पत्रकार महासङ्घको छानबिन समिति गठन

0
356

इनरुवा, 

नेपाल पत्रकार महासङ्घ सुनसरीले दुई पत्रकारको सदस्यताका विषयमा छानबिन समिति गठन गरेको छ ।

महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा बसेको बैठकले महासङ्घ सुनसरीका सदस्य चन्दन रौनियार र विजय राईको सदस्यता राख्ने वा खारेज गर्ने भन्ने विषयमा छानबिन गर्नका लागि समिति गठन गरेको हो । महासङ्घ सुनसरीका महिला उपाध्यक्ष शुभद्रा प्याकुरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको महासङ्घ सुनसरीका सचिव हिमाल दाहालले बताउनुभयो ।

समितिको सदस्यमा ध्रु्रव ढकाल र दिनेश गजमेर रहनुभएको महासङ्घले जनाएको छ । केही दिन अगाडि सुनसरीको दुहबीमा ऐम्बुलन्स चालकलाई कुटपिट गरेर प्रहरीको हिरासतमा रौनियार गएका थिए भने राई लागुऔषध सेवनमा प्रहरीको नियन्त्रणमा परेका थिए । दुवै अहिले धरौटीमा रिहा भएका छन् ।

रौनियार र राईको कामले समस्त पत्रकारिता क्षेत्र बदनाम भएको भन्दै उनीहरुको सदस्यता राख्ने वा खारेज गर्ने भन्ने विषयमा छानबिन गर्नका लागि समिति गठन गरिएको हो । त्यसैगरी केही दिन अगाडि महासङ्घका सुनसरी उपाध्यक्ष सन्तोष काफ्लेमाथि भएको आक्रमणको मुद्दाको विषयमा सहयोग गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा महिला उपाध्यक्ष प्याकुरेल, महासङ्घ सुनसरीका सदस्य अजितकुमार झा र अर्जुन सुवेदी सदस्य रहेको महासङ्घका सचिव दाहालले बताउनुभयो । समितिले काफ्लेको मुद्दाको विषयमा सरकारी वकिल, अन्य वकिल, सुरक्षा निकायसँग सहकार्य गर्नका लागि समिति गठन गरेको हो ।

त्यसैगरी महासङ्घले नयाँ सदस्यका लागि सदस्यता भर्न आह्वान गरेको छ भने शुद्धीकरण अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुनसरीमा कतिपय गैरपत्रकारले समेत पत्रकार महासङ्घको सदस्यता लिएकाले उनीहरुको सदस्यता खारेज गर्नका लागि सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको महासङ्घ सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here