नकुल काजी,
आफ्नो पार्टीका पुर्खाको यशस्वी विरासतभन्दा पद प्राप्तिलाई महत्वपूर्ण ठान्ने, अधिनायकीय हरकतले आफ्ना निकट सहकर्मीहरुका आग्रहहरुमाथि जताततै सिँगौरी हान्ने र ‘अब्बल प्रजातन्त्रवादी पार्टी’ –को ऐतिहासिक एवम् अन्तर्राष्ट्रिय छविलाई आफ्नो संकीर्ण स्वार्थका खातिर मध्ययुगीन चङ्गेज खाँ वा मोगलयुगीन बाबरको कबिला मान्ने नेतृत्वको सिद्धान्तच्यूत विवेकहीन दलनमा परेको देखिँदोछ आज नेपाली कांग्रेस !
अतः सदैव राजनीतिक पूर्वाग्रहबाट सर्वभावेन अलग र कुनै दल एवम् दलीय गुट–गिरोहका प्रति निरपेक्ष दृष्टिकोणमा इमानदार यो कलमकर्मीको बुझाइमा यसबेला नेपाली कांग्रेस ‘चूल्हामा आगो न गाग्रोमा पानी’ उखानको गन्तव्यलक्षित अवस्थामा ढुन्मुनिइरहेको छ । र, यसैबेला नेपाली कांग्रेस राज्यव्यवस्थाका क्रियाकलापको खबरदारी गर्ने जस्तो लोकतान्त्रिक संवैधानिक जिम्मेवारीमा हुनु देश र देशबासीका हकमा चहर्याउने दुर्भाग्य ठहर किन भइरहेको छ भने देश र देशबासीका नितान्त सरोकारका सम्पूर्ण विषयहरु काँडालु बेथितिमा चुर्लम्म डुबेका छन्— राष्ट्रिय र सामाजिक परिवेश मौन कोलाहलमा छ । यस्तो अवस्थामा ‘प्रतिपक्षको खबरदारी’–को आवश्यकता उत्तिकै थियो । तर, यो जिम्मेवारी निर्वहन गर्नुपर्ने समय नेपाली कांग्रेसले आफ्नै प्राधिकरणको व्यासभित्र गुटगत रंगोलीमा अन्यायपूर्वक अपव्यय गरिरहेको छ । उसका यस्ता निर्विवेकी चलखेल प्रकारान्तरले आत्मदाहकारी त भइरहेकै छ भने विगत तीन तहका निर्वाचनमा शर्मनाक हार व्यहोर्दा पनि आस्थाभंग नगरिरहेका आस्था–समूहमा समेत नैराश्य बढ्दै गएको छ ।
नेपाली कांग्रेसको गुट–फुट र खासगरी त्यसका सभापति शेरबहादुर देउवाको जंगबहादुरीय हुकुमी पेलाइको अलोकतान्त्रिक रोड्याइँ एकातिर बर्करार छ भने अलमल्ल परेको धरातलीय आस्था–समूह दलको अबोधगम्य उपल्ला गतिबिधिबाट उद्विग्न बन्दै गएको छ । राज्यव्यवस्थाको एकदलीय स्वच्छन्द उफ्रीपाफ्रीलाई ‘सर्वसत्तावादी’ देख्ने नेपाली कांग्रेसका आँखाले आफूलाई कस्तो देख्तैछ ? लोकतान्त्रिकसहिष्णु–सदाशय राखी उसले बुझ्यो भने वंशानुगत कांग्रेसी बाहिरका लोकतान्त्रिक नेपाली यो प्रश्नका आयामहरु बुझेर आत्मालोचनाको आवश्यकता उसमा अवश्य अनुभूत हुनेछ ।
यसका लागि नेपाली कांग्रेसमा उसका सत्ताधिकारकालमा टुसाएर झाङ्गिँदै आएको ‘नेपाली कांग्रेसको दलीय दायराभित्रकाहरु मात्र लोकतान्त्रिक हुन्’ भन्ने संकुचित सोच त्याग्न आवश्यक छ । किनभने, शेरबहादुर देउवा चारित्रिक असौम्य प्रजातन्त्रवादी (?) नेपाली कांग्रेसभित्र थुप्रै होलान् तर यस दलको औपचारिक व्यासबाहिर त्योभन्दा धेरै सौम्य प्रजातन्त्रवादीहरु छन् । रौतहट जिल्लाका नेपाली कांग्रेस सांसद मो. अफताब आलमले २०÷२२ नेपालीलाई राजपुर फरदवाको इँटाभट्टामा जिउँदै आहुति हालेको घटना–प्रकरणमा आलमको सो अपराधको बचाउमा वकालत गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ‘प्रजातन्त्र–लोकतन्त्र भनेकै नेपाली कांग्रेस हो’ भन्ने स्पष्ट आशय खुल्ने वक्तव्य जारी गर्नुभएको घटना सबै नेपालीका स्मरणमा आलै छ ।
त्यस भावभूमिमा उभिएरै हाल नेपाली कांग्रेसको भग्न अवस्था हेर्नु हो भने पनि नेपाली कांग्रेस बाहिरका लोकतन्त्रवादीहरु बढी चिन्तित र बिदीर्ण होलान् । नेपाली कांग्रेस (दल)–सम्पृक्त नेता–अगुवा र टिकटधारक साधारण कांग्रेसीहरु त लोकतन्त्र बचाउभन्दा गुट–गुटको शक्ति सञ्चयनको पट्टावाल राजनीतिक ध्याउन्न बाहिर कहिले पो देखिने गरेका हुन् र ? यद्यपि स्थूल प्रजातन्त्र–लोकतन्त्रलाई आफ्ना पूर्वजको भावनात्मक विरासत हो भन्ठानेर त्यसका प्रति आभ्यन्तरिक श्रद्धा र अनुराग राख्ने व्यक्ति–व्यक्तित्वहरु नेपाली कांग्रेस वृत्तभित्र ठ्याम्मै छैनन् भन्नु न्याय हुँदैन । ती जो आजको स्थितिमा महत्वहीन किनारामा होलान्— जसलाई नेपाली कांग्रेसवृत्त बाहिरका लोकतन्त्रप्रेमीहरु श्रद्धा गर्छन् ।
आफू राज्यसत्तामा हुँदा नेपाली कांग्रेस नेताहरुले पूर्वाधार प्रकरण मै राज्यलाई कानूनीरुपमा चुकाएका कतिपय बिराट भ्रष्टाचारका विषय अहिले टुङ्गोमा पुग्न स्वाभाविक हुँदाको अवस्थामा पुग्दा त्यही–त्यही वा तिनै विषयको भुत्भुते मौजूदा सरकारको थाप्लोमा खन्याउँदा अप्ठ्यारो नलाग्नु आश्चर्य लाग्ने विषय हो । आफैले उपस्थापित गरेका काण्डहरुमा वाइड बडी विमान खरीदमा महाभारत भ्रष्टाचार काण्डका अतिरिक्त सुडान घोटाला, लाउडा काण्ड आदि उम्दा दृष्ठान्त छन् । भारतले प्रकाशमा ल्याएको उसको पछिल्लो मानचित्रमा कालापानी, लिपु लेक र लिम्पियाधुरा पारिएको घटना–सन्दर्भ उपनिर्वाचनको दौढमा सत्तारुढ पार्टीविरुद्ध गरम मसला बनाई सो भारतीय अतिक्रमण प्रधानमंत्री ओलीको सल्लाहबाट भएको भने जस्तो बचकाना र अस्वाभाविक आरोप जस्ता केवल अस्तित्व बोधलक्षित बेला–बखतका ‘मजाक’ नेपाली कांग्रेसको यस राजनीतिक मौसमको ‘प्रमुख प्रतिपक्षी भूमिका’–मा उल्लेख्य पाइन्छन् ।
नेपालको पुरानो, लोकतन्त्रवादी राजनीतिमा प्रवीर्ण भनेर विश्वास गरिने राजनीतिक दल नेपाली कांग्रेसले वर्तमान सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)–ले लोक (मतदाता जनता)–बाट प्राप्त ‘बहुमत’–लाई कसरी बुझिरहेको छ र बहुमत प्राप्त सो पार्टीले ‘हाम्रो बहुमत छ’ भन्नुलाई सो पार्टीको ‘दम्भ’ देख्तैछ ? भन्ने प्रशनबाटै एकातिर उसबाट लोकतान्त्रिक बिधि दण्डित भइरहेको छ भने ने.कां. लाई मूर्तिमान तुल्याउने नेता–अगुवाहरुको अनभिज्ञतालाई (?) उजागर हुने गरेको छ । लोकमतको सम्मान गर्दै नेकपाको बहुमतलाई स्वीकार गर्नुमै उसको लोकतन्त्रका प्रति सम्मान सिद्ध हुँदैनथ्यो र ? २०३६ सालमा सम्पन्न राष्ट्रिय जनमत संग्रहको परिणाम निर्दोष, धाँधलीमुक्त र तत्कालीक सत्ता–शक्तिको बलमा उत्सर्जित थिएन र ? तर, नेपाली कांग्रेसको जन्मजात नायक वी.पी. कोइरालाले त्यसलाई शालीनतापूर्वक स्वीकार्दै सार्वजनिक वक्तव्य दिनुभई आफ्नो लोकतान्त्रिक महान उदात्तताको आभा छर्नुभएको थियो । त्यो महानताको कदर आज नेपाली कांग्रेस नेतृत्व र नायकवर्गबाट किन भइरहेको छैन र लाखौं स्वजनको चित्त खुँड्याउने काम भइरहेको छ त ?
नेपाली कांग्रेस वृत्तबाहिरका पक्ष–निरपेक्ष लोकतन्त्रका सारभूत यथार्थका हिमायतीहरुले नेपाली कांग्रेसलाई प्रजातन्त्रको प्रथम ध्वजवाहक दलको मान्यतामा सश्रद्धा स्थापित गरिराख्ता पनि गिरिजाप्रसाद कोइरालाको जीवनकालपछि सो दल आफैभित्र चाहिँ लोकतन्त्रको अभ्यास खिइँदै गएको देख्न थालेका थिए, राणा–शाह–ठकुरीहरुको वंशानुगत सामन्ती एवम् हुकुमी मनोविज्ञान हावी हुँदै गएको आधारभूत लख काटेर खिन्नता प्रकट गर्न थालेका थिए । तर, नेपाली कांग्रेस प्राधिकरणले त्यस्ता टिप्पणीलाई नजरअन्दाज गर्दै आएको क्रममा अहिले त दल–दायराभित्रै ती टिप्पणीको पुनरावृत्त हुन थालेको छ । सत्तारुढ दलको बहुमतले बिधिसम्मत जुनसुकै निर्णय गर्दा पनि ‘बहुमतको दम्भ’ प्रयुक्त बोलको राजनीतिक गीत गर्धन फुलाएर गाउने दलका राष्ट्रिय प्रमुखले नै लोकतान्त्रिक झोलीतुम्बी आफलेर दलभित्रै ‘बहुमत’ लाद्नुलाई लोकतन्त्रप्रेमी नेपालीको बुझाइले अत्यन्त अक्करिलो अनुभूत गरिरहेको छ ।
जम्मैमा, अहिले नेपाली कांग्रेस लोकमञ्चमा जुन किसिमबाट चर्चित हुन पुगेको छ त्यसलाई नियन्त्रण नगरिने हो भने त्यसमा इमानदारी साथ आस्था राखिराखेका लाखौं लोकविश्वास घाइते हुने र स्वयम् दल–प्राधिकरण नै दुर्घटनामा पर्ने संभावना कमजोर छैन । यो टिप्पणी प्रकाशमा आउँदासम्म स्थितिमा फेरबदल भए पनि प्रवृत्तिगत नियतले अब शीघ्र शंकामुक्त भई परिष्कृत हुन समय चाहिँ अवश्य लाग्नेछ । समर्थक समूहको शंका मेटिन त समय लाग्ने नै भयो नि !…..र, आजलाई यत्ति नै । शेष फेरि—


























