धनगढी,
खानमा रसिलो र स्वादिलो हुने भएपछि कैलाली जिल्लाको पहिचानका रुपमा रहेको ‘निगालीको सुन्तला’को बजार माग पनि बढ्दै गएको छ ।
यसको माग बढेसँगै फलफूल बजारमा निगालीको सुन्तलाको व्यापार गर्न यतिबेला व्यापारीहरु बीच तीव्र प्रतिस्पर्धा हुन थालेको छ । व्यापारीहरु यति बेला सुन्तला थोक मूल्यमा खरिद गर्नका लागि निगालीका बगैँचामा नै पुगेर मोलमोलाइ गर्ने गरेको स्थानीय कृषकले बताएका छन् ।
“व्यापारीले पूरै बारीको ठेक्का बोलेर सुन्तला खरिद गर्ने गरेका छन्”, स्थानीय किसान प्रेम आचार्यले भन्नुभयो, “प्रतिकिलो बारीमा रु ७० देखि ८० सम्ममा खरिद–बिक्री भइरहेको छ ।” जिल्लाको चुरे पहाडी क्षेत्रको निगाली क्षेत्रमा उत्पादन हुने भएकाले यो सुन्तला उपभोक्ता र व्यापारीमाझ निगालीको सुन्तलाको नामले चिनिन्छ । तराई र उच्च पहाडको बीच भागमा पर्ने निगालीको पारिलो घाम र हावापानीमा उत्पादन हुने भएकाले यो सुन्तला अन्यत्र ठाउँको भन्दा स्वादिलो हुने गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।
“स्वादिलो भएकै कारण निगालीको सुन्तला कैलालीको पहिचानका रुपमा रहेको छ”, प्रवक्ता शर्माले भन्नुभयो, “निगाली क्षेत्रमा गरिने यसको खेतीले भूक्षयको रोकथाममा समेत टेवा पुग्ने गरेको छ ।” अदुवा खेतीका लागिसमेत उर्वर भूमि रहेको निगाली र आसपासको क्षेत्रमा सुन्तलाको बगैँचामुनि अदुवाको खेती गरेरसमेत किसानले आम्दानी गरिरहेका छन् ।
यो सुन्तलाको माग धेरै जिल्लाबाट आउने गरेको भए पनि उत्पादन बढ्न नसक्दा सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा मात्र पु¥याउन सकिएको निगालीका अर्का किसान टेकबहादुर बमले बताउनुभयो । “माग धेरै हुने भए पनि उत्पादन त्यति हुन सकेको छैन”, बमले भन्नुभयो, “स्थानीय बजारको मागमात्र धान्न सकेका छौँ ।”
यो सुन्तलाको बजार माग बढ्दा अन्य ठाउँमा उत्पादन भएको सुन्तलालाई पनि निगालीको सुन्तला भन्दै व्यापारीले बिक्री गर्ने नयाँ शैली पनि अपनाउन थालेको पाइएको छ । सुन्तला हुने अधिकांश गाउँ सुन्तलाको बगैँचाले ढाकिसकेको छ, एक हजार सुन्तलाको बोट रोपेर खेती गरिरहनुभएका बमले भन्नुभयो, “बढ्दो मागसँगै बाँकी रहेको जग्गामा समेत यसको खेती विस्तार गर्ने तयारी किसानले गरेका छन् ।”
खानामा स्वादिलो र रसिलो हुने भएको भन्दै यसका पारखीहरु बजारमा निगालीको सुन्तला खोज्दै हिँडिरहेको देखिन्छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत रहेको निगाली क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला उत्पादक कृषक र समूहलाई विगतमा अनुदान र अन्य प्राविधिक सहयोग उपलब्ध गराइएको थियो ।
यस वर्ष फूल लाग्ने समयमा असिना परेकाले गत वर्षभन्दा कम सुन्तला उत्पादन भएको किसानले बताएका छन् । गत वर्ष निगाली क्षेत्रमा १०० टनभन्दा बढी सुन्तला उत्पादन भएको थियो । कुनै विषादीको प्रयोग नगरी गोबर मलमात्र प्रयोग गरेर उत्पादन हुने (आर्गेनिक सुन्तला) भएकाले पनि यो सुन्तलाको माग बढ्दै गएको किसानले बताएका छन् ।































