साइबर सुरक्षा सम्बन्धी सचेतना

0
887

बिर्तामोड ।

साइबर अपराध न्युनीकरण गर्न झापामा बिद्यार्थीकेन्द्रित साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम शुरु गरिएको छ ।

क्यान महासंघ झापा शाखा ,इलाका प्रहरी कार्यालय बिर्तामोड र गोमेन्द्र बहुमुखी महाविद्यालय बिर्तामोडले बिद्यार्थीकेन्द्रित साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेका हुन् ।

साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने गरेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा समस्या बढीरहेको भन्दै साइबर अपराध न्युनीकरण गर्न सचेतना कार्यक्रम शुरु गरिएको गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डा.रुपक खनालले बताए ।

क्यान महासंघ झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय बिर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालय बिर्तामोडको समन्वयमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम शुरु गरिएको उनले बताए । गोमेन्द्र बहुमुखी महाविद्यालय बिर्तामोडबाट शुरु गरिएको कार्यक्रम झापाका नीजि तथा सामुदायिक बिद्यालयमा सञ्चालन गरिने उनले बताए ।

यसैबीच गोमेन्द्र बहुमुखी महाविद्यालय बिर्तामोडमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्यान महासंघ झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापा र क्यान महासंघ झापा शाखाका सदस्य तथा साइबर क्राइमका प्राविधिक विशेषज्ञ निरज अधिकारीले गरेका थिए ।

गोमेन्द्र बहुमुखी महाविद्यालयका विसिए तथा विविए अध्यनरत् विद्यार्थी, शिक्षक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी थापाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र कानुनी उपचारको बारेमा सहजीकरण गरेका थिए । त्यस्तै क्यान महासंघ झापा शाखाका सदस्य तथा साइबर क्राइमका प्राविधिक विशेषज्ञ अधिकारीले इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डा. रुपक खनाल, क्यान महासंघका केन्द्रीय सदस्य भुपेन्द्र मैनाली, क्यान महासंघ प्रदेश सदस्य रोशन दाहाल, क्यान महासंघ झापा शाखाका सचिव कृष्णप्रसाद घिमिरे, बिर्तामोड नगरपालिकाका आईटी अफिसर जयराम चम्लागाई लगायतले शुभकामना दिएका थिए । रहेको कार्यक्रमको संचालन गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राध्यापक शेखर पाण्डेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here