हुलाकी मार्गको स्तरोन्नति हुने भएसँगै स्थानीय हर्षित

0
779

गौरीगञ्ज।

बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गत झापाको रतुवा खोलादेखि पूर्व विरीङ खोलासम्मको बाटो निर्माण कार्य शुरू हुने भएको छ ।

हुलाकी सडक अन्तर्गत झापाको गौरीगञ्जको पश्चिम सीमाना रतुवा खोलादेखि निर्माण कार्यको प्रारम्भिक चरण बाटो छुट्याउने कार्य शुक्रवारदेखि शुरू भएपछि बाटोको निर्माण हुने आशा पलाएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ५का अध्यक्ष विजयप्रसाद गन्गाई, वार्ड सदस्य राजेन्द्र ताजपुरिया, गाउँपालिकाका शाखा अधिकृत वीरेन्द्र खड्का, नापी शाखा दमकका सर्वेक्षक सुगम पाण्डे र स्थानीयहरूहरूको सहभागितामा बाटो निर्माणका लागि साविकको बाटो छुट्याउने कार्य शुरू गरिएको हो ।

नापी शाखाका सर्वेक्षक पाण्डेका अनुसार साविक बाटोको बीचको विन्दु यकिन गरी दायाँबायाँ दुवैतर्फबाट १५–१५ मिटर चौडाइ बाटो फराकिलो हुने गरी नापनक्सा गरिँदैछ । निर्माण कार्यको ठेक्का मोदीदान कन्ट्रक्सन सेवन प्रालि काठमाडौं र हुलाकी राजमार्ग आयोजना इटहरीले लिएको छ ।

मोदीदान कन्ट्रक्सन सेवा प्रालिका प्रमुख रामबहादुर गौतमले रतुवा खोलादेखि पूर्व २९ किलोमिटर बाटो निर्माण गर्न १ अर्ब ५० करोड रूपैयाँमा ठेक्का लिएको बताए । कम्पनी र हुलाकी राजमार्ग आयोजनासँगको संयुक्त सर्भे र बाटो छुट्याउने कार्य पश्चात निर्माण कार्यले तीव्रता लिने कम्पनीका प्रमुख गौतमले बताए । साविक बाटोको बीचको विन्दुलाई केन्द्र मानी बाटोको दायाँबायाँ १५–१५ मिटर चौडा बनाई ७ मिटरको पिच हुने उनले बताए । बाटोमा पर्ने कल्भर्ट र पाइप कल्भर्ट साथै बजार क्षेत्रमा नालासहितको बाटो निर्माण हुनेछ ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष श्रेष्ठले गौरीगञ्ज गाउँपालिका अन्तर्गतको हुलाकी बाटो छुट्याउने कार्य भइरहेको बताए । यदि कही कसैको १५ मिटरभित्र घर, जग्गा या कुनै भौतिक संरचना परे त्यसको कुनै क्षतिपूर्ति नहुने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गौरीगञ्ज गाविसका तत्कालीन गाविस अध्यक्ष घनश्याम रिजालले राणाकालमा तराईलाई चिनाउने हुलाकी बाटो निर्माण कार्य धेरै वर्षपछि यो क्षेत्रमा निर्माण हुन लागेकोमा आफू हर्षित भएको बताए । हुलाकी बाटो निर्माणले यस भेगका नागरिकको जनजीविकामा ठूलो परिवर्तन आउने अपेक्षा गरेको उनले बताए ।’

गौरीगञ्ज गाविसका तत्कालीन अध्यक्ष देवीप्रसाद राजवंशीले हुलाकी सडक निर्माण प्रक्रियाले अब यस क्षेत्रमा आम परिवर्तन हुने आशा जगाएको बताए । पुरानो र बहुप्रतिक्षित हुलाकी सडकले यस भेगका जनताको भाग्य र भविष्य कोर्ने उनको कथन थियो ।

गौरीगञ्ज–३का अध्यक्ष तथा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतोले हुलाकी सडकको निर्माण कार्यले यसभेगका जनताको पुरानो सपना पूरा हुने बताए । रतुवा खोलाको पुल र गौरीगञ्ज गाउँपालिका वार्ड नं. ३मा रहेको लेरा खोलाको पुल निर्माणमा ठेकेदारको ढिलासुस्तीले निर्माण कार्य सम्पन्न नभएको हँुदा त्यस किसिमको कार्य हुलाकी सडकका ठेकेदारले नगरोस्– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here