धेरै काव्यसुधा पिई मनसुबा शीतलगराए पनि
कैले भुन्भुन माहुरी सरि डुली बासै हराए पनि
संतृप्तै हुन बुझ्न सुन्न अझ झन् लाग्दैछ मन्मा स्वतः
आजैदेखि म डायरी किनि नयाँ साहित्य सर्गौं कि त ।
शिक्षाको शुरुवातमा कठिनथ्यो लेख्ने थिए प्वाँखका
बाँसैका खवटा र पात रुखका आधार साहित्यका
त्यस्तो काल भए पनि रसिकले लेख्यो कथा अद्भूत
नौला साधन लौ जुटाई युगका साहित्य सर्गौं कि त ।
के लेखुँ भनी प्रश्न उठ्छ मनमा उल्झन् हुँदा खासमा
त्यै बेला मनकी चरी भुरुरुरु उड्छिन् खुलाकाशमा
जे जस्तो परिवेश भोग्दछु म ता लेखौ कि त्यैत्यै गत
भोक्ता भै म कथा सुनाइ मनको साहित्य सर्र्गौंं कि त ।
मन्को ताप बढेर राप हुनगै पोल्दा मुटु भत्भत
आँशुका जलमा थपी गजलले पारौं कि झन् शीतल
खाँदा चोट हजार पल्ट दिनमा के हार्नु है हिम्मत
त्यस्तै चोट चुमेर ओठहरुले साहित्य सर्गौं कि त ।
दोषी हो दुनियाँ भनेर पहिले सोच्थें म निर्दोष भैmँ
यो पावन् मनमा विकार भरने गल्ती छ आफ्नो पनि
आफैं भित्र उमार्न जीवनकला लागौं कि लौ भर्खर
जीवन्का रङरूप वर्णनगरी साहित्य सर्गौं कि त ।
धेरै माध्यममा प्रवाहित हुँदैै फैलाइ प्रज्ञा रस
चर्चामा जबहुन्छु काव्य तहमा उक्लन्छु माथि अझ
मन्उद्वेग नितान्त शान्त हुनगै आनन्द होला स्वतः
उत्सर्जन् गरि शान्ति तन्मनमहाँ साहित्य सर्गौं कि त ।
– रघुनाथ पौड्याल