रोगी मानिस !

0
1299

दिपेन राउत,

रोग लाग्नुभन्दा रोग लाग्न नदिनु राम्रो हो भनेर भनेता पनि रोग त लागि हाल्ने रहेछ । जब रोग लाग्छ मान्छेहरुलाई लाग्छ म मात्र रोगी हो, मेरो रोग नै ठूलो हो । समस्या मलाई मात्र हो । जब उपचार गर्न अस्पतालमा पुगिन्छ रोगीहरुको भिडभाड र रोगी देखेर अस्पतालमा आफ्नो रोग त सामान्य लाग्छ । यो मानवीय संस्कार हो हामी आफूलाई पर्दा बढी दुःखी हुन्छौं र अरुलाई आफूलाईभन्दा बढी रहेको पाउँदा आफ्नो पीडा भुल्न सक्छौं ।

भनिन्छ, मानिस आफ्नो सुखमा त्यति खुसी हुँदैन जति अरुको दुःखमा खुसी हुन्छ । जब कोही पनि मानिसलाई कुनै रोग लागेको पहिलो पटक थाहा हुन्छ उसलाई पहाड खसे झैं लाग्छ ! रोइ कराई गर्न मन लाग्छ ! कहाँ जाउँ के गरौं झंै लाग्छ ! आफ्ना सन्तान परिवारको विचल्ली हुने भो भन्ने सोच्छ ! मेरो मृत्यु भोलि नै हुन्छ झैं गर्छ ! यो सबै सोच्नु या कल्पना गर्नु स्वभाविक हो । तर, मानिसलाई रोग लाग्नु जीवनको अन्त्य होइन । विरामी हुनु भनेको हामीलाई सचेत बन्ने अवसर पनि हो । हाम्रो शरीरमा भएका कमी–कमजोरी पत्ता लाग्ने समय पनि हो ।

यो सब सोच्नु त्यसबेला सही पनि हुन सक्छ । तर, रोग लाग्ने बित्तिकै मरिँदैन यो सोच्न जरुरी छ । त्यसरी मनोबल गिराउनुभन्दा आत्मबल बढाउनु त्यस समयको आवश्यकता हो । दिनप्रतिदिन दिर्घरोगका कारणले परिवारले धान्न नसक्ने गरी विरामी बन्नु परेको पीडा हाम्रो समाजमा छ । रोग दिन प्रतिदिन महंगो बन्दै गएको छ । कति रोग त हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा रोग पत्ता नलागी मृत्यु भएका घटना हाम्रो समाजमा छ । अत्याधिक महँगो मेशिनका मूल्य र हाम्रो जस्तो गरीब राष्ट्रले धान्न नसके र पनि कति रोग पत्ता नलागी रोगीको मृत्यु हुन्छ । अन्य देशका जनता डाक्टर भएर विश्वसामू अब्बल डाक्टरमा गनिन सक्छन् । तर, हाम्रो देशमा अब्बल नहुन सक्छन् कारण मेशिनको सुविधा नहुनु । मानिस विभिन्न प्रकारका रोगले ग्रसित रहेका छन् । जसरी औषधिको आविष्कार र खोज हँुदैछ । त्यसरी नै नयाँ–नयाँ रोग पनि दिनप्रतिदिन मानिसमा देखिँदैछ ।

विश्वमा कति प्रकारका रोग छन् भनेर यकिन तथ्याङ्क नभए पनि आज विश्वले उच्च प्राथमिकतामा राखेको रोग क्यान्सर रहेको छ । एक सयभन्दा बढी प्रकारका क्यान्सर रोग हुन्छ भनेर एक अध्ययनले देखाएको छ । विश्वमा यो रोग तीव्रगतिमा बढ्दो छ । यसका उपचारका लागि विभिन्न औषधिहरु बनिरहेका छन् भने कति अनुसन्धानमा रहेका छन् । विश्व विकाससँगै क्यान्सरका अनुसन्धान र खोज गदै विभिन्न मेशिनहरु पनि आविष्कार भएका छन् । जसले सजिलै क्यान्सर रोग पत्ता लगाउन सकिन्छ । तर, विडम्वना यस्ता मेशिन हाम्रो देशमा बन्ने त होइन ल्याएर चलाउन सक्ने क्षमता पनि छैन ।

न लडे जानिँदैन, न परे भोगिँदैन भने झै विभिन्न डाक्टर र रोग र रोगीका आफन्तसँग साक्षात्कार गर्ने अवसर मिल्यो । २० वर्षदेखि क्यान्सरको औषधि खाइरहेको छु ठीकै छ मलाई भन्ने महिला विरामी पनि भेटँे, पाँच वर्षदेखि विदेश बस्दै गरेको मेरो छोरा अचानक विरामी परेर घर आयो यहाँ चेक गराउँदा त क्यान्सर रहेछ । हाल उसले कान सुन्न छाड्यो मलाई थाहा छ म उसलाई बचाउन सक्दिनँ । तर, पनि यो २५ बर्षको छोरोलाई उपचार गराउँदैछु –भन्दै पीडा सुनाउने विवश वाबु पनि भेटेँ । बीबीएस पढ्दै थियो अचानक बिरामी भएर ल्याएको त क्यान्सरको शंका गरी यहाँ पठाइ दिए आज बोनमेरो टेष्ट गरेको छन्, के रिपोर्ट आउँछ हेरौ भन्ने बाबुसँग पनि भेटेँ, अर्को १५ दिनपछिको भेटमा त अर्का बेडका कुरुवाले त्यो अस्तिको भाइ त बित्यो नि भन्दा आश्चर्य मान्नु परेको अवस्था पनि रह्यो ।

एक वर्षको बालकदेखि ६० वर्षको वृद्घसम्म क्यान्सरका विरामी भेटिरहँदा धेरै मानिस क्यान्सरबाट ग्रसित रहेको मैले पाएँ । के बालक, के पुरुष, के महिला, के वृद्घ रोगले साना–ठूला नभन्ने रहेछ । दूधे बालकलाई क्यान्सर कसरी लाग्छ होला । रोग लाग्न निश्चित उमेर नहुँदोरहेछ । धेरै रोग विभिन्न कारणबाट लाग्ने गर्छ । तर, क्यान्सर के कारणले लाग्छ भनेर यकिनसहित भन्न नसक्ने रहेछ डाक्टरले । मानिसको जन्मपछि मृत्यु अवश्य छ यो सत्यलाई विज्ञान वा कुनै पनि आविष्कारले रोक्न सक्दैन । मानिसको जन्मने समय हामीलाई थाहा हुन्छ । आमाको गर्भमा दश महिना बसिरहँदा आमा–बाबाले जन्मपश्चात आफ्नो सन्तानको लागि म यो गर्छु । म मेरो सन्तानलाई यस्तो मान्छे बनाउँछु भन्ने बच्चा जन्मनुभन्दा पहिले परिकल्पना गरेको हुन्छ । एउटा आमाले प्रसव पीडालाई खुशीमा परिणत गरेर सन्तान जन्माउनु, एउटा बाबुले बाहिरी पीडालाई सन्तान प्राप्तिको सुखमा दुःख र समस्यासँग जुध्ने क्षमताको विकास गरी जिम्मेवारी र कर्तव्यमा अटल रहनु सन्तान प्राप्तिलाई मान्नुपर्छ ।

ईश्वरको लीला अपरम्पार छ मानिसको जन्म सबैलाई पहिलै बाट थाहा हुने मृत्यु कसैलाई थाहा नहुने । जन्मने निश्चित समय हुने, जीवन भोगाइको निश्चित समय नहुने । जन्मदा नाङ्गै जन्मनुपर्ने मृत्यु पर्यन्त नाङ्गै जानुपर्ने । मानिसको मृत्यु निश्चित भएता पनि मृत्युमा दुःखी भइन्छ । मृत्युपछिको १३औं दिनको कर्म सकेपश्चात पिता–माता, छोराछोरी, श्रीमान्–श्रीमति जो कोही भए पनि बाच्नेले बिस्तारै अँगाल्नै पर्ने । भोक लाग्छ खानै पर्ने । निद्रा लाग्छ सुत्नै पर्ने । व्यवहार आइपर्छ चलाउनु नै पर्ने । आखिर मृत्युपश्चात भुल्नै पर्ने । अचानोको पीर खुकुरीलाई के थाहा भने झैं हरेक परिवार रोगी छ ।

कोही शारीरिक रोगी, कोही मानसिक रोगी, कोही आर्थिक रोगी कोही पारिवारिक रोगी, कोही राजनीतिक रोगी, कोही शैक्षिक रोगी, कोही नैतिक रोगी, कोही चारित्रिक रोगी, कोही धार्मिक रोगी, कोही सांस्कृतिक रोगी । मानिस रोगी कसैको कारणले हुँदैन । कसैले चाहेर पनि हँुदैन । रोग आफै हुने हुँदा रोगलाई हामीले थिच्न सक्नुपर्छ, मिच्न सक्नुपर्छ । जति बाँचिन्छ हासेर बाचौं । कसैले कसैलाई अपहेलना होइन सम्मान गरौं । बाबु–आमालाई जहिल्यै माया गरौं । सानालाई माया ठूलालाई सम्मान गरौं । दुःखी गरीबहरुको सेवा गरांै । बाबुआमा नभई छोराछोरी भइएन छोराछोरी नभई बाबुआमा बनिएन । सानो हँुदा बाबुआमाले हुर्काएको आफ्नो गाँस काटेर छोराछोरीलाई खुवाएको आफ्ना इच्छा चाहना छोराछोरीको चाहना पूर्तिमा खर्चेको अनि वृद्घ अवस्थामा बाबु–आमा घृणाको पात्र नसम्झौं यस्ता सोच पनि हामीभित्रका रोग हो । यस्तो रोगलाई कसैले नपालौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here