पढाइ होइन, बानी सिकाऔं

0
5991

गङ्गाराम गड्तौला,

म कक्षा सातमा प्रवेश गरेँ । सबै विद्यार्थीहरू आफ्नो ठाउँमा उठेर ‘नमस्कार सर…’ भने । मैले उनीहरूलाई ‘बस’ भनिन । नमस्कार फर्काएर सिधै सेतो पाटीमा केही लेख्न थालेँ । ‘हामी किन…’ यति लेखेर उनीहरूतर्फ फर्कँदा आधाउधी विद्यार्थी बसिसकेका रहेछन् । मैले अपेक्षा गरेको थिएँ– उनीहरू बस्ने छन् । किनकि उनीहरूले जे सिकेका छन् त्यो अधुरो छ । पूर्ण सिकाइ छैन । उनीहरू शिक्षकको ‘बस’ वा ‘उठ’ भन्ने निर्देशनमा होइन, आफ्नो उठ्ने र बस्ने क्रियामा अभ्यस्त बनेका छन् । मैले बोर्डमा लेख्न लागेको कुरालाई उनीहरूकै शैलीमा लेखेँ ‘हामी किन उठ्छौं जब शिक्षक प्रवेश गर्नुहुन्छ कक्षामा ?’ उनीहरूलाई यस विषयमा लेख्न भने । शीर्षक कसरी छोटो पार्ने भन्ने मेरो ध्याउन्न हुन्छ । छोटो पार्न नसक्दा विद्यार्थीको स्तरका आधारमा बुझ्ने गरी लेख्छु । यही विधि अपनाएर लेखेँ ।

लेख्न कस्सिए । मानौं उनीहरू लेख्न बसेका होइनन् । आफूभित्रको भावनालाई कलमका माध्यमबाट पोख्न चाहन्छन् । सबै हौसिए । धेरै कुरा उकुसमुकुस भएको थाहा पाएँ । कतिलाई त कहाँबाट शुरु गरौं भन्ने पनि भयो । जे होस् सबैले लेखे । उनीहरूलाई छुट थियो वर्णविन्यासको । विद्यार्थीहरू वर्णविन्यासलाई ‘स्पेलिङ’ भन्छन् । दुई–चार जनाले ‘स्पेलिङ’ को कुरा उठाएर त्यसमा छुट दिन पनि भने । तर, मैले त्यो कुरा प्राथमिकतामा नपर्ने बताएपछि सहजै लेख्न थाले ।
सबैभन्दा पहिले दश वाक्य लेख्नेले पहिले सुनाउन पाउँथ्यो । सकिएपछि सुनाउने पालो आयो । पहिले सकेकी थिइन् एक छात्राले । उनको प्रस्तुति निकै गहकिलो थियो । धेरै जनाले प्रस्तुत गरे । उनीहरू सबैको लेखाइको आशय एउटै थियो । त्यो यसप्रकार थियो– गुरुहरू हाम्रा आदर्श हुन् । उनीहरूले हामीलाई भविष्यको बाटो देखाउँछन् । जीवनमा गुरुको सहयोग बिना कोही पनि सफल बन्न सक्दैन । गुरु सम्मानित व्यक्ति हुन् । यसैले गुरु प्रवेश गर्दा हामी उठ्नुपर्छ ।
हाम्रो आम बुझाइ यही छ । शिक्षकको पनि । के साँच्ची कै गुरुलाई यसकारण सम्मान गर्ने कि उनी मार्ग प्रदर्शक हुन् ? विद्यार्थी यस कारण आफू बसेको ठाउँमा उठ्ने किनकि गुरु तिनका आदरणीय हुन् ? ठिकै होला । तर, विद्यार्थीलाई चाहिँ त्यसरी सिकाउनु नकारात्मक हो ।

अनि बोर्डमा मैले लेखेँ– हामी विद्यालयमा केही कुरा सिक्न आउँछौं । पढाइ, लेखाइ, अनुशासन र व्यवहार आदि । शिक्षक प्रवेश गर्दा उठ्नु पनि सिकाइको एउटा प्रक्रिया हो । तर, हामी शिक्षकका लागि होइन, आफ्नै लागि उठेका हौं । हामी उठ्दा शिक्षकको सम्मान हुन्छ । तर, त्यो भन्दा बढी हाम्रो सिकाइको एउटा अभ्यास पूर्ण हुन्छ ।
मैले बोर्डमा लेख्दै गर्दा विद्यार्थीले पढ्नुपथ्र्यो । वाक्य पूरा हुनासाथ विद्यार्थी पढ्थे । अन्तिम वाक्य सकिएपछि एकजना विद्यार्थी बोले– हामी उठ्दा कसरी सिकाइ हुन्छ ?

विद्यार्थीहरू जिज्ञासु हुन्छन् । तिनका जिज्ञासाको समाधान सकारात्मक तरिकाले गरिदिनु शिक्षकको कर्तव्य हो । मैले भनेँ– तपाईंहरू सबैलाई आफूलाई अरूले सम्मान गरून् भन्ने लाग्छ कि लाग्दैन ? उत्तर थियो– लाग्छ सर । त्यसो हो भने हामीले पहिले अरूको सम्मान गर्नुपर्छ । अरूको सम्मान गर्ने बानी बसाल्नुपर्छ । हो, अर्काको सम्मान गर्ने बानी आफूभित्र बसाल्न हामी उठेका हौं । कुनै पनि कुरा एकै पटकमा सिकिँदैन । अझ राम्रो कुरा एकै पटकमा जानिँदैन । राम्रो कुराको बानी पार्न हजारौं पटकको अभ्यास गर्नुपर्छ । हो, हामीमा अर्काको सम्मान गर्ने बानी बसोस् भन्नका लागि हामी आफूले सम्मान गर्ने व्यक्ति आउँदा उठेका हौं । हामी अरूको सम्मान गर्ने बानीमा अभ्यस्त हुँदैछौं । त्यसैले हामी उठेका हौं ।

सिकाइ भनेको बानी हो । बानीहरूको निर्माण । असल बानीहरूको निर्माण । धेरै वटा असल बानीहरूको संयोजनले नै एउटा पूर्ण व्यक्तित्व निर्माण हुन्छ । एउटा पूर्ण घर बन्नका लागि इँटा, ढुङ्गा, बालुवा, सिमेन्ट, रड, काठ लगायत थुप्रै सामानको आवश्यकता हुन्छ । तर, ती सामानको जोडाइ राम्रो भएन भने घर अपूर्ण हुन्छ । व्यक्तित्व निर्माणमा पनि पठनपाठन, बोलीचाली, अनुशासन, स्वाध्ययन जस्ता साधनको महत्वपूर्ण भूमिका रहन्छ । पठनपाठन सबैले गर्छन् । बोलीचाली पनि सबैको हुन्छ । अनुशासन पनि आफ्नो ठाउँमा होला नै । तर, किन सबै व्यक्ति समाजमा आदरणीय बन्न सक्दैनन् ? किनकि ती कुराको संयोजन तिनमा छैन ।

तर, हामी किताब पढाउँछौं । कथा पढाउँछौं । सूत्र रटाउँछौं । तिथिमिति कन्ठ गराउँछौं । बानी सिकाउँदैनौं । विडम्बना । बानी वा आचरणलाई प्राथमिकतामा राख्दैनौं । आज बालबालिकामा देखिएको समस्याको जरो यही नै हो । नर्सरीदेखि विद्यार्थीलाई अनुशासित बन्न भनिएको हुन्छ । साथीसँग मिल्न सिकाइएको हुन्छ । बा–आमासित झगडा नगर्न, फजुल खर्च नगर्न र स्वस्थ रहन पनि सिकाइन्छ । तर, केवल सैद्धान्तिक । अनुशासनका बारेमा लेख्न दियो भने २ पेज लेख्न सक्छ । तर, त्यहाँको एउटा वाक्यलाई पनि उसले व्यवहारमा प्रदर्शन गर्न सक्दैन । तीन कक्षादेखि निवेदन लेख्न सिकाउँछौं । तर, स्नातक पढेका अधिकांश व्यक्तिले निवेदन लेख्न सक्दैनन् । कुनै कार्यालयमा निवेदन लेख्नुप¥यो भने सम्बन्धित विज्ञ वा लेखापढी गर्ने व्यक्तिको खोजीमा हिँड्छौं ।

सिकाइलाई व्यवहारिक बनाऔं । व्यवहारिक भए नभएको तत्काल अनुगमन गरौं । जस्तै भोलिदेखि राम्रो लेख्छु भनेको छ । राम्रो लेख्यो कि लेखेन ? अधिकांश शिक्षकले यो कुरालाई विचार नगरेको पाइन्छ । पुरस्कार र दण्डको व्यवस्था तत्काल गरौं । दण्ड भनेको भौतिक कारबाही मात्रै होइन । कुनै विद्यार्थीले साथीको मन दुखायो भने उसलाई सजाय स्वरूप ‘मित्रता’ शीर्षकमा अङ्ग्रेजी वा नेपालीमा निबन्ध लेख्न लगाऔं । लेखन सीप पनि विकास हुन्छ, अर्कोपटक त्यही गल्ती दोहो¥याउने साहस पनि हुँदैन ।

बालबालिकालाई बानी सिकाउनु नै शिक्षण हो । राम्रा बानीहरूको शिक्षण । व्यवहारबाटै शिक्षण । असल बानीलाई आदतमा परिवर्तन गराऔं । राम्रा काममा प्रोत्साहित गरेर दिमागमा स्थापित गराऔं । नराम्रा बानी त्याग्न प्रेरित गरौं । सकारात्मक बानीको विकास ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here