भगवान नाम जपको अर्थ र महिमा

0
1482

रत्नबहादुर बस्नेत,

हिन्दू सनातन धर्ममा भगवान– नामोच्चारण अर्थात् नाम जपको महिमा अनन्त र अपरम्पार रहेको छ । भगवान नामको निरन्तर जपलाई सबैभन्दा ठूलो धार्मिक अनुष्ठान वा पूजा मानिन्छ । नाम जपलाई तीर्थ, व्रत, दान, यज्ञभन्दा पनि श्रेष्ठ मानिएको छ ।

निरन्तर नाम जपबाट सम्पूर्ण पापको नाश, पुण्यको प्राप्ति तथा सांसारिक दुःख बन्धनको नाश भई मोक्ष वा परमात्मा दर्शन हुने हाम्रा साधना शास्त्रहरुमा उल्लेख गरिएको छ । तर, आजभोलि जप वा धर्मकर्मका कुरा गर्दा आजका युवायुवतीहरुले नाक खुम्च्याउने गरेको र यसका लागि उमेर अवस्थाबारे कुरा उठाउने गरेको समेत पाइन्छ । यसमा के सत्य मार्ग लिन उमेर र अवस्थाकै खाँचो छ ? सत्य, सुन्दरता र शान्ति प्राप्तिका लागि उमेरले छेक्छ ?

वैज्ञानिकरुपमा विचार गर्दा पनि हाम्रो जिब्रोबाट जस्तो शब्दको उच्चारण हुन्छ, त्यसको प्रभाव हाम्रो मन–मस्तिष्कमा पर्दछ र अनुभव हुन्छ । तसर्थ, भगवानको पावन तथा पवित्र नामले व्यक्तिको मन पवित्र भई भगवानको निवास योग्य बन्दछ । भगवान नामलाई अमृतको संज्ञा दिइएको छ । जसको जपबाट मानवीय दुरगुण, दोष, पापको विनास भई सद्भावको उदय हुन्छ । संसार नाममय छ । रुप नामकै वशमा हुने हुँदा नामको उच्चारण वा मननबाट रुपको स्मरण र दर्शन अनिवार्य हुन्छ । काम, क्रोध, लोभ, मोह आदि नामकै अधिनमा भए झैं श्रद्धा, भक्ति, विश्वास पनि भगवानको नामबाट प्राप्त हुने कुरामा सन्देह छैन । जसरी कुनै पनि राम्रो शब्दको स्मरणले त दुःख (मानसिक पीडा) हट्छ भने भगवानको मधुर, सुन्दर, सत्य र सुकोमल नामको स्मरणबाट समस्त दुरभाव, दुरगुण, पाप, दुःख नाश र सुखको प्राप्ति हुने कुरामा सन्देह छैन ।

त्यस्तै कुनै पनि भावनालाई हृदयमा शब्दहरुका विना धारण गर्नु कठीन छ, किनकि शब्द नै भावनाको मुख्य स्थान हो । तसर्थ, भगवानलाई प्राप्त (दर्शन) गर्न भगवानको नामको शब्द जप अनिवार्य छ । त्यसैले योगीहरु शब्दहरुको व्यवहारमा विशेष जोड दिँदै भन्छन्– तिमी त्यही शब्दको अर्थको भावना मनमा धारण गर्ने चेष्ठा गर जुन तिमीलाई अपेक्षित छ । (चाहन्छौ) तर सुगाको जस्तो केबल शब्द मात्र उच्चारण नगर बरु शब्दको साथ अर्थको पनि अनुभव गर र शब्दहरुलाई बारम्बार उच्चारण गर । यसबाट शब्द मानसिक पुष्टिको काम पनि गर्दछ । जति पटक शब्दसहित अर्थको उच्चारण गर्नेछौ उति नै शीघ्र तिम्रो अभिष्ट सिद्ध होला । यसै अटल सत्यको जगमा हिन्दूमन्त्र शास्त्रको अमोघ सिद्धान्त निर्धारित छ ।

एक प्रसङ्गमा खप्तड स्वामी भगवान नामको महिमा सम्झाउँदै भन्छन्– ‘हेर, केटी (कन्या) लाई दुई मिनेट यो तेरो पति हो, यसको कहिल्यै नाम नलिनु र आफ्नो जीवनलाई यसको जीवनमा मिलाइदिनु, आफ्नो इच्छालाई यसको इच्छामा लय गरिदिनु’ भनिदिनाले जीवनपर्यन्त त्यो यस्तै गर्दछे । अतः जब शास्त्रले परमेश्वर तिम्रो स्वामी हो, तिमी उसको नाम कहिल्यै नबिर्स र आफ्नो इच्छालाई उसको इच्छामा लय गरिदेऊ भनी बारम्बार भन्छ भने के तिमी यसको पालना गर्दैछौ ?’ उनी भन्छन्– ‘जीवनको हरेक क्षेत्रमा सफलता प्राप्तिको निमित्त असत्य, झुट, दुःख, पाप–ताप नाश र सद्भाव सत्यतर्फ प्रेरणा प्राप्त गर्न भगवान नामको जप, संकीर्तन, मनन, ग्रहण गर्नु आवश्यक छ । अतः भगवान नामको जप, संकीर्तन र ग्रहण गरी भगवानको अनुकम्पा प्राप्त गरेर जीवनको लक्ष्य हासिल गरी जीवन धन्य बनाऊ ।’

हाम्रा पूर्वज ऋषि महर्षिहरुले नाम जप वा नाम संकीर्तनलाई भवसागर तार्ने महामन्त्र मानेर यसबाट परमात्मा दर्शन गरेको उदाहरण प्रशस्त पाइन्छ । स्वयम् भगवान् शिवले रामनामलाई तारक मन्त्र भन्दै जप गर्नुहुन्छ । प्रभु हनुमान, महर्षि बाल्मिकी आदिले राम नामको जप गर्दागर्दै मोक्ष सिद्धि प्राप्त गरेको पाइन्छ । यस्तै अनेकौं सिद्ध तपस्वीहरुले सिद्धि प्राप्त गरेका र नामको सत्यानुभूति लिइसकेका छन् । यसैले राम (भगवान) नामको रसायन पान नै आरोग्यताको एकमात्र सरल तथा सर्वोत्तम उपाय हो भनेर आध्यात्म दर्शनले मानेको छ ।

सबै धार्मिक कृत्य र साधनाको अन्तिम लक्ष्य भगवानको स्मरण र रुपको दर्शन गर्नु नै हो । एकजना महात्मा भन्दछन्– यदि कोही भगवानलाई भगवानको सुन्दर, सुमधुर नाम र सुकोमल पाउको स्मरण बिना खोज्दछ भने त्यो त्यस्तो तिर्खालु हो जो गंगाको किनारमा इनार खन्दछ । यसबाट पनि धार्मिक कृत्य वा अनुष्ठानभन्दा नाम जपको महिमा सर्वोपरि रहेको छ र सबैको फल प्राप्त हुन्छ ।

भगवान नाम विविध छन्– जस्तैः राम, कृष्ण, शिव, दुर्गा आदि । भगवानका सबै नाम उस्तै शक्तिशाली र परम्कल्याणकारक हुन्छ । परमात्माले भगवानको नाममा सम्पूर्ण शक्ति खन्याइ दिनुभएको छ । जसलाई जुन नाम प्रिय र सहज लाग्छ उही नामको जप वा संकीर्तन गरे निसन्देह मुक्ति प्राप्त हुन्छ भन्ने शास्त्रवेत्ताहरुको मत रहेको छ । भनिएको छ– नामबाट दुरभाव, दुराचार, व्यभिचारको अन्त्य भई तत्कालै पनि सर्वोत्तम फल प्राप्त हुन्छ । जसरी आगोमा हात पर्दा त्यसले पोल्छ, त्यसरी नै जानेर होस् वा नजानी भगवानको नाम जप–उच्चारण गर्नाले निश्चय त्यसको प्रभाव पर्दछ । अन्य धार्मिक अनुष्ठानमध्ये नाम जप सर्वसुलभ साधन मानिएको छ । जुनसुकै अवस्थामा व्यक्ति नाम जपको अधिकारी बन्दछ ।

भगवानको नाम अन्य मान्छेको नाम जस्तो दुर्वलको बलबहादुर, निर्धनको धनबीर, निष्ठुर वा निर्दयीको दयाराम भनिए झैं नभएर धनकी देवीको लक्ष्मी, विद्याकी देवीको सरस्वती, दुःख, दुरगति, दुरभाव नाश गर्ने देवी दुर्गा आदि नाम सधैं सत्य र सार्थक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here