सरकारबाट बाहिरिनु समृद्धिको विपक्षमाः आङ्वो

0
758

भद्रपुर।

प्रदेश नं. १का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो (मौसम) ले संविधान संशोधनको मुद्दा उठाएर सरकारबाट बाहिरिने खेल विकास र समृद्धिको विपक्षमा रहेको बताएका छन् ।

झापाको कचनकवल–७स्थित बालुवाडीमा शहीद स्मृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै मन्त्री आङ्वोले समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिनुकापछि संविधान संशोधन एउटा बहाना मात्रै भएको बताए ।

‘विना मौसम बजारमा खपतको निम्ति संविधानको मुद्दा उठाएर सरकारबाट बाहिरिने काम देशी र विदेशीको षड्यन्त्रमा भएको हो’– उनले भने– ‘सरकारबाट बाहिरिएर अस्थिरता निम्त्याउने, सडक आन्दोलनमार्फत देशलाई अस्तव्यस्त बनाउने र देशलाई पुरानै संरचनामा फर्काउने षड्यन्त्रमा लाग्नुको कुनै औचित्य छैन ।’

आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुने कुरा प्रधानमन्त्री र पार्टीले भनिसकेको बताउँदै उनले भने– ‘सरकारबाट बाहिरिँदा पनि जनादेशको बहुमतको सरकारलाई केही फरक पर्दैन ।’

संविधान संशोधनसँगै देशको विकास र समृद्धिको पक्षका लागि अन्य शक्तिलाई सामेल गरेर अघि बढ्न सरकार तयार रहेको उनको भनाइ छ । अहिले प्रदेश सरकार विकास र समृद्धिको पक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालकै होचो भूभाग कचनकवलको विकासको निम्ति प्रदेश सरकारले आवश्यकता अनुसार बजेट विनियोजन गर्दै आइरहेको बताए ।

शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष मोतीलाल राजवंशीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रदेश सांसद बसन्त बानियाँ, डिल्ली घिमिरे (हिक्मत) लगायतले बोलेका थिए । किरण लिम्बूले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मेदनी शिवाकोटीले गरेका थिए । प्रदेश सरकारको १० लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको सो भवनका लागि दुई कठ्ठा जग्गा प्रदान गर्ने दाता राममोहन राजवंशीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

यसैबीच आर्थिक मामिला तथा योजना मन्त्री आङ्वोले कचनकवल–७स्थित दीपज्योति सामुदायिक वन उपभोक्ता समूहको १२आंै वार्षिक साधारणसभाको उद्घाटन गरे । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री आङ्वोले वन उपभोक्ता महासंघले करको विषयमा गरेको आन्दोलनको कुनै औचित्य नरहेको बताए । तीनै तहको सरकारले कर नबढाएको बताउँदै उनले भने– ‘सडक आन्दोलन गरेर समस्याको समाधान हुँदैन, करको विषयमा चित्त नबुझे वार्ताकै माध्यमबाट समस्याको समाधान गर्न सकिन्छ ।’

कार्यक्रममा प्रदेश सांसद बानियाँ, प्रदेश सांसद ओमप्रकाश सरावगी, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, जिल्ला वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा सामुदायिक वनले एक लाख भन्दा बढी मूल्यको कचनकवल–७मा बसोबास गर्ने आफ्ना उपभोक्ताहरू मध्ये अति विपन्न ८० घरपरिवारलाई जाडोमा ओढ्ने कम्बल वितरण गरेको थियो ।

साधारणसभामा समितिका अध्यक्ष लिम्बूले साङ्गठनिक, सचिव पुष्पा कार्कीले वार्षिक योजना र लेखा समितिका संयोजक युवराज खत्रीले वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत कोषाध्यक्ष रीता सापकोटाले गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष श्याम घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here