ओम आचार्य,
ग्रहणमा अधि जोडिएपछि ‘अधिग्रहण’ हुन्छ । र, यो शब्दले आफ्नो स्वामित्वमा रहेका कुनै पनि वस्तु सरकारले ग्रहण गर्न सक्छ । त्यस्तै नायकमा अधि जोडिएपछि ‘अधिनायक’ हुन्छ । यसले पनि त्यस्तै अर्थ दिन्छ । राजनीतिमा, अर्थनीतिमा, शिक्षानीतिमा, सञ्चारनीतिमा अरु सबैको नायकतत्व हरण गरेर आफैले नायकतत्व ग्रहण गर्नु नै अधिनायक भनिन्छ, यसलाई सर्वसत्तावाद भनेर बुझ्दा पनि हुन्छ ।
अहिलेको वर्तमान ओली सरकार यही बाटोमा अग्रसर हँुदैछन् । उनको यो पथले राष्ट्रमा अस्तव्यस्ततालाई निम्तो दिन्छ र यसको नतिजा अर्थात् भोलि ओली पथले आफू र आफ्नो सरकार स्थापित गर्नु भन्दा पनि अर्कै शक्तिलाई स्थापित गर्ने मार्गप्रसस्त गर्दैछन् जस्तो देखिँदैछ । अहिलेको नेकपाको सरकारको अधिनायकवाद, सर्वसत्तावाद प्रवृत्तिले राजशाही व्यवस्थालाई समेत बिर्साउने गरी आफ्नो नेतृत्वको सरकारको परिचयको स्वरुप बनाउँदैछन् ।
राजनीतिमा शक्तिको वासना पाल्ने मानिस भौतिक वासना पाल्नेभन्दा धैरै नै खतरनाक, क्रुर, हिंस्रक र स्वार्थी हुन्छन् । यिनीहरुलाई मात्रै शक्ति चाहिन्छ, शक्ति र महान तथाकथित नेता बन्न चाहन्छन् । सहज बहुमत हुँदाहँुदै अन्य राजनीतिक दललाई समेत मन्त्रिमण्डलमा समावेश गरेर दुईतिहाई मत पु¥याउनु नै शक्ति वासनाको प्रमाण हो । र, यस्तो वासना पाल्ने राजनीतिक पार्टीको यस संसारमा कालान्तरमा पतन भएको पनि देखिएको छ । यिनीहरुमा कस्तो भावना हुन्छ भने सबै हामीहरुको अगाडि शिर झुकाउन, मलाइ राष्ट्रनायक घोषित गरुन्, यस्तै–यस्तै विकृत मानसिकता राजनीतिमा शक्ति वासना पाल्ने शासकमा देख्न पाइन्छ ।
अर्कोतर्फ संविधानमा भएको व्यवस्था अनुसार संसदमा र प्रदेश सभामा सभामुख र उपसभामुख एउटै पार्टीको रहने व्यवस्था छैन । एमाले र माओवादी एकीकरण पूर्व त ठीकै थियो । एकीकरण पश्चात एउटै पार्टी रहेको हुँदा एक पद छाड्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम त्यो नछाड्ने तर्क जसरी आइरहेछ त्यो संविधानको भावना विपरित प्रस्तुत भएको त देखिएकै छ । तर, मूल कुरा चाहिँ नेकपा पार्टीको शक्ति वासना नै हो । यस्तो वासना अब सर्वत्र देखिँदै जानेछ । जुन कुरा लोकतन्त्रको लागि खतराको संकेत हो ।
सरकार प्रमुख हुनेले राजदण्डको प्रयोग गर्छ । तर, त्यो शक्ति वासना पाल्नेले चाहिँ राजदण्ड गलत ठाउँमा प्रयोग गर्छन् । र, त्यही हुनाले नै तुलसीदासलाई अकवरले कैद गरे, मुगलहरुबाट शिखका दश गुरुले पनि राजदण्ड झेले, रोमन साम्राज्यमा पनि एक जनालाई सुलिमा बाँधेर राजदण्ड सुनाइ सुलिमा लटकाइयो, नेल्शन मण्डेलाले पनि राजदण्ड झेले र पुरै जिन्दगी जेलमा बिताए, चीनमा नै नोबेल पुरस्कार प्राप्त गरेका मानिसहरु राजदण्ड कै कारण सम्पूर्ण जीवन कारागारमा बिताउनु प¥यो ।
अहिले प्रधानमन्त्री केपी ओलीले यही शक्ति वासना पलाएको र पाल्दै गरेको देखिन्छ । यही राजदण्डको भय, डर र त्रास देखाएर विपक्षी दलका नेताहरुलाई निस्तेज गर्न खोजिँदैछ । अहिले यही राजदण्ड कै बलबुतामा आफ्नो राज्यसत्ता सञ्चालन गर्न लागीपरेका छन् । र, यस्तो अवस्थामा न्याय कानून अर्थात् कानूनी राज्य त्यो राजदण्डसँग हार्दै जान्छ ।
प्रधानमन्त्रीमा शक्ति वासना छ र त्यो वासनाको उदाहरण प्रधानमन्त्रीको कार्यालयमा गृहको गुप्तचर विभाग, अर्थको राजस्व अनुसन्धान विभाग लगायतका विभागहरु राख्नु शक्ति वासनाको प्रमाण हो । र, यी सबै शक्तिको भोक हो, वासना हो यस्तो भोक र वासना पाल्ने मानिस कहिल्यै तृप्त हुँदैनन् । र, यो भोक बढ्दै जानेछ जस्तो मानव अधिकार आयोग, पत्रकार आचारसंहिताका कुरा यिनै शक्ति वासनाले ल्याएका कुरा हुन् ।
चाहे राष्ट्र होस्, चाहे सरकार होस् र यिनीहरुको राजनीतिमा मुख्य उद्देश्य शक्ति प्राप्त गर्नु हो । र, त्यो शक्तिको प्रभावमा, दबाबमा आफूलाई स्थापित गर्दै जानु हो । आफ्नो विचारलाई लागू गर्दै जानु हो । तर, यहाँनेर त्यो शक्ति कसरी प्रयोग भइरहेछ र किन प्रयोग भइरहेछ त्यो चाहिँ राजनीतिक विश्लेषकहरुले, विचारकहरुले, मानव अधिकारवादीहरुले अध्ययन गर्ने नै छन् ।
अहिले नेकपाको शक्ति वासनाले गरेको राज्य सञ्चालनलाई वर्तमान नेपालको राजनीति मूल्यहीन भन्नुपर्ने हुन्छ । मूल्यहीन राजनीति मात्रैको भविष्य छैन र भोलिमाथि उल्लेख गरिएका राजनीतिक विश्लेषक, राजनीतिक विचारक र मानव अधिकारवादीको पनि यही निष्कर्ष आउँछ ।


























