निमा सहित बिभिन्न देवी–देवताको आराधाना गर्दै साकेला सिली नाचिन्छ ।

किरातीहरुको उभौली र उधौली पर्व पृथ्वीमा कृषियुग शुरु हुनु पूर्व जंगलीयुगमा धनुकाँडको आविष्कार गरि सिकार गर्न जान्ने भएदेखि नै प्रचलनमा आएको विश्वास गरिन्छ । त्यस आदिम समयको जंगली युगमा दुई चार जना सिकारी भेला भई आफूले गरेको सिकारलाई रुखको फेदमा राखी सेउला हातमा लिई रुखको वरिपरि घुम्दै बन देवताको प्रार्थना र आफूले गरेको सिकारको केही भाग पितृलाई चढाउँदै खुशियाली मनाउँथे भन्ने तथ्य किरात राईहरुको साकेला सिली र किरात लिम्बूहरुको केलाङको गहिरो अध्ययनबाट बुझ्न सक्छौं । राईहरुको समुदाय, संस्कार र स्थान अनुसार पूजा सम्पन्न गर्न कुखुरा, जाँड, रक्सी, अदुवा, केराको पात, धुप, अक्षता, पाती, सेउली, चिण्डो आदी सामाग्री प्रयोग गरी किराती राई पूजारी बिजुवाले चुला पूजा गरी यी पर्वको आगमनलाई स्वागत गर्दछन् । त्यसपछि साकेलाथानमा नौसिङ्गे भालेको बली दिई पुजारी बिजुवाकोे आदेशबाट साकेला नाच शुरु गरिन्छ । साकेला सिलीलाई गति र शक्ति प्रदान गर्न ढोल, झ्याम्टा, पुङ बजाउने गरिन्छ ।

पहिलोदिन साकेला थानमा नाचिन्छ र त्यसपछि फरक– फरक स्थानमा १५ दिनसम्म जातीय पहिरनमा सजिएर ढोल झ्याम्टा बजाउँदै हात र खुट्टाको चाल र हाउभाउको माध्यमबाट बिभिन्न जीव, जनावर, पशुपन्छी, चराचुरुङ्गीको नक्कल, खोरिया फाडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, बाली पाकेपछि काटेर उठाएको नक्कल गर्दै एकापसमा गोलो घेरा लगाएर हातमा चौरीको पुच्छर, सिल्लीमो, पोमी, डाला, सिम्कौली सेउली लिएर परम्परागत रुपमा सिली नाच्ने गरिन्छ । यो पर्व नेपालमा रहेको किरातीहरु बाहेक सिक्किम, आसाम, बर्मा, हङकङ, बेलायत, जापन, अमेरिका र कोरिया लगायत किरातधर्मा वलम्बीहरु बसोबास गरेको स्थानहरुमा पनि सिली नाच्दै धुमधामका साथ मनाइने गरिन्छ । हिजो आज त साकेला सिलि नाच आधुनिक्तासंगसंगै प्रत्येक गैरकिराती समुदायका युवामा पनि निकै लोकप्रिय नाच बन्दै गइरहेको बिभिन्न ठाउँमा आयोजित उभौली वा उधौली कार्यक्रमहरुमा देख्न सक्छौं ।

सृष्टि र प्रकृतिसंग जोडिएको यो पर्व र साकेला सिलिको संरक्षणमा किराती राई समुदाय मात्र नभइ राज्यको तर्फबाट पनि महत्वपूर्ण भूमिका हुनुपर्छ । लोप हुँदै गइरहेको सिलीहरुको खोजी, संरक्षण र पुस्ता हस्तान्तरणमा किराती राई समुदायका अग्रजहरुको पनि ध्यान जान उति नै जरुरी देखिन्छ । आधुनिक जीवनशैलीसंगै आएको परिवर्तनमा किरात राईसहित प्रत्येक नेपालीहरुलाई जोड्ने साकेलाको मौलिक भाकाहरुको स्वरुप परिवर्तन हुनसक्छ, यसतर्फ पनि सचेत हुने बेला आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here