झापा ।

झापाको कमल गाउँपालिकाबाट जनअपेक्षा अनुसार काम नभएको आरोप लगाउदै असन्तुष्ट बनेका पालिकामा क्रियाशील प्रतिपक्षी दलहरुको साझा मोर्चाले कार्यपालिकाको ध्यानाकर्षण गरेको छ ।
नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी , क्रान्तीकारी नेकपा माओवादी र लिम्बुवान मञ्च तथा स्वतन्त्र नागरिकहरुको साझा मोर्चानै खडा गरेर आईतवार पालिकाको कार्यलय क्याम्पामा ध्यानाकर्षण सहितको मागपत्र पेस गर्यो । कमल गाउँबासीहरुमाथि विभिन्न शीर्षकमा चर्को कर लादिएको बिषयमा आईतवार गाउँ कार्यपालिका कार्यालयमा पुगेर उनीहरुले संयुक्त ज्ञापन पत्र वुझाए ।
कृषि योग्य जमिनमा लगाइएको सम्पत्ती कर सहित सबै खाले अव्यवहारिक कर खारेज गर्न र नागरिकहरुलाई परिवर्तित राज्य व्यवस्था अनुसार सुशासनको अनुभुति दिलाउन ज्ञापन पत्र मार्फत माग गरेको हो । जनप्रतिनिधिहरुलाई राज्यशक्तिको दुरुपयोग तत्काल रोकेर पालिकाबासीको भावनाको कदर गर्न समेत खबरदारी गरेको छ ।
गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ मार्फत ति दलले संयुक्त रुपमा बुझाएको ५ पृष्ठ लामो ज्ञापन पत्रमा न्यायिक समितिको कार्य सम्पादन राजनीतिक आस्था र विचारका आधारमा पूर्वाग्रही र मनोमानी ढंगबाट हुने गरेको भन्दै तत्काल सच्याउन ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै सरकारले किसानहरुका लागि ल्याएको कृषि अनुदान जनप्रतिनिधिहरु आफैंले आफ्नै एकाघर परिवारमा वितरण गरेर किसानहरुलाई विभेद गरेको, सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रम समेत प्रभावकारी ढंगबाट सञ्चालन नगरिएको, विकास निर्माणका योजनाहरुलाई पूर्णता दिन तदारुकता नदेखाएको, सडक, पूल, कल्भर्ट जस्ता पूर्वाधार विकासका योजनाहरुमा समेत राजनीतिक भेदभाव भईरहेको ज्ञापन पत्रमा उल्लेख छ ।
गाउँपालिका अन्तर्गतको सार्वजनिक तथा सरकारी सम्पत्तीको दुरुपयोग भईरहेको , सार्वजनिक जग्गाहरुमा अतिक्रमण बढेको भन्दै ज्ञापत्र पत्रमा तत्काल त्यस किसिमका त्रुटीहरु नसच्याए नागरिकहरु लोकतान्त्रिक विधि र प्रकृया अनुसार चरणबद्ध आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ । ज्ञापत्र पत्र बुझाउन ठुलो संख्यामा गाउँपालिका कार्यालय पुगेका मोर्चाका कार्यकर्ता र सर्वसाधारणले कार्यालय घेराउ गरेका थिए ।
सो क्रममा मोर्चाका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहेका गाउँपालिका अध्यक्षका प्रत्यासी हुकुमसिंह राई र समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राईले स्थानीय सरकारका गतिबिधि जनअपेक्षा विपरित हुँदा लोकतन्त्रनै खतरामा पर्ने वताए । नागरिकहरुले अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था आउने भन्दै मोर्चाको खबरदारीलाई कमजोर नआँकल्न चेतावनी दिएका थिए ।
गाउँपालिका अध्यक्ष काफ्लेले ज्ञापन पत्रमा आएका कुराहरुले स्थानीय सरकारलाई थप सकारात्मक बाटोमा डोहोरयाउँदै समृद्ध कमल गाउँपालिका बनाउनमा महत्वपूर्ण सहयोग पुग्ने बताईन । मोर्चाको माग र पालिकालाई ज्ञापन पत्र मार्फत दिएको सुझावलाई आफु र पालिकाले सकारात्मक रुपमा लिएको बताएकी थिईन ।


























