चित्त शुद्धी आजको खाँचो

0
571

सम्पादकीय

अपराधविरुद्ध सचेतनासँगै कानूनी व्यवस्था थपिएकै अनुपातमा यतिबेला हिंसा र अपराधका घटनाहरु पनि बढ्दै गएका छन् । शान्तिकामी नेपालीमा यस्तो मानसिकता कसरी बलियो भइरहेछ, नकारात्मकता किन बढ्दैछ, खोज्ने बेला भइसक्यो । मानिसमात्र होइन सम्पूर्ण प्राणी जातिलाई समान ठान्नुपर्ने संस्कार संस्कृतिबाट हुर्किएको नेपाली समाजमा यस्तो परपीडक मानसिकता कसले र कुन स्वार्थले रोपिदिएको छ अथवा हामी किन नकारात्मकता, द्वन्द्व, बिग्रह र विसर्जनतर्फ उन्मुख भइरहेका छौं स्वयम्ले पनि समीक्षा गर्ने बेला भएको छ ।

अपराधका श्रृंखलामा युवतीलाई वलि दिन लाने तयारी गर्दागर्दै विराटनगरबाट सात जना पक्राउ परेको समाचारले मानवीयता मरेकै हो त ? भन्ने प्रश्न उब्जाएको छ । स–साना विषयमा विवाद, विमति र विरोध गर्दै आएको नेपाली समाजमा संस्कार र संस्कृतिविरुद्धका कतिपय आयातित विषयले घर बनाउँदै लगेको छ । जसका कारण परिवार विग्रहको डरलाग्दो खाडलमा पस्दैछ । आचार, नैतिकता मर्यादा, सामाजिक मूल्य र मान्यता कमजोर हुँदै गएर भौतिकता प्रतिको मोह बलियो भइरहेको छ । धन, बल, शक्ति र भौतिक वस्तुप्रतिको आकर्षणले मानवीय मूल्य र मान्यता अझ नेपाली जातिको मौलिक विशिष्टता विलयको संघारमा पुगेको छ ।

आँखा र बाह्य रमझममा हराउने बानी पर्न थालेको छ नेपाली समाजलाई । त्यसका लागि आचार–विचार, अनुशासन, कर्तव्य, निष्ठा र नैतिकता बेच्न पनि तयार हुन थालेको छ नेपाली मन । त्यसकै परिणाम हो वैदेशिक रोजगारको बढ्दो लर्को जसका कारण नेपाली अति मर्यादित पारिवारिक एकता भङ्ग हुन थालेको छ । नीति–अनीतिको भेद नदेखेर अनेक हिंसाका घटनाहरु बढ्दै गएका छन् । आफ्ना सन्तानलाई असल संस्कार सिकाउनुपर्ने समय आमाहरु नै विदेशमा रमाउन होड गर्दैछन् । सामाजिकता हराउँदै गएको छ, मानवीयता ब्रह्मनालमा लम्पसार भएको छ । हुँदाहुँदा पैसा र सुखको आकर्षणमा ‘बत्तीमा पुतली’ होमिए जस्तै नेपाली परिवार विघटन, विश्रृंखल र विसर्जनको चुली टेक्न पुगेको छ । त्यस्तै घटना मध्येको ‘बलि’ प्रकरण एउटा हो जहाँ पैसा प्रचार, प्रशिद्धि र प्रगतिका नामको मोहमा बेरिएर झन्डै–झन्डै ‘पुतली’ को नियति भोग्नु प¥यो ।

तन्त्र साधनामा पशु वा नर वलि सामान्य मानिन्थ्यो । त्यसकै साधनामा लाग्नेहरुले ‘वलि’ चढाएर सिद्धि प्राप्त गरेको कैयन कथाहरु सुनिएका पनि छन् । तर, आफूलाई जान्ने, पढेको र आधुनिक ठान्नु पर्ने युवती नै त्यस्तै प्रलोभनमा परेर कुनै षडयन्त्रको शिकार हुनु परेको भए त्यो चेतनालाई परिभाषित गर्नै सकिने थिएन । प्रहरीले अत्यन्त तदारुकता र सुझबुझ देखाएर अपराध कर्म हुनबाट त जोगायो । तर, यस घटनाले अरुहरुलाई चेतना दिन सकेन भने उपलब्धीमूलक हुँदैन । युवतीका नाममा दिनहुँ जस्तो भइरहेका अपराध कर्महरुका पछि को–को र के कुरा जिम्मेवार छन् समाजले त्यसको पनि मूल्यांकन गर्नुपर्छ ।

गरिबी, अशिक्षा अभावबाट शुरु भएको हिंसा र अपराध कर्महरुको स्वरुप फेरिएको सन्दर्भमा हामी स्वयम्ले मन, चित्त, भावना र विचारमा शृद्धता ल्याउन जरुरी छ । जबसम्म ‘सुनलाई हातको मैला’ भन्ने चिन्तन बलियो हुँदैन तबसम्म यस्ता अपराध घट्ने छैनन् । त्यसतर्फ सरकार लगायत सम्बद्ध सबैको ध्यान जानुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here