विप्लवबिरुद्ध प्रहरी आक्रामक: प्रदेश–१ मा ६६ जना पक्राउ, बाबुरामद्वारा उमा पक्राउको विरोध

0
1108

बिर्तामोड।

दुईतिहाईको कम्युनिष्ट सरकारले फरक विचार धारा भएका कम्युनिष्ट नेता तथा कार्यकर्ता पक्राउ गर्न थालेको भन्दै वर्तमान सरकारको आलोचना शुरु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले समाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । उनले विप्लव माओवादी नेतृ उमा भुजेल पक्राउको बिरोध गरेका हुन् । भट्टराईले समाजिक सञ्जालमा लेखेका छन्–उहिले खड्गप्रसाद गृहमन्त्री छँदा सिंहदरबार अगाडि खुकुरीको मार खाएर जनयुद्धमा लाग्नेहरू अहिले उनै खड्गप्रसाद प्रम हुँदा उनकै गृहमन्त्री बनेर जनयुद्धमा गोरखा जेलब्रेककी नायिका उमा भुजेललाई जेल हाल्न तम्सिनु इतिहासको कत्रो मजाक !

गत वर्षको चैत २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएसँगै धमाधम विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै विभिन्न आरोपमा जेल चलान गरिरहेको छ ।

शान्तिपूर्ण रुपमा आफ्नो गतिविधि गरिरहेको विप्लव नेतृत्वको माओवादीले एनसेल लगायतका वित्तीय संस्थामा बम बिस्फोट गराएको भन्दै सरकार विप्लव बिरुद्ध आक्रामक भएको हो । प्रतिबन्धसँगै भूमिगत भएको विप्लव समूहलाई प्रहरी निगरानीमा राखेर खोजी गरिरहेको छ । विप्लव समूहको दोस्रो तहका अधिकांश नेताहरु पक्राउ पर्न थालेका छन् ।

प्रदेश–५का व्यूरो इञ्चार्ज समेत रहेका हेमन्तप्रकाश वली केही महिना अघि नै पक्राउ परिसकेका छन् । त्यस्तै प्रदेश–१ अन्तर्गत मेची–कोशी व्यूरो इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएकी भुजेल पक्राउ परेसँगै पूर्वमा पनि विप्लव माओवादीको संरचना भत्किएको छ । भुजेल पक्राउको बिरोध गर्दै पूर्वसहयोद्धा समेत रहेका डाक्टर भट्टराईले प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।

यसैबीच प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)को खोजी तीब्र बनाएको छ भने पार्टीका प्रवक्ता समेत रहेका खड्गप्रसाद विश्वकर्मा(प्रकाण्ड) लाई समेत प्रहरीले खोजी गरिरहेको जनाएको छ । आफूहरुको वैचारिक लडाइँबिरुद्ध राज्य निर्मम तवरले प्रस्तुत भएको भन्दै विप्लव माओवादीले सरकारी कदमको बिरोध गरेको छ ।
प्रदेश–१मा प्रहरीले विप्लव माओवादीको खोजी तीब्र बनाएसंगै यसैक्रममा चालू आर्थिक वर्षको हालसम्ममा झापाबाट सबैभन्दा धेरै विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७६–०७७ को साउन महिनादेखि हालसम्म झापाबाट १७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । त्यस्तै संखुवासभाबाट १२ जना पक्राउ परेका छन् । सुनसरीबाट ९, मोरङबाट ८ जना, पाँचथरबाट ६ जना, उदयपुरबाट ५ जना, भोजपुरबाट ३ जना, खोटाङबाट २ जना, इलाम, ताप्लेजुङ, तेह्रथुम र सोलुखुम्बूबाट एक–एक जना पक्राउ परेका छन् ।

प्रदेश–१का १४ जिल्लामध्ये धनकुटा र ओखलढुङ्गाबाट कोही पक्राउ नगरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पक्राउ परेका सबैलाई हिंसात्मक गतिविधि गरेको तथा विभिन्न बिस्फोटमा संलग्न भएको आरोपमा प्रहरी मुद्दा दर्ता गरेको जनाइएको छ ।

प्रहरीले विप्लवको गतिविधि निगरानी गर्दै नेता तथा कार्यकर्ता पक्राउ अभियान नै सञ्चालन गरेको छ । वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुको सट्टा सत्ता पक्ष र आन्दोलनरत पक्ष आ–आफ्नै दाउमा रहेका छन् । जनस्तरबाट वार्ताबाट समस्याको समाधान खोज्न चर्को दाबाब परे पनि सरकारले चासो नदिँदा समाजमा हिंसा फैलिने डर कायम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here