देश विकासको लागि शिक्षा पहिलो पूर्वाधार–कार्की

0
591

लक्ष्मी उप्रेती/ मेचीनगर ।

संघीय सांसद सुरेन्द्रकुमार कार्कीले देश विकासको लागि शिक्षा पहिलो पूर्वाधार भएको बताएका छन् । जताततै सडक बनाउनु, खानेपानीको लाईन विस्तार गर्नु र विद्युत विस्तार गरेर मात्र देशको विकास नहुने भन्दैं उनले हरेकले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

सोमबार काँकरभिट्टा बहुमुमुखी क्याम्पसको २१ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको उद्घाटन गदैं कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सांसद् कार्कीले शैक्षिक संस्थालाई गुणस्तरीय बनाउन ‘स्टान्डर एजुकेशन’को आवश्यकता औल्याए । सुविधा सम्पन्न भवन, आर्कषक पोशाकले मात्र शिक्षाको गुणस्तर नसुध्रिने भन्दैं उनले शैक्षिक संस्थालाई कस्तो बनाउने हरेक शिक्षकमा भर पर्ने भएको हुँदा आधारभूतरुपमा शिक्षकमा निर्भर हुने विचार राखे । हरेक शैक्षिक संस्थामा शैक्षिक गतिविधि हुन जरुरी रहेको तथा प्राविधिक शिक्षाको खाँचो उनले औल्याए ।

शिक्षा भनेको हरेक व्यक्तिभित्रको प्रतिभालाई प्रस्फुटन गरी बाहिर ल्याउने साधन भएकाले जिन्दगीभरिको लागि उसभित्र रहेको तागत तथा सामाथ्र्यलाई शिक्षाले बाहिर ल्याउने भएकाले उ समाजमा कस्तो पहिचान बनाउन चाहान्छ उसैमा भरपर्ने बताए । अब देशमा माग अनुसारको दक्ष जनशक्ति उत्पादनमा जोड दिदैं सांसद कार्कीले २० वर्षमा कस्तो दक्ष जनशक्ति कतिको संख्यामा उत्पादन गर्ने राज्यले योजना बनाउनुपर्ने बताए ।

कस्तो शिक्षाको आवशयकता छ सरकार त्यस्तो शिक्षा प्रणालीमा जुट्नुपर्ने उनको भनाई थियो । विद्यार्थीको जग शिक्षकले बलियो बनाउनुपर्ने भन्दैं जग कमजोर भए भविष्य समेत कमजोर हुने भएकाले शिक्षकहरु त्यसमा सम्वेदनशील बन्नुपर्ने भनाई उनले राखे । सांसद् कार्कीले क्याम्पसको जग्गाको स्वामित्व अहिले सम्म क्याम्पसले नपाएको भन्दैं नगरभरिका यस्ता खालका समस्या एकमुष्टरुपमा लिएर आउन सुझाव दिए । यसमा आफ्नो पहल सधै रहने बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, , शिक्षासेवी बुद्घिनाथ पौडेल दाताकातर्फबाट धर्मकुमार गुरागाईँ काँकरभिट्टा खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष हर्क फियाक, सुशील आचार्य, कृष्णप्रसाद उप्रेती, धनप्रसाद गुरुङ, नारायणप्रसाद कोइराला, सनत अधिकारी, अशोक सुब्बा राधिका गुरुङलगायतले बोलेका थिए । उनीहरुले अहिले पनि क्याम्पसको अवस्था कमजोर भएको तथा जग्गाको स्वामित्व क्याम्पसको नाममा नभएको बताए । उनीहरुले जग्गाको स्वामित्व क्याम्पसका लागि पहल गरीदिन सांसद् कार्की समक्ष माग गरे ।

कार्यक्रममा प्रमुख अतिथि सांसद् कार्कीले अक्षयकोष दातामध्येका मोहनप्रकाश उप्रेती, शरदचन्द्र राई, धर्मकुमार गुरागाईँ तथा गंगाप्रसाद लुईटेललाई दोसल्लासहित सम्मान पत्र प्रदान गरेका थिए । सांसद कार्कीलगायत अन्य अतिथिहरुले प्रतियोगितात्मक कवि गोष्ठीमा प्रथम, दोस्रो तथा तेस्रो हुने बन्दना राई, दुर्गा भण्डारी र मीना गिरी तथा हाजिरीजवाफ प्रतियोगिताका क्रमस प्रथम, दोस्रो तथा तेस्रो हुने इष्ट होराइजन मावि, कवि शिरोमणि मावि र आदर्श माविलाई पुरस्कार प्रदान गरेका थिए । क्रिकेटतर्फ विजयी आदर्श माविले नगद ८ हजार रुपैयाँ तथा उपविजेता नर्थप्वाईन्ट माविले नगद ४ हजार रुपैयाँसहित शील्ड तथा प्रमाण पत्र हात पारे । आन्तरिक क्रिकेट प्रतियोगितातर्फ विविएस दास्रो वर्ष विजेता र विएड प्रथम वर्ष उपविजेता बन्यो ।

फुटबलमा धुलावारी मावि विजेता तथा अरुणोदय मावि उपविजेता बन्यो । दुवै विद्यालयले क्रमस नगद १० हजार र ५ हजार रुपैयाँसहित शील्ड तथा प्रमाण पत्र हात पारे । भलिबल आन्तरिकतर्फ विविएस प्रथम वर्ष विजेता र दोस्रो वर्ष उपविजेता बन्यो । बाह्यतर्फ काँकरभिट्टा मावि विजेता तथा अरुणोदय मावि उपविजेता बन्दैं नगद ८ हजार र ४ हजार रुपैयाँसहित शील्ड तथा प्रमाण पत्र हात पारे ।

चेस प्रतियोगितामा प्रभास सुवेदी प्रथम, रुपक पराजुली दोस्रो, तथा विनम सरदार तेस्रो घोषित भए । नृत्य प्रतियोगितातर्फ होलिवेल मावि प्रथम, नर्थप्वाइन्ट मावि दोस्रो तथा हिमालयन मावि तेस्रो भए । विजयी टोलीलाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरियो । चाँदनी गुरुङ, लक्ष्मी आले, सविना पौडेल, सुष्मिता खड्का, प्रकाश बासकोटा, संगीता उप्रेती केशव मिश्रलाई अन्तिम परीक्षा प्रशंसा तथा पुरस्कार वितरण गरियो । आन्तरिक परीक्षा प्रशंसा पत्र र पुरस्कार रिया दाहाल, रामचन्द्र ढकाल, दिपा पोखरेल, सुमित्रा टुडु र निरमाया खडकालाई प्रदान गरियो ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पसको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । शिक्षक लम्बोदर पौडेलले सञ्चालन तथा सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here