अभिभावक र पीडितले सत्यतथ्य नबताउँदा खोजतलासमा समस्या

0
533

लक्ष्मी उप्रेती,मेचीनगर।

अभिभावक र पीडितले सत्यतथ्य नबताउने गरेकाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा खोजतलासमा कानूनी समस्या पर्ने गरेको बताइएको छ ।

मानव बेचविखन तथा ओसारपसारविरुद्घ सक्रिय माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयले पत्रकार सम्मेलन गरी यस्तो जनाएको हो । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले संस्थाले आफ्नो स्थापनाकालदेखि नै महिला, बालबालिकाको बेचबिखन, हिंसा लगायत उनीहरुविरुद्ध गरिने कुनै पनि प्रकारको हिंसालाई अन्त्य गर्न अहोरात्र क्रियाशील रहेको बताए ।

उनले महिला तथा बालबालिको बेचबिखन असुरक्षित आप्रवासन, महिला हिंसा लगायतका घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा १३ वटा आवधिक गृहरु तीन वटा रोकथाम गृह, दुईवटा स्नेह गृह, दुईवटा पुनःस्थापना गृह, एउटा बाल संरक्षण गृह, एउटा वटा प्राथमिक उपचार गृह मार्फत महिला तथा बालबालिकाहरुलाई सहयोग पु¥याउँदै आएको बताए ।

अवैधरुपमा भारत मणिपुर आसाम पु¥याएका एक सय ४७ महिला र ३२ पुरुष २०७५ फाल्गुन ७ गते र २०७६ जेष्ठ ९ गते भारतको मिजोमबाट २३ जना महिला संस्थाको सक्रियतामा नेपाल सरकार, भारत सरकार, विभिन्न सरकारी र गैर सरकारी संघ–संस्था, सञ्चारकर्मीहरुको सहयोगमा उद्धार गरी ल्याइएको संयोजक घिमिरेले बताए ।

आगामी दिनमा पनि सक्रियता निरन्तर रहने बताउँदै उनले एक हजारभन्दा बढीलाई अनौपचारिक शिक्षा र धेरैलाई औपचारिक शिक्षा दिइसकेको बताए । त्यस्तै उनले हजारौं प्रभावितहरुलाई संरक्षण प्रदान गरी नागरिकता प्राप्त गर्न स्थानीय निकाय, प्रहरी, जिल्ला प्रशासन कार्यालय समेतको सहयोग प्राप्त भएको तथा हाल यस संस्थाले पाँच जना बालिकाहरुलाई पढ्न विद्यालयमा पठाइरहेको जानकारी दिए ।

महिला तथा बालबालिका बेचविखनविरुद्ध कार्यरत् माइती नेपाल २०४९ चैत २४ गते केन्द्रीय कार्यालय काठमाडौं र २०५३ सालमा पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकरभिट्टामा स्थापना भई २७ वर्षदेखि महिला तथा बालबालिकाको हक अधिकार स्थापनार्थ क्रियाशील मुनाफा रहित गैरसरकारी संस्था भएको उनले बताए ।

मानव बेचविखनलाई अन्त्य गर्ने उद्देश्य रहेको संस्थाले रोकथाममूलक, उद्धार, संरक्षण एवम् पुनःस्थापना लगायत शिक्षा, सीप, कानूनी सहयोग र रोजगार जस्ता क्षेत्रमा कार्य गर्नुका साथै राज्यका विभिन्न सरोकारवालाहरुसँग सहकार्य, समन्वय र छलफल गरी मानव बेचविखन तथा लैङ्गिक हिंसा निराकरणका लागि पहल गर्दै आएको जनाइएको छ । संस्थाको स्थापना कालदेखि हालसम्म २०औं हजारभन्दा बढि महिला तथा बालबालिकाहरुलाई हिंसा र जोखिमपूर्ण अवस्थाबाट उद्धार एवम् आवासीय सेवा उपलब्ध गरिसकेको घिमिरेले जानकारी दिए ।

कार्यक्रममा संयोजक घिमिरेले सन् २०१८ र सन् २०१९ को दुई वर्षे प्रगति विवरण प्रस्तुत गरेका थिए । सन् २०१८ मा दुई सय ५९ जनालाई नाका रोकिएको भए पनि सन् २०१९ मा त्यो संख्या घटेर एक सय ६४ मा झरेको उनले बताए । त्यसैगरी अघिल्लो वर्ष भारतका विभिन्न स्थानबाट २४ जनालाई उद्घार गरिएपनि सन् २०१९ मा त्यो संख्या एकजनाले बढेर २५ पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बलात्कारका घटना क्रमशः पाँच र एउटा दर्ता भएको, हराएका क्रमशः एक सय ७९ र एक सय ५८ वटा निवेदन परे पनि क्रमशः ५८ र ४५ जना फेला परेको प्रतिवेदनमा उल्लेख छ । घरेलु हिंसाका क्रमशः तीन तथा एउटा घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here