तीर्थराज खरेल,
पुस्तान्तर शब्द सन् १९६० देखि पाश्चात्य समाजमा किशोर–किशोरी र आमाबाबुको सांस्कृतिक भिन्नता देखाउने क्रममा बढी प्रचलित भएको हो । वर्तमानमा चाहिँ पुस्तान्तर अत्यन्त छिटो–छिटो भइरहने सांस्कृतिक परिवर्तनका कारण बढी देखिन थालेको छ । त्यसमा पनि सांस्कृतिक रुची, फेसन, विषयलाई ग्रहण गर्ने प्रवृत्ति र राजनीतिमा यो टड्कारो हुन्छ । सन् १९६० पछि यो फरक अकल्पनीय ढङ्गले बढेको छ । यसले व्यक्तिलाई पूर्वस्थापित मूल्य–मान्यतासित लड्न र छुट्टै अस्तित्व प्राप्त गर्न असीमित र विस्तृत इच्छाशक्ति उपलब्ध गराएको छ । फरक–फरक पुस्ताका मान्छेको अवधारणा वा सोच्ने र अनुभूति गर्ने तरिकाको भिन्नता नै पुस्तान्तर हो । पुस्तान्तर प्रक्रिया गतिवान् बनाउन असाधारणरूपमा विस्फोट भइरहेका ज्ञान र प्रविधि, संस्थात्मक पुनर्संरचना, बढ्दो अन्तरआबद्धता र विश्वव्यापीकरण, जनसंख्या र सांस्कृतिक विविधता र परम्परागत विश्वास स्खलनले ऊर्जा दिइरहेको छ र यो पछिल्ला दिनमा बढ्दै गएको छ ।
छुट्टै पुस्ताका व्यक्तिहरुको क्रियाकलाप, विश्वास, सौख, भनाइ, गराइ र चाखहरुमा फरकपन हुनुलाई सामान्यरुपमा पुस्तान्तर भनिन्छ । जब एउटा पुस्ताले गरेको कुरा अर्को पुस्ताले चाख लिँदैन र बुझ्दैन भने त्यो पुस्तान्तर हो । दुई पुस्ताहरुबीच हुने विविध सम्वादहरुमा देखिने जटिलता द्वन्द्व वा सम्वादहीनतालाई पुस्तान्तरको रुपमा चित्रण गरिने गरेको पाइन्छ । दुई पुस्ताका बीचमा पाइने फरक नै पुस्तान्तर अर्थात् जेनेरेसन ग्याप हो । पुस्तान्तर शब्दले अघिल्लो र पछिल्लो पुस्ताका बीचमा देखिने विचार र शैलीको भिन्नतालाई बुझाउँछ । समय र उमेरको अन्तर बढ्दै जाँदा व्यक्तिको स्वभाव, चाहना र जीवनशैलीमा नवीनता देखिँदै जान्छ ।
यसले गर्दा फरक–फरक समयका व्यक्ति तथा पुस्ताका सोचाइ पनि भिन्दाभिन्दै हुन पुग्छन् । यही भिन्न सोचाइका कारण अघिल्लो र पछिल्लो पुस्ताका बीचमा अन्तर देखापर्छ । युवाहरु र प्रौढहरुबीचको संवादहीनताले एक अर्काप्रतिको संस्कार र परम्परालाई बुझ्ने र जान्ने अवसरबाट वञ्चित गराउने गरेको पाइन्छ । यस्तो समस्या आजको बदलिँदो सामाजिक परिवेसमा देखिएको छ । जसले गर्दा असमान दूरीमा रहेका सबै पुस्तालाई आफ्नो आफ्नैपन र संस्कारमा बाँच्न र हुर्किंन सिकाउने गर्दछ । यस्तै कारणले एक पुस्ताले अर्को पुस्ताको मर्म र भावना नबुझ्ने हुन्छ ।

देश–विदेशमा बसाइँ सर्ने, सुगम शहरहरुमा मानिसहरुको आवत–जावतले स्थिर सामाजिक संस्कारबाट नयाँ परिवेसमा पुग्दा हुने परिवर्तन र त्यहाँको हावापानीसँग मिल्नको लागि समय लाग्ने हुनाले पुस्तान्तर हुन जाने बताइन्छ । त्यस्तै आधुनिक प्रविधिहरुको बिकाससँगै सुगम बनेको सञ्चार र सामाजिक सञ्जालहरुको विस्तारले भेटघाट, प्रत्यक्ष कुराकानीभन्दा सामाजिक सञ्जालहरु मार्फत भावना, सूचना आदान–प्रदान गर्ने गरेकोले नयाँ संस्कृति र आचारहरुको विकास भइरहेको छ । एक पुस्ताले अर्को पुस्तालाई जन्म दिने हुर्काउने सिलसिलामा प्राकृतिक रुपमा नै कतिपय अवस्थाहरुमा पुस्तान्तर सिर्जना हुनेहुन्छ । आमाबाबु र अभिभावकहरुसँग आफ्ना बालबालिकाहरुलाई दिने समय नहुनुले आमा बाबु र अभिभावकको भावना छोराछोरीहरुसँग मेल खाँदैन र पुस्तान्तर बढ्छ ।
नानीहरुलाई आफूले भनेको कुरा मात्र बालबालिकामा लाद्न खोज्ने प्रयास हुन्छ अनि संवादहीनताको अवस्था सिर्जना हुन्छ । बालबालिका आफ्नो भावनाको कदर नहुने ठान्छन् भने अभिभावकहरु पनि आफूले भने जस्तो नभएर छोराछारीसँग बेखुसी हुन्छन् । पुस्तान्तर खासगरी बालबालिका र आमाबाबुका बीचबाट प्रकट हुन्छ । वर्तमानमा युवाहरू पश्चिमी संस्कृति र मापदण्ड अनुसार सभ्य र धनी बन्न चाहनुलाई नै यसको मूल कारण ठानिएको छ । इन्टरनेट र अन्य उच्च प्रविधिको उपयोगले गर्दा समाजसँगको घुलमिल कम हुन गई युवाहरू अघिल्लो पुस्ताका कुरा बुझ्न र सुन्न चाहँदैनन् । यसले दुई पुस्ताका बीचको मानवीय मूल्यको खोजी विपरित ध्रुवतिर फर्काउँछ र बुझाइमै गल्ती हुन पुग्दछ । पुस्तान्तरकै कारण अमेरिकामा ज्याज, बिटल्स् र हिप्पी संस्कृति बोक्ने पुस्ताको जन्म भएको थियो । तिनीहरुले राष्ट्रिय सामाजिक नैतिकता माथि नै गम्भीर प्रहार भएको अमेरिका र विश्वभरि नै महशुस गरियो ।
समयको अन्तरालमा विचार, दृष्टिकोण, मूल्य, विश्वास, प्राथमिकता र व्यवहार परिवर्तन हुनु सामान्य अर्थमा पुस्तान्तर हो । यसक्रममा सामाजिक व्यवहार र शैली परिवर्तन तथा परिमार्जन हुँदै जान्छन् । तर, एकै समयमा पनि फरक उमेर र विचार समूहका मानिसबीच अन्तरसम्बन्ध रहने अवस्थामा पुस्तान्तर महशुस बढी हुने गर्छ । पहिला फरक पुस्ताभित्र समस्याहरु थिए भने भने हाल एकै पुस्ताभित्र पनि अनुकूलनमा जटिलता देखिन थालेको छ । परम्परागत विश्वासमा आएको स्खलन र सामाजिक गतिशीलताले पुस्तान्तरलाई थप तीव्र बनाएको छ र एकप्रकारको उकुसमुकुस देखिएको छ । पुस्तान्तर प्रभाव समाज व्यवस्थाका सबै पक्षमा पर्छ, राजनीति, खेलकुद, साहित्य, सार्वजनिक प्रशासन कुनै पनि क्षेत्र त्यसबाट अछुतो रहन सक्दैन । प्रत्येक पुस्ताले आफ्नो परिवेश, पृष्ठभूमि र पीडालाई बोकेका हुन्छन् र त्यसको प्रभाव उसका व्यवहारमा देखिन्छन् ।
नीति एवम् संस्थाप्रति विश्वास र निष्ठा, उच्च आदरभाव र ओहोदामुखी व्यवहार, औपचारिकता र आदर्श पुराना पुस्ताका मूल्य–मान्यतामा पर्छन् भने गुणस्तरमा मोह, पदीय अहम्, वैयक्तिकता, अवसर र अधिकारप्रति सचेत रहनु मध्यम पुस्ताका विशेषता देखिए । अहिलेको पुस्ता वैयक्तिक असुरक्षा, पारवारिक परिवेशबाट न्यून माया, आफ्नै कमाइले जीवन व्यवस्थापन गर्नुपर्ने बाध्यताले गर्दा विविधतामुखी, संघर्षशील, सन्तुलित र विश्वव्यापीकरणलाई आत्मसात गर्ने देखिन्छ । सानो र खण्डीकृत परिवार, परम्परागत संस्थाप्रति असहमति र सञ्जालीकरणमा रमाउने पछिल्लो पुस्ताको मान्यता देखिन्छ ।
नेपालको राजनीति, प्रशासन, खेलकुद, शिक्षा लगायतका सार्वजनिक क्षेत्रमा पनि पुस्तान्तर प्रभाव बढ्दै गएको छ । अहिलेको पुस्ताले संसार देखेको छ । सूचना र सञ्चारको प्रभावले परम्परागत मान्यताप्रति अनुराग छैन आजको पुस्तामा । उनीहरु हरेक क्षेत्रमा हिजोभन्दा राम्रो र छिटो हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरु अघिल्ला पुस्ताका शैली, वृत्ति र प्रवृत्तिलाई परिवर्तन होस् भन्ने चाहना राख्छन् । परिवर्तन जादुको छडी घुमाए जसरी हुँदैन, फलस्वरुप पुरानो र नयाँ दुवै पुस्तामा निराशा बढ्छ । हरेक क्षेत्रमा पुस्तान्तरले प्रतिक्रिया, कार्यसम्पादन र कार्यसंस्कृतिमा पनि छलाङ मारेको छ । सबै क्षेत्रमा पुस्तान्तर गतिशीलता र संक्रमण देखिएका छन् । पुस्तालाई सोच, वृत्ति र प्रवृत्तिले छुट्याउने हो, उमेर, प्राज्ञिकता र परिवेशले होइन । पुस्तान्तर गति समात्न नसके पुस्ताहरू अवसरबाट किनारा लाग्नेछन् र यो पुस्तान्तरको गति पछ्याउन नसक्दा साहित्यकार नरुचाइने हुन्छन्, प्रशासकहरु सेवाग्राहीका नजरमा उत्तम ठहरिँदैनन्, शिक्षक तथा प्राध्यापकहरु विद्यार्थीका प्रिय बन्दैनन्, राजनीतिका खेलाडीहरु खेलमैदानबाट थाहै नपाई बाहिरिन्छन् भने बहुमत वा दुई तिहाइ समर्थनप्राप्त सरकारहरु अलोकप्रिय बन्दै सत्ताबाट हटाइन्छन् ।
नयाँ प्रविधि, राजनीतिक भिन्नता, कामको स्थान र व्यवहार, दायित्वबोधको उमेर, शैक्षिक प्रणाली, टेलिभिजन च्यानलहरूको बढ्दो प्रभाव आदिका कारण छोराछोरीको सोचाइ र व्यवहार फरक हुँदै जान्छ र उनीहरू मातापिताबाट टाढिई आपूm एक्लिएको पीडा पनि अनुभूत गर्दछन् । यसै क्रममा उनीहरूमा सामाजिक संरचनाका कारण उत्पन्न डर र भविष्यप्रतिको वितृष्णाले नैतिक पीडा हुने गर्दछ । सामाजिक तनाव र मतभिन्नताले पुस्ताका बीचमा विमर्श बढाउँछ र नैतिक बन्धनका बारेमा उनीहरूमा खुल्ला ढङ्गले छलफल हुन पाउँदैन । त्यसैले किशोर–किशोरीको समूहमा उग्र व्यवहार देखिन थाल्छ र यो उग्रता बढ्दै जान्छ ।
विशेषगरी चिन्तन, सांस्कृतिक मूल्य र प्रवृत्ति, लिङ्ग, विवाह, प्राप्यता, शरीर विज्ञान, पारिवारिक एकाइ, नैतिकता, व्यक्तित्व जस्ता पक्षहरूमा पुस्तान्तर स्पष्ट देखिन्छ । पुरानो संरचना र मूल्य–मान्यतालाई पनि छोड्न नसक्ने र नयाँलाई यसका आधारभूत विशेषतासहित खुला हृदयले स्वीकार गर्न पनि नसकेको असन्तुलनको अवस्था अहिलेको मूल समस्या प्रतीत हुन्छ । हाम्रा घर–घरमा पुरानो र नयाँ पुस्ताकाबीचको दूरी निरन्तर बढिरहेछ । नयाँ पुस्ता संसारका आधुनिक र अद्यतन परिस्थितिहरूसँग सम्पर्कमा छ, हाम्रा पुराना मूल्य–मान्यताले त्यसलाई बाँध्न सक्ने स्थिति छैन ।
यो पुस्ता जिज्ञासु छ, वैज्ञानिक दृष्टिकोणको छ र स्वभावतः विद्रोही पनि छ । हर समस्याको चित्तबुझ्दो तर्कपूर्ण समाधान चाहन्छ । तर, पनि नयाँपुस्ताका राजनीतिक नेताले पुराना पुस्ताका नेतालाई पछ्याउन छोडेका छैनन् । उही शैली, उही स्वभाव, उही आचरणबाट निर्देशित भइरहने हो भने पुस्तान्तरको नकारात्मक प्रभाव परिरहने निश्चित छ । तसर्थ, संसारमा विकसित सूचना, प्रविधिमा आएका परिवर्तनलाई आत्मसात गर्दै पुस्ताहरुबीचमा छलफल, संवाद र सहकार्यबाट पुस्तान्तरबाट सृजने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सम्भव हुन्छ ।


























