दुर्घटना न्यूनीकरणमा सर्वपक्षीय दायित्व

0
718

पूर्णबहादुर कटुवाल,

कुनै व्यक्ति वा वस्तुको हानी वा क्षति हुने आकस्मिक घटना वा अपर्झट आइपरेको कष्टपूर्ण अशुभ घटना दुर्घटना हो भनेर नेपाली बृहत शब्दकोषमा दुर्घटनालाई अथ्र्याइएको छ । तसर्थ, काबु बाहिरको परिस्थिति, दुई वा सोभन्दा बढि पक्षहरुबीचको कमजोरी वा लापरवाहीका कारणले कल्पनाभन्दा बाहिर नसोचेको घटना नै दुर्घटना हो । खासगरी सडक दुर्घटनामा दुई पक्षहरु नै बढी जिम्मेवार भइ, तिनीहरुको बेवास्ता वा लापरवाही वा कमजोरी, असावधानी आदि कारणले हामीबीच दिनहुँ यस्ता दर्दनाक घटनाको पुनरावृत्ति हुने गरेको छ । यस्ता दुर्घटनाबाट नेपालमा दैनिक आठ जनाले ज्यान गुमाइरहेको तथ्यांक अधिकारीहरुले सार्वजनिक गरेका छन् ।

सडका यातायात नेपालीलाई विकल्पहीन विकल्प हो । जलमार्गको सम्भावना नभएको रेलमार्गको विस्तार भइनसकेको र हवाईमार्ग अधिकांश नेपालीको पहुँच बाहिर रहेकोले सडक यातायात एकमात्र भरपर्दो यातायातको साधन र माध्यम हो । तर, सडक यातायात असुरक्षित बन्दै गइरहेको छ । सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दिनहुँ बढिरहेको छ । दिनुहुँ सयौं नेपालीले अकालमा ज्यान गुमाउनु परिरहेको छ । कतिपय मानिस जीवनभर अपाङ्ग भएर बाच्न बाध्य हुनु परेको छ । यस्तका दुर्घटनाले मानवीय क्षतिको साथै धनसम्पत्ति पनि त्यति नै क्षति भइरहेको छ ।

जब दुर्घटनाको संख्यामा वृद्धि हुँदै जान्छ यसको कारण र न्यूनीकरणका उपायबारे बहस शुरु हुन्छ । र, एकअर्कालाई दोषारोपणको काम शुरु हुन्छ, यो हाम्रो प्रवृत्ति नै भइसकेको छ । यसलाई न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने विषयमा र नीतिगत रुपमै के–कस्ता उपाय अवलम्वन गर्न सकिन्छ भन्ने सम्बन्धमा बहस, नीति निर्माण र कार्यान्वयनको पक्षमा नलाग्नु नै हाम्रा गम्भीर त्रुटी हुन् । अब यसतर्फ ध्यान गयो र हरेकले आ–आफ्नोे जिम्मेवारी बहन गर्यौं भने मात्र दुर्घटना न्यूनीकरणका बारेमा हाम्रा अभियान सार्थक हुनेछन् ।

सवारी दुर्घटना वर्षेनि वृद्धि हुँदै जानुमा धेरै पक्षहरु जिम्मेवार छन् । यस्ता कारणहरु हुँदाहुँदै पनि कतिपय अवस्थामा तिनलाई पूर्णता दिई दुर्घटना न्यूनीकरण गर्न सकिरहेको अवस्था छैन । यस्ता कारणलाई अध्ययन अनुसन्धान गरी अघि बढ्न राज्यको दायित्व हो भन्ने विषयमा दुईमत छैन । सामान्यतय सडक दुर्घटना न्यूनीकरण नहुनुमा निम्न कारणहरुलाई लिन सकिन्छ :

सडक निर्माण र विस्तारमा ढिलाई :

पछिल्लो तथ्यांक अनुसार मुलुकमा सडक विभाग मार्फत सामरिक सडक र स्थानीय सडक गरी कालोपत्रे र खण्डास्मित सडक ३० हजार किमीमात्र सडक निर्माण भएको छ । यो तथ्यांकलाई हेर्दा स्थानीय सरकारको गठन भएयता सडक विस्तारमा केही वृद्धि भएको देखिन्छ ।

सडक विस्तारको कार्य स्थानीय सरकारको पहलमा उल्लेख्य वृद्धि भए पनि बिना अध्ययन गरिएको यस्ता कार्यले दुर्घटना मात्र होइन प्राकृतिक जोखिम समेत बढ्दै गएको देखिएको छ । साथै हतारमा राजनीतिक दलहरुले जनतालाई छिट्टै राहत दिएर विश्वास जित्ने होडबाजीमा गरिएको यस्ता कार्यले वातावरणीय क्षति र असन्तुलन बढाउँदै गएको समेत गुनासाहरु वृद्धि भएका छन् ।

सवारीसाधनको आयातमा वृद्धि :

मुलुकको सडकको पूर्वाधारको अवस्थाको तुलनामा यातायातका साधनको अनियन्त्रित आयातको सन्तुलन नमिल्नु नै सडक दुर्घटनाको मुख्य कारण मान्न सकिन्छ । पछिल्लो तथ्यांक अनुसार मुलुकमा अहिले २० लाखको हाराहारीमा सवारी साधन दर्ता रहेका छन् । त्यसमध्ये सर्वसाधारणलाई सेवा दिनसक्ने बसको संख्या मात्र ३२ हजार रहेको छ । त्यस्तै विलासिताको रुपमा सर्वसाधरण अत्यधिक मात्रामा प्रयोग गर्दै आइरहेको मोटरसाइकलको संख्या भने १५ लाखको हाराहारीमा रहेको छ भने कार,जीप र भ्यानको संख्या एक लाख ५० हजारको संख्यामा रहेको छ । नागरिकको सेवाका लागि भित्रिने सवारीसाधनको आयातमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नीति वैज्ञानिक, व्यवहारिक र सन्तुलित देखिँदैन ।

किनकि सर्वसाधारणले प्रयोग गर्न सक्ने, पहुँच पुग्न सक्ने र प्रयोग गर्न प्रेरित गर्नुपर्ने ठूला सवारीसाधनको आयात कम रहेको छ भने निजी र विलासीताका सवारीसाधनलाई आयातमा बढी प्राथमिकता दिएको छ । त्यस्तै यो तथ्यांकका अतिरिक्त कृषि कार्यमा प्रयोग गरिने भनी आयात गरिएका ट्याक्टरको दुरुपयोग गरी सडकमा निर्वाध गुडाइएका छन् भने साना तीन पाङ्ग्रेदेखि मालवाहक ट्रक, ट्यांकर, डोजर, टिपर लगायतका साधन पनि दुर्घटनाका कारकतत्व सावित भएका छन् । सडक निर्माणको अवस्था र सवारीसाधनको आयातको अनुपातमा आकास पातालको फरकले समेत सडक दुर्घटना निम्तिएको पक्षलाई नकार्न सकिँदैन भने सवारी दर्ताको समयमा सडकको अवस्था, यात्रुको चापलाई मध्यनजर नगरिनु र अनुगमनको कमजोरीले पनि सडक दुर्घटना बढिरहेको छ ।

बिना अनुसन्धान सडक निर्माण :

दुर्गममा ग्रामीण क्षेत्रमा सडक विस्तार हुनु र सवारीसाधन गुड्नु स्थानीयबासीका लागि सुखद् र गर्वको विषय हो । अहिले यो कार्यले तिव्रता पनि पाएको छ । तर, सडक कस्तो बन्यो ? सडक बन्न भूगोलको अध्ययन गरियो कि गरिएन ? वातावरणीय र पर्यावरणी दृष्टिकोणले सडक निर्माण ठीक छ कि छैन ? भन्ने जस्ता विषयमा अध्ययन नगरी नै सडक निर्माण गरी विकास गरिने परम्परा रहेको छ ।

यस्तो विकासले विनास निम्त्याएका तिता दृश्य र यथार्थ हामीसामु लुकेका छैनन् । बिना परीक्षण र अनुसन्धान ग्रामीण क्षेत्र कै स्रोत र साधनले निर्माण गरिएका यस्ता सडक पनि दुर्घटनाका कारण बनेका छन् । स्थानीय सरकार गठन भएयता यस्ता ग्रामीण सडकहरु झण्डै पाँच हजार किमी बनिसकेको तथ्यांक रहेको छ ।

सडकको पुनः निर्माण नहुनु :

सडक निर्माण कार्य सुस्त छ । यो विषय आमरुपमा जगजाहेर भएको नै छ । भएका सडक पनि जीर्ण छन् । समय र परिस्थिति अनुसार सडक पुनः निर्माण भइरहेका छैनन् । बाक्लिदो जनसंख्याका अनुपात र ५० वर्षअघि निर्माण भएका सडकलाई अझसम्म पनि पुनः निर्माण र स्तरोन्नति नगरिनुले समेत दुर्घटना बढिरहेका छन् । धुलाम्मे र हिलाम्मे तथा साँघुरा सडकको जोखिमपूर्ण यात्रा गर्नु आम मानिसको बाध्यता बनेको छ, जुन दुर्घटनाको तातो कारण बन्न सक्छ ।

बढ्दो सडक अतिक्रमण :

जानी–जानी वा नजानेर हामी आफैले सडक अतिक्रमण गरेर सडक दुर्घटनालाई निम्त्याइरहेका छौं । सडकमै हाटबजार लगाउने, पशु चौपाया छाडा छोड्ने, सडकमै बिस्कुन सुकाउने, निर्माण सामग्री थुपार्ने, पसल थाप्ने, कर संकलनका नाममा ढाट वा घुम्ति राख्ने, जथाभावी पाकी गर्ने लगायतका कार्यले समेत दुर्घटना बढाएको छ ।

जीर्ण सवारीसाधन :

हामीले प्रयोग गर्ने अधिकांश सवारीसाधनको अवस्था सडकको जस्तै छ । ग्रामीण क्षेत्र, शहरी क्षेत्र र छोटो दुरीमा चल्ने सवारीसाधन अत्यन्त पुराना छन् । प्राविधिक र यान्त्रिक रुपमा परीक्षण गरेर सवारीसाधन प्रयोग गर्ने प्रचलन हामीकहाँ छैन । भए पनि औपचारिकतामै सीमित छ । जसले दुर्घटनालाई प्रश्रय दिइरहेको छ । त्यस्तै बढी भार राखेर यात्रा गर्नु र अनुभवहीन चालकबाट यात्रा गराइनु पनि दुर्घटनाको कारण बनेको छ ।

राजश्वको सही प्रयोग हुन नसक्नु ः वर्षेनि सडक बोर्डले सवारीसाधनवाट संकलन गरेका अर्बाैं राजश्वको सही प्रयोग भइरहेको छैन । यस्तो रकम सडक सुधारमा प्रयोग हुनुपर्ने हो । तर, त्यसो नभई सडकको अवस्थामा स्तरोन्नति नगरिँदा दुर्घटना न्यूनीकरण हुन सकिरहेको छैन ।

नाफामुखी यातायात व्यवसायी :

सार्वजनिक याातायातमा निजी क्षेत्रको लगानी छ । आफ्नो लगानी भएपछि मुनाफा कमाउनु नै उनीहरुको मुख्य काम हुन्छ । यसमा राज्यपक्ष नतमस्तक देखिन्छ । नागरिकको सेवाभन्दा पनि बढी मुनाफा कमाउने धुनमा पुराना सवारीसाधनको प्रयोग लामो समयसम्म गरिरहनु, बिना मर्मत सवारीसाधन गुडाउनु लगायत व्यक्तिगत स्वार्थ मै बढी केन्द्रीत भएकै कारणले पनि सडक दुर्घटना निम्तिएको छ ।

चालकको स्वभाव ः चालकको स्वभावले पनि दुर्घटना प्रभावित बनेको हुन्छ । तीव्रगतिमा सवारीसाधन गुडाउने, अस्वस्थ प्रतिष्पर्धा गर्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, हेलचेक्र्याइँ गर्ने, रिसाउने, झर्किने, जोखिम मोलेर अनुभवहीन यात्रा गराउन बाध्य वनाउने लगायतका चालकका स्वभावले पनि दुर्घटना हुने गर्दछ ।

सडक प्रयोगकर्तामा चेतनाको अभाव :

पैदलयात्रीको लापरवाहीले पनि सवारी दुर्घटना हुने गर्छ । कसरी सडक पार गर्ने भन्ने चेतना सामान्य नागरिकमा नभएकोले पनि सडक दुर्घटना हुने गरेको छ । त्यस्तै जुनसुकै प्रकारका सडक प्रयोककर्ता, यात्रु सबैमा सबै किसिमको चेतना अभाव नै देखिन्छ । फुटपाथ नहुनु र भए पनि यसको समुचित प्रयोग गर्न नजान्नु, झुण्डिएर र कोचीएर यात्रा गर्नु आदि पनि दुर्घटनाका कारण हुन् ।

दुर्घटनाका उपरोक्त कारणहरु सामान्यतयः दैनिक जीवनमा अनुभव गर्न र देख्न सकिने भए पनि यसका कारण अप्रत्याशित र अदृश्य पनि हुन सक्छन् । प्रहरी प्रशासन, राजनीतिक दल, स्थानीय सरकार, आम नागरिक, राज्यको नीति–नियम, कानून समेत कारकतत्व बन्न सक्छन् । यसका लागि आम क्षेत्र सजग भएमात्र सकारात्मक परिवर्तन आउन सम्भव छ । यसलाई न्यूनीकरण गर्न भने अवश्य सम्भव छ ।

दुर्घटना न्यूनीकारणका लागि प्राविधिकका पक्षमा समेत सुधार ल्याउन आवश्यक छ । सवारीसाधनको जाँच, रुट प्रयोगको प्रावधान, सवारी धनि, यसका कर्मचारी लगायतलाई राज्यले प्रशिक्षण दिन, निगरानी राख्न जरुरी छ । त्यस्तै भौतिक पूर्वाधार अन्तरगत सडक विस्तार, मर्मत, सवारीसाधन र पैदलयात्रीको लागि अलग–अलग सडकको व्यवस्थापन लगायतका विषयहरुमा सुधार गरिनुपर्छ । धेरै, थोरै होला तर दुर्घटना हुनुमा दोष सबै पक्षको छ । अरुलाई मात्र दोष दिएर आफू उम्कने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

तसर्थ, वातावरणीय पक्षको अध्ययन अनुसन्धानदेखि कानूनी प्रक्रियामा समेत सुधार गर्नु आवश्यक भएकाले भौतिक तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग सडक विभागसम्मका जिम्मेवार पक्षले सडक दुर्घटना न्यूनीकरणमा अहम् भूमिका खेल्न सक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here