खानेपानीका पदाधिकारीलाई राप्रपाको सम्मान

0
603

बिर्तामोड।

गत मंसीर २६ गते सम्पन्न बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा विजयी भएका पदाधिकारीहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी झापा समितिले बधाई तथा सम्मान गरेको छ ।

बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष जलकुमार गुरुङ, उपाध्यक्ष पर्शुराम सिटौला, सचिव मेघराज बाँस्तोला, कोषाध्यक्ष शारदा रिजाल, खुल्ला सदस्यहरु देवेन्द्र सिटौला, पारसमणि मैनाली, महिला सदस्यहरु माया प्रधान खड्गी, सीतादेवी काफ्ले, बालादेबी खरेललाई सम्मान गरिएको हो ।

उनीहरुलाई राप्रपाका केन्द्रीय सहमहामन्त्री भक्ति सिटौला, केन्द्रीय सदस्य राजकुमार पोखरेल, मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेल, जिल्ला उपाध्यक्ष कमल खरेल लगायतले बधाई तथा सम्मान गरेका थिए ।

सोही कार्यक्रममा रिर्पोटिङका लागि पुगेका पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेलाई समेत बधाई तथा सम्मान प्रकट गरिएको थियो । पाण्डे हालै नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा निर्वाचित भएका छन् । उनी कुनै पार्टीमा प्रत्यक्ष संलग्न नराख्ने भएकाले उनलाई बधाई तथा सम्मान गरिएको राप्रपाका जिल्ला सचिव केशवप्रसाद ओझाले बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सहमहामन्त्री भक्ति सिटौलाले बिर्तामोडबासीको माया उच्च भावनासहितको विजयी अमूल्य उपहार भएको बताउँदै प्रजातान्त्रिक शक्तिहरु एकजुट भएर अघि बढ्न मार्गनिर्देशन समेत भएको बताए । उनले प्रजातान्त्रिक शक्तिहरु सेवा, शान्तिबाट सबैको मन जितेर अघि बढ्ने गर्छन् । तर, कम्युनिष्टहरुको नीति निरंकुशता नै हो त्यसैले शान्ति र स्वतन्त्रताको लागि अब प्रजातान्त्रिक पार्टीहरु एकजुट हुन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा बिर्तामोड खानेपानीका नवनिर्वाचित अध्यक्ष जलकुमार गुरुङले बिर्तामोड खानेपानी दुईपटक नेपालकै उत्कृष्ट भइसकेको बताए । उनले बिर्तामोड खानेपानी संस्थाका संस्थापक अध्यक्ष टुरुप प्रसाई केन्द्रीय अध्यक्ष समेत भएकाले बिर्तामोड खानेपानीको साख उच्च रहेको बताए ।

उनले बार्षिक करिब ८० भन्दा बढी अन्य ठाउँका उपभोक्ता समितिका पदाधिकारीहरु बिर्तामोड खानेपानीमा अध्ययन अवलोकनमा आउने गरेको बताउँदै बिर्तामोड खानेपानीको राम्रो छविलाई बिगार्न चुनावका बेला अनुहारमा एसिड हाने जस्तै आक्रमण भए पनि सचेत जनताले आफूलाई विजयी बनाएको बताए । उनले अब बिजनेस प्लान अघि बढाउने समेत जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड नगर अध्यक्ष शंकर रिजालले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष अम्बरबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव केशव ओझाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here