झापा।

सर्वोच्च अदालतले सुगौली सन्धि हुँदा प्रयोग भएको नेपालको आधिकारिक नक्साको प्रतिलिपिसहित पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा सो लिखित जवाफ माग गरेको हो । आदेशमा भनिएको छ, “सरकारको कुनै निकायमा नेपालको आधिकारिक नक्सा भए त्यसको प्रमाणित प्रतिलिपि तथा सो नक्सा बनाउँदाको इतिहासिक पृष्ठभूमि उल्लेख गर्ने सन् १८१६ को सुगौली सन्धिको अनुसूचीसहितको प्रतिलिपि पेश गर्नु ।”
त्यस्तै, आदेशमा सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य हुँदा तथा अन्य अन्तर्रा्ष्ट्रिय वा क्षेत्रीय सङ्गठनहरुको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्शाउने कुनै सन्धि, नक्सा वा दस्तावेज पेश गरेको भए त्यसको प्रतिलिपिसमेत पेश गर्न आदेश दिएको छ ।
आदेशमा राष्ट्रिय योजना आयोग तथा अन्य कुनै निकायमा नेपालको नक्सा सम्बन्धमा कुनै कार्य भएको भए त्यस्ता सामग्री वा नेपालको दार्चुला जिल्लास्थित लिम्पियाधुराको क्षेत्रको प्रश्न समाधान गर्ने अन्य कुनै राष्ट्रिय वा अन्तर्रा्ष्ट्रिय रुपमा उपलब्ध सामग्रीहरु सिंहदरबारबाट झिकाई नियमानुसार पेश गर्नु भनिएको छ ।
वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दैै अदालतले सो आदेश जारी गरेको हो । यसअघि अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र फणीन्द्र नेपालले दायर गरेको रिट निवेदन पनि सँगै राख्ने आदेशमा उल्लेख छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताउनुभएको छ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको सप्ताहव्यापी रचनात्मक कार्यक्रमको समापन समारोहमा उहाँले राष्ट्रलाई सङ्कट पर्दा युवा विद्यार्थीले खेलेको भूमिकालाई सधैँ स्मरण गर्नुपर्ने बताउनुभयो ।
युवा, विद्यार्थीकै कारण ठूलाठूला आन्दोलनले सफलता पाएको भन्दै भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई फिर्ता ल्याउन फेरि युवा विद्यार्थी एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो । “लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत विभिन्न क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सबै नेपाली जुट्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “स्वाभिमानी पुर्खाको विरासतलाई जोगाइराख्न अहिलेको पुस्ता गम्भीर बन्नु जरुरी छ ।”
उहाँले अहिले शक्ति सम्पन्न राष्ट्रका रुपमा स्थापित केही राष्ट्र तत्कालीन समयमा अन्य राष्ट्रको उपनिवेशमा रहँदासमेत नेपाल स्वतन्त्र रहेको स्मरण गराउनुभयो । राष्ट्रियता कमजोर हुने सवालमा नेपालीले कसैसँग पनि सम्झौता नगर्ने उहाँले जिकिर गर्नुभयो । श्रेष्ठले वर्तमान सरकारले औपचारिकरुपमा भारतलाई पत्र लेखी अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा पहलकदमी अघि बढाएकाले समाधान निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।
दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकार सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणको अभियानमा लागेको बताउँदै उहाँले कृषि, पर्यटन र जलविद्युत्का माध्यमबाट समृद्धिको अभियानले सार्थकता पाउने धारणा राख्नुभयो । उहाँले वर्तमान सरकारले नागरिकले अनुभूति गर्ने ढङ्गले विकास निर्माणका कार्यलाई सम्पन्न गर्ने बताउनुभयो ।
स्ववियुले आरआर क्याम्पसमा लामो समय प्राध्यापन गराई हालसालै कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वा्चित सांसद विद्या भट्टराईलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका श्रेष्ठले भट्टराईलाई सम्मान पत्रबाट सम्मानित गर्नुभयो । स्ववियुले सप्ताहव्यापी रचनात्मक कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कृत गरेको छ ।































