रमेश, तिमीलाई सलाम छ !

0
527

हरिकुमार प्रसाईं,

एक राष्ट्रभक्तको निष्कपट चासो ! सलाम छ तिम्रो अदम्य साहसलाई ! अहिले हामी एउटा गम्भीर चासोको सेरोफेरोमा गुज्रिरहेका छौं कि कहीँ मातृभूमि हराउने त होइन ? हामी सबै मातृभूमि नेपालका स्वाभिमानी सन्तानहरूलाई एउटा छटपटीले आक्रान्त बनाइरहेको यो घडी अवश्य नै यसरी महत्वपूर्ण छ कि विशालकाय दक्षिणी छिमेकी राष्ट्र भारतले विगत ५७ बर्षदेखि हाम्रो पश्चिम सिमानामा अवस्थित नेपाली भू–भाग ‘कालापानी’मा आफ्नो सेनाको क्याम्प खडा गरी अनवरत बस्तै आएको छ । नेपाल सरकारसँग बिना कुनै सम्झौता या सहमति हुँदाहुँदै हालै भारतले प्रकाशित गरेको भारतवर्षको मानचित्रमा त कालापानी मात्र होइन, आसपास मै रहेका नेपाली भू–भाग लिम्पियाधुरा र लिपुलेक समेत आफ्नै मानचित्रभित्र घुसाएको तथ्यगत खबरले हाम्रो रगत मात्र उमालेन ‘गो ब्याक इण्डिया फर्म आवर कालापानी, लिम्पियाधुरा एण्ड लिपुलेक’ लेखिएका ब्यानर र प्लेकार्ड बोकी छिमेकी भारतवर्षविरूद्ध सडकमा नारा धन्काउन हामीलाई बाध्य बनायो ।

किन हो नेपाल सरकार डरायो ? विपक्षी दलका नेता शेरबहादुर देउवा भारतीय राजदूत मन्जित सिंहलाई टेलिफोन गर्न पुगे । सडकको नारा अरू तेजले घन्कन थालेपछि नेपाल सरकारले नेपाली भाषामा लेखिएको पद र नाम नखुलाइएको सांकेतिक हस्ताक्षर भएको अत्यन्त छोटो विज्ञप्ती जारी ग¥यो । लाग्थ्यो नगर्नु पर्ने काम हुँदैछ÷गरिँदैछ भन्ने विक्षिप्त मनोविज्ञानबाट विज्ञप्ती ड्राफ्ट भएको हो । सडकमा नारा अरू बढी घन्कन थाले । बिशेषतः युवापंक्ति बढी नै आक्रोशित भएर सडकमा देखापर्न थाले । बाध्यात्मक अवस्था जस्तो ठानी सरकारले सर्वदलीय बैठकको आह्वान ग¥यो र बैठकले सीमामा भएको भारतीय अतिक्रमणीय हस्तक्षेपकाविरूद्धमा सर्वसम्मत निर्णय लियो ।

विभिन्न राजनीतिक दलका साना–ठूला नेतागणहरूले परम्परागत वक्तब्यबाजी र मन्तब्यबाजी गरिरहेकै सिलसिला चलिरहँदा अचानक एक दृष्टीविहीन प्रखरवक्ताको उपाधि दिन कञ्जुस्याइँ गर्नै नहुने देशभक्त र अन्यायको विरूद्ध सधैँ पहरो झैं उभिने धरान निवासी युवक ‘रमेश प्रसाई’ले हामी नेपाली जनतासँग रहेको जनस्तरको अन्योन्याश्रित ऐतिहासिक र सांस्कृतिक सम्बन्धमा भारत सरकारले नेपालको सीमा अतिक्रमण गरि दरार सृजना गरेको जानकारी हिन्दी भाषा मै बिद्युतीय सञ्चारमाध्यमबाट भारतीय जनतालाई दिँदा भारतीय जनस्तरबाट गम्भीर चासो व्यक्त गर्न शुरू भएको छ ।
रमेश प्रसाई एउटा दृष्टीविहीन युवा जसले कहिल्यै आफ्ना हातले कलम समाएर कुनै कुरो लेख्न पाएन, कुनै पनि भाषाका लिपी (अक्षर) देख्न र चिन्न सकेन, आफूलाई शिक्षा दिने गुरूहरूको मात्र होइन, जन्म दिने माता–पिता समेतको अनुहारको साक्षात स्वरूप देख्न पाएन । बिकराल प्राकृतिक भनौ या दैविक अन्यायको बाबजुद पनि कठोर मिहनेत र दृढ़ इच्छाशक्ति कै कारण उनले स्नातक तहसम्मको शिक्षा पूरा गरिसकेका छन् र कुनै पनि स्तरका अन्याय र अत्याचारको विरूद्धमा निर्धक्कसँग आफूलाई वाकशक्ति मार्फत खरो रूपमा प्रस्तुत गर्दछन् । उनको भौतिक ज्यान जति दुर्बल देखिन्छ । मानसिक क्षमता र विषयवस्तुको ज्ञान त्यतिकै सबल प्रबल र दृढ़ छ ।

राष्ट्र, राष्ट्रियता, मातृभूमि र राष्ट्रभक्तिसँग कुनै पनि शर्तमा सम्झौता गर्न नमान्ने एक सच्चा राष्ट्रभक्त भएर नै आज देशको सीमा अतिक्रमण भइरहँदा देशको शासन सत्ताको जिम्मा लिनेहरू थर–थर काँप्दै एक शब्द पनि मुखबाट निकाल्न नसकिरहेको अवस्थामा अदम्य साहसको परिचय दिँदै भारतीय जनतामाझ उनीहरूको सरकारलाई अतिक्रमित नेपालको भू–भागलाई छोडी आफ्नै सीमाभित्र फर्कन दवाब दिन नेपाली जनताको तर्फबाट विनम्र आह्वान गर्दै भारतीय जनताको नाममा वक्तब्य जारी गर्ने साहस गर्न सक्यो । रमेशले जो कुनै पनि नेताले आजसम्म हिम्मत र साहस गर्न सकेनन् । रमेशको यो बिद्युतीय माध्यममा प्रशारित श्रब्यदृष्य वक्तब्यले अहिले भारतका ठूला शहरहरूमा एउटा तरङ्ग उत्पन्न गरिदिएको छ कि त्यहाँको युवा समुदाय वक्तब्यको पक्षमा बहस गर्दै सार्वजनिक सञ्चारमाध्यममा प्रस्तुत हुन थालेका छन् । रमेशको वाक क्षमताको खुलेरै प्रशंसा गर्न थालेका छन् ।

रमेशले आफ्नो वक्तब्यमा खुलेरै कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत नेपालको दक्षिणी सिमानामा पश्चिम महाकालीदेखि पूर्वी सीमा मेची इलामसम्मका भारतले अतिक्रमण गरेका भू–भाग नेपाललाई फिर्ता गर्नुपर्छ र कालापानी क्षेत्रबाट भारतीय सेना यथाशीघ्र फिर्ता लानुपर्छ भन्दै भारतीय जनता माझ यस कार्यमा आफ्नो सरकारलाई दबाव दिइ सहयोग पु¥याइ दिन अनुरोध गरेका छन् ।

रमेशले आफ्नो वक्तव्यमा बारम्बार भारतबर्षको इतिहासको स्मरण गर्दै सबै छिमेकी राष्ट्रहरूसँग अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने बिशाल भारतबर्षले यस प्रकारको हर्कत गर्नु बिल्कुलै अशोभनीय भएको उथार्थ औंल्याएका छन् । अंग्रेजहरूको गुलाम भइरहँदा र गान्धी, नेहरू र आजाद हिन्दू फौजले अंग्रेज शासन विरोधी आन्दोलन चर्काइ रहँदा अंग्रेज शासकहरुले भारतीय जनतामाथि गरेको नाङ्गो दमन हेरेका देखेका र सुनेका हालका भारतीय शासकहरूले आफ्नै सहोदर छिमेकी माथि गरेको यो अतिक्रमणले उनीहरूलाई लज्जाबोध हुनुपर्ने होइन र भनेर प्रश्न तेस्र्याइ दिएका छन् ।

बारम्बार नेपाली नेताहरुले भारतीय स्वतन्त्रता संग्राममा खेलेको भूमिकाको प्रशंसा गोर्खा राइफलमा कार्यरत वीर नेपाली सेनाले भारतीय भूमि रक्षाको निमित्त दिएको बलिदान र कुर्वानीको प्रशंसा गर्न नथाक्ने भारतीय प्रधानमन्त्री मोदी किन आज नेपाल भारत सीमाको सही व्यवस्थापन गर्नुको सट्टा नेपाली भूगोलको सीमा अतिक्रमणमा उत्रेका छन् । तीन करोड़ नेपालीलाई चीत्तबुझ्दो जवाफ दिनुपर्छ भनेर प्रधानमन्त्री मोदीसँग उत्तर मागेका छन् रमेशले । यो रमेशको मात्र नभएर आम नेपालीको माग हो । प्रधानमन्त्री मोदीले सार्वजनिक रूपमा यो प्रश्नको उतर दिनैपर्छ ।

विश्व राजनीति जतासुकै जाओस्, युरोप अमेरिकाको नेपाल हेर्ने दृष्टिकोण जस्तोसुकै होस्, चीनका महामहिम सी जिगं पिगंको रेशममार्गी कुटनीतिको प्रभाव विश्वको जुनसुकै भूगोलमा जसरी नै परोस् । तर, मानव सभ्यताको इतिहासमा कुनै एक दिन पनि पराधीनको पीडा नभोगेको हामी नेपालीहरूका पुर्खाहरूको अदम्य साहस र पराक्रमले पराधीन हुनबाट बचाएको यो देवभूमि, तपोभूमि र वीरवीरङ्गानाको नामबाट चिनिएको यो वीरभूमिको एक–एक इञ्च माटोको रक्षा गर्न हामी सम्पूर्ण नेपाली तयार छौं । महशुस गर्छौ आफै फर्केर जाउ होइन भने बढाउ तिम्रो सेना तीन करोड स्वाभिमानी नेपाली आफ्नो मातृभूमि माथिको अतिक्रमणविरूद्ध बलिदान गर्न तिमीले मिचेको सिमानामा लामबद्ध हुनेछन् । तिम्रा बन्दुकका गोलीको प्रवाह नगरी अनि चिन्ने छ तिमीलाई संसारले भारतबर्ष के रहेछ भनेर र वीर नेपालीको वीरता कस्तो रहेछ भनेर ?

यिनै त होलान् रमेश तिमीले हामी तीन करोड़ नेपालीलाई दिन खोजेको सन्देश होइन र ? तिम्रो देशभक्ति, राष्ट्रप्रेम, उच्चतम् मानसिक स्तर, स्तरीय अध्ययनशील चिन्तन र अदम्य साहसको प्रशसा नगरी मन मानेन र यो छोटो स्तम्भ लेख्न औंला जुर्मुराए, लेखें । यो होइन कि तिमी मेरा भाइ पर्छौं या म तिम्रो दाजु पर्छु नातो त स्वाभिमानको, अपराधीन स्वतन्त्रताको, निडरताको, साहसी पुर्खाका सन्तानको, मातृभूमिको माटोको र दुष्मनले मातृभूमिमा हमला गर्दा बोल्न र लेख्न सक्ने आँटको पो रहेछ र त मलाइ पनि मेरो ब्रम्हले अरायो लेख केही लेख रमेश बोली सक्यो छिटो लेख भनेर !
अन्त्यमा रमेश सलाम छ तिम्रो त्यो निस्कपट सोचलाई अनि अदम्य साहसलाई सलाम ! सलाम ! सलाम ! जय ! जय ! जय ! अपराधीन मातृभूमि ! नेपाल !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here