प्रदेश नं. १ मा भ्रमण वर्षको शुभारम्भ खोटाङबाट गरिने

0
604

खोटाङ,

जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ कार्यसमितिले नेपाल भ्रमण वर्षको शुभारम्भ खोटाङबाट गर्ने भएको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रचारप्रसार र प्रवद्र्धन गर्न महासङ्घले यही पुस १० गतेबाट शुभारम्भ गर्ने भएको हो । खोटाङका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलहरुमा महासङ्घका केन्द्रीय अध्यक्ष तथा पदाधिकारीलगायत १०० जनाभन्दा बढी पाहुनालाई भ्रमण गराएर भ्रमण वर्षको शुभारम्भ गरिने प्रदेश नम्बर १ का संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस १० र ११ गते पाहुनालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा रहेको प्रमुख पर्यटकीयस्थलहरुमा भ्रमण गराइने जनाइएको छ । पुस १० गते नेर्पामा अवस्थित भुलभुले दूधकुण्ड, रुवालुङ झरना, झाँक्रीबास गुफा र पुस ११ गते ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफा, मानव सभ्यताको उद्गमस्थल किराँतीको आदिम भूमि तुवाचुङ जायाजुम, हलेसी महादेवस्थान, मारतीका गुम्बा, बसाहा थानलगायतका धार्मिक तथा पर्यटकीयस्थल भ्रमणमा लगिने जनाइएको छ ।

चौध जिल्ला रहेको प्रदेश नम्बर १ मा जिसस महासङ्घको भ्रमण वर्ष खोटाङबाट शुभारम्भ गर्ने कार्यक्रमले जिल्लामा एक लाख बढी पर्यटक भित्रिने अपेक्षा गरिएको संयोजक चाम्लिङले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष सीता सुन्दास, उपाध्यक्ष सन्तमान तामाङ, प्रवक्ता नवराज गेलाललगायतका पाहुना दिक्तेल आउनुहुने भएका छन् ।

जिल्ला समन्वय समिति खोटाङ व्यवस्थापक रहेर आयोजना हुने दुई दिने शुभारम्भ कार्यक्रममा आएका पाहुनालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चार, हलेसी तुवाचुङ नगरपालिकाको चार तथा अन्य आठ गाउँपालिकाको एक÷एक वटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरु समेटिएको फोटोफ्रेम मायाको चिनोस्वरुप प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

कार्यक्रम अवधिभर जिल्ला समन्वय समिति खोटाङको रु दुई लाख ५० हजार खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० पुस १६ गतेबाट शुरु हुँदैछ । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा जिल्लाका हरेक स्थानीय तहले पर्यटकीय क्षेत्रको सरसफाइ तथा स्तरोन्नतिको कामलाई तीव्रता दिएका छन् ।

त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायतका धार्मिक तथा पर्यटकीयस्थल सरसफाइ तथा स्तरोन्नति गरिएको हो । नेपाल भ्रमण वर्षको अवसर पारेर जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजनासमेत गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा १० दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐँसेलुखर्क गाउँपालिकामा ‘बराहपोखरी महोत्सव’ लगायतका कार्यक्रम तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here