सुरक्षित बन्दै बिर्तामोड

0
1619

बिर्तामोड।

जिल्लामै सबैभन्दा बढी आपराधिक गतिविधि हुने स्थानका रुपमा चिनिन्छ बिर्तामोडलाई । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा पहिचान बनाएको बिर्तामोड पूर्वका इलाम, पाँचथर र ताप्लेजुङसहित भारतका विभिन्न ठाउँका नागरिकलाई बस्न समेत पायक पर्ने भएकाले पनि सबैको रोजाइमा पर्ने गरेको छ ।

त्यसमाथि प्रतिदिन बिर्तामोड शहरउन्मुख हुँदै गएका कारण यहाँको जनघनत्व ह्वात्तै बढेको छ । जसका कारण आपराधिक मानसिकता बोकेका मानिस सहज रुपमा बिर्तामोड र बिर्तामोड आसपास बस्ने गरेका छन् ।

व्यापारिक, शैक्षिक र स्वास्थ्य उपचारका लागि समेत बिर्तामोड ‘हब’ बन्दै गएका कारण अधिकांशको रोजाइमा छ । खुल्ला सीमानाका कारण पूर्वी नाका काँकरभिट्टाबाट सहज रुपमा सामान ओसारपसार गर्न सकिने भएकाले पनि कतिपयले बिर्तामोडलाई रोजेका छन् । कतिपय कारोवारीले आफ्नो कारोवारको मुख्य थलो बिर्तामोडलाई बनाएका कारण यहाँ के कस्ता मानिस कति बसोवास गर्छन् भन्ने प्रहरी प्रशासनलाई सुइँको समेत हुँदैन । त्यसमाथि पनि सहजताका हिसाबले हरेक कारोवारीले आफ्नो व्यवसाय यहींबाट गर्ने हुँदा अपराधका घटना यही ठाउँमा बढी हुने गरेका छन् ।

जिल्लामै सबैभन्दा बढी मुद्दा दर्ता हुने इलाका प्रहरी कार्यालय अनारमनी हो । यो बिर्तामोड नगरपालिकाभित्रै रहेको छ । यहाँ अन्य इलाका प्रहरी कार्यालयको तुलनामा दोब्बरभन्दा बढी मुद्दा दर्ता हुन्छन् । प्रहरीको पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्ने हो भने इलाका प्रहरी कार्यालय अनारमनीमा २ सय २० वटा मुद्दा दर्ता भएका छन् । त्यसमा सबैभन्दा बढी मुद्दा अपराधजन्य छन् । मुद्दामा संलग्न मध्ये ३ सय ५० व्यक्तिलाई प्रहरीले कारवाही नै चलाएको छ ।

बिगतको तुलनामा अपराधजन्य घटनामा कमी आए पनि जिल्लाको अन्य स्थानभन्दा बिर्तामोडमा धेरै अपराधका घटना घटेका छन् । जसमध्ये हनी ट्यापिङ, नक्कली एयर होस्टेज, वेश्यावृत्ति, लागू औषध, बम विष्फोट, ठगी, तस्करी जस्ता घटना प्रमुख हुन् । तर, ती सबै घटनामा प्रहरी नायव उपरीक्षक मोहन थापाले सफलतापूर्वक आपराधिक गतिविधिमा संलग्नको पहिचान गर्दै कारवाही गर्न सफल भएका छन् ।

आठ महिने कार्यकालमा उनले अनारमनी प्रहरी कार्यालय मातहतमा हुने गरेका सबै घटनाको सफल अनुसन्धान गरेका छन् । प्रहरी नायव उपरीक्षक थापा गत जेठमा झापा आएका थिए । उनी आएपछि साउन १ गते बिर्तामोड–४ निवासी अमरजीत साहलाई महिलाको प्रयोग गरी अपहरण गरेर ४० लाख रुपैयाँ माग्ने गिरोहलाई नै प्रहरीले पक्राउ गर्न सफल भयो । साहलाई झुठो माया जालमा पार्दै एक युवतीले कोठामा पु¥याएर शरीर बन्धक बनाई कुटपिट गर्दै नाङ्गै बनाएर भिडियो खिचेर ४० लाख मागेपछि उनी मागे जति रकम दिने शर्तमा फुत्किएका थिए ।

प्रहरीले सो घटनामा संलग्न हन्टर सुजन, सञ्जु क्षेत्री भन्ने सुजन शंकर, मेराज खान, पिके भन्ने प्रकाश चन्द्र दास, काशिद आलम भन्ने मोहमद काशेक शेखलाई पक्राउ गरी कारवाही अघि बढाएको थियो । घटनामा प्रयोग गरिएको एक थान सवारी समेत प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही अघि बढाएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

त्यस्तै सात वर्षदेखि ठगी धन्दा गर्दै आएको व्यक्ति पक्राउ गर्दै कानूनी कारवाही अघि बढाइएको छ । फेसवुक लगायत सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग नजिक भई फकाई, प्रलोभनमा पारी क्यानडा लैजान्छु भन्दै सन् २०१२ देखि हालसम्म करिव आठ सय व्यक्तिहरुवाट करोडांै ठगी गरेर फरार भएका मोरङ उर्लावारी निवासी रामबहादुर खड्कालाई पक्राउ गरी कारवाही शुरु गरिएको थापाले जानकारी दिए ।

यता आफूलाई एयर होस्टेज भन्दै ठगी गर्ने महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । जेट एयरलाइन्सको एयर होस्टेज हुँ भनी विभिन्न नाममा नक्कली फेसवुक आइडी खोली विभिन्न व्यक्तिहरुसंग साथी बनी प्रेम तथा विवाह गर्ने नाटक गर्दै केही युवाहरुसंग रकम ठगी गर्ने अर्जुनधारा नगरपालिका वडा नं. ६ बस्ने तविता राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई समेत प्रहरीले कानूनी कारवाही अघि बढाएर पीडितलाई न्याय दिन सफल भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहको नेकपालाई सरकारले प्रतिवन्ध लगाएसंगै पूर्वका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम विष्फोट र आगजनीका घटनामा सम्लग्नलाई समेत पक्राउ गर्न अनारमनी प्रहरी सफल भएको छ । विर्तामोड–८ वडा कार्यालय तथा सहारा नेपाल सहकारी संस्था, एनसेलका टावरमा आगजनी तथा विष्फोटन, विष्फोटक पदार्थ भण्डारण, जवरजस्ती चन्दा असुली गर्ने गराउने जस्ता आपराधिक गतिविधिमा संलग्न विप्लव समूहका ११ जना व्यक्तिलाई अनारमनी प्रहरीले पक्राउ गर्दै कारवाही अघि बढाएको छ ।

विप्लव समूहले कार्यालय स्थापना गरेको घर कोठा पत्ता लगाई उक्त कोठावाट कटुवा पेस्तोल २ थान र यसमा लाग्ने गोली ४ थान, हतियार, विभिन्न दस्तावेज, छाप, प्याडहरु बरामद गरेको छ भने लुकाईछिपाई राखेको २०५ थान कडा विष्फोटक पदार्थ बरामद गरेको छ ।

त्यस्तै कन्काई माई पुलमा प्रेसर कुकर बम राख्ने ५ जनालाई पक्राउ गर्दै अदालतको आदेशमा उनीहरु जेल चलान भएका छन् । बिर्तामोडमा लामो समयदेखि हुँदै आएको वेश्यावृत्ति नियन्त्रणका लागि प्रहरी नायव उपरीक्षक थापाले अभियान नै चलाए । उनले वेश्यावृत्तिमा सम्लग्नहरुलाई मुद्दा नै चलाएर कारवाही अघि बढाएका छन् । जसका कारण केही व्यक्ति जेल समेत परेका छन् । विर्तामोडमा रहेका विभिन्न होटलहरुमा वेश्यावृत्तिमा लगाइएका ५ जना बालिकाहरुलाई उद्धार गरी ६ जना होटल सञ्चालकहरुलाई पक्राउ गरी मुद्दा चलाइएकोमा उनीहरु सबै कारागार चलान भएको प्रहरी उपरीक्षक थापाले बताए ।

अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्ल्याट भाडामा लिई सञ्चालन गरिरहेको यौन अखडाबाट १० जना महिलाहरुलाई प्रहरीले उद्धार गर्दै आफन्तको जिम्मा लगाएको छ । वेश्यावृत्ति नियन्त्रणका लागि कडाइ गरे पश्चात विर्तामोड र आसपासमा हुने गरेको वेश्यावृत्ति ८० प्रतिशतले घटेको प्रहरीको दावी छ ।

लागूऔषध कारोवारीका लागि ट्राञ्जिट पोइन्ट हो– बिर्तामोड । बिर्तामोड केन्द्रीत भएर हुँदै आएको लागूऔषध ओसारपसार तथा बेचविखनको कार्यलाई प्रहरीले सूक्ष्म अध्ययन गरी बिर्तामोडभित्रका विभिन्न स्थानहरुमा लामो समयदेखि लागूऔषध ब्राउन सुगर विक्री वितरण तथा ओसारपसारको कार्यमा संलग्न ७ जना ठूला कारोवारीहरुलाई पक्राउ गर्दै कारवाही अघि बढाएको छ । प्रहरीले उनीहरुको साथबाट ११४ ग्राम, ९२ ग्राम, ५२ ग्राम र ४५ ग्राम लागू औषध खैरो हेरोइन र २ वटा गाडी र १ मोटरसाइकल समेत पक्राउ गरी कारवाही अघि बढाएको छ ।

करिव २ दर्जन भन्दा बढी लागूऔषध कारोवारीलाई खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आठ महिनाको अवधिमा चोरी नियन्त्रणतर्फ प्रहरीले दमक, माईधार, झिलझिले, राजगढ, विर्तामोड समेतको एरियाबाट विभिन्न मोडेलको विभिन्न नम्बरको चोरी भएका मोटरसाइकलहरु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरीको टोलीले २६ वटा मोटरसाइकल बरामद गर्दै कारोवारीमा सम्लग्न सात जनालाई पक्राउ गरेको छ । बिर्तामोडका विभिन्न स्थानहरुवाट गाडीको व्याट्रीहरु चोरी गर्ने व्यक्तिहरुलाई २० थान व्याट्रीसहित नियन्त्रणमा लिएको छ भने भारतीय भिआइपी चोर समेत पक्राउ गर्दै कारवाही अघि बढाइएको छ ।

कात्तिक १३ गते बिर्तामोड–५ पूर्व पश्चिम महेन्द्र राजमार्ग स्थित सार्वजनिक सडकमा भारतीय नागरिक रघुबरप्रसाद साहलाई भारतीय सवारी डब्लूवी ७४ ए एम २७२४ नम्बरको गाडीसहित विभिन्न घरवाट चोरी गरेको सुनचाँदी, नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेष्ठ महिना यता हालसम्म करिव ३५ लाख वरावरको अवैध भन्सार, कर छलीका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि मेची भन्सार तथा राजश्व कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

त्यस्तै गोरुतस्करी नियन्त्रणमा समेत उल्लेख्य भूमिका निर्वाह गरेका थापा र जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी उपरीक्षक दिनेशराज मैनालीले तस्करी नियन्त्रणका लागि पहल गर्दा उल्टै मुद्दाको सामना गर्नु प¥यो । कात्तिक १९ गते कनकाई नगरपालिका–३ तुलसीबारीबाट दुई ट्रकमा राखेर ४९ वटा पशु चौपाया भारत लैजाँदै गर्दा गोरु नियन्त्रणमा लिई भद्रपुर भन्सार कार्यालय पठाइएको थियो । सोही घटनावाट गोरु तस्करीमा संलग्नले प्रहरीलाई उल्टै मुद्दा दायर गरेका थिए । उच्च अदालतले गोरुको कारोवार गर्नेकै पक्षमा मुद्दा फैसला गरेपछि अहिले गोरु तस्करीको विषयमा वुझ्न गृह मन्त्रालयको एक टोली झापामा छ ।

प्रहरीले योसँगै घरेलु मदिरा नियन्त्रणका क्षेत्रमा समेत उल्लेख्य काम गरेको छ । करिब सात हजार लिटर मदिरा बरामद गर्दै अनारमनी प्रहरीले नष्ट गरेको छ । समुदाय साझेदारी कार्यक्रम अन्तर्गत स्कूल तथा कलेज तथा विभिन्न समुदायहरुमा ५९ वटा सचेनतामूलक कार्यक्रम, सार्वजनिक सुनुवाई, सुरक्षा सम्वन्धी अन्तरक्रिया गर्दै शान्ति सुरक्षाका क्षेत्रमा इलाका प्रहरी कार्यालय अनारमनीले आपराधिक गतिविधिको थलोको रुपमा चिनिएको बिर्तामोडलाई सुरक्षित बनाउने सिलसिलामा घरधनी र डेरावालको विवरण राख्ने अभियान समेत नेपालमै पहिलोपटक शुरु गरेको छ ।

उनले बिगतमा हिरासतमा भएका घटनाहरुलाई मध्यनजर गरी सुरक्षित हिरासत बनाउने योजना अन्तरगत हिरासतमा सीसी क्यामरा जडान, टेलिभिजनको व्यवस्था, रंगरोगन र भुइँमा काठको पाकेर्टिङ ह्यान्डहेल्ड मेटल डिटेक्टर, स्वच्छ खानेपानी समेतको व्यवस्था गरी सुरक्षित र सुविधासम्पन्न नमूना हिरासत कक्ष बनाउन सफल भएका छन् ।

बालमैत्री कार्यालय स्थापनाको लागि चिल्ड्रेन कर्नर, अनुसन्धानात्मक अन्तरवार्ता कक्ष स्थापना भएको र नागरिक सहायता कक्ष र जवान मेस निर्माणाधीन रहेको छ । प्रहरीले पछिल्लो समय सञ्चालन गरेको अभियानकै कारण अहिले बिर्तामोड सुरक्षित बन्दै गएको सरोकारवालाले बताउँदै आएका छन् ।

सम्मानसहित थापाको बिदाइ

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाको सरुवा भएसँगै सम्मानसहित विदाइ गरिएको छ ।

उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल सरुवा भएको हो । उनी गत जेठमा इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका थिए । सरुवासंगै उनलाई बिर्तामोडमा रहेको हलेंशी टे«ड लिङ्क बिर्तामोडले सम्मान सहित बिदाइ गरेको छ ।

ट्रेड लिङ्कका सञ्चालक चूडामणि पौडेलले मायाको चिनो प्रदान गर्दै थापालाई विदाइ गरेका हुन् । प्रहरी नायव उपरीक्षक थापाले इलाका प्रहरी कार्यालय अनारमनीमा रहँदा शान्तिसुरक्षा, अमनचयन राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै थापालाई सम्मानसहित विदाई गरिएको थियो ।

विदाई समारोहमा टे«ड लिङ्ककी सञ्चालक रचना पौडेलले प्रहरी नायाव उपरीक्षक थापालाई बाँकी कार्यकाल सफलताको शुभकामना दिएकी थिइन् । थापाको सरुवासंगै इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल आउने भएका छन् । उनी महानगरिय अपराध महाशाखा टेकूबाट सरुवा भएर अनारमनी आउन लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here