रामचन्द्र उप्रेती,
‘सुखी नेपाली समृद्ध नेपाल’को अभियानमा महत्वपूर्ण योगदान गर्न सक्ने पर्यटन व्यवसायले पर्यटक आकर्षण गर्न कतिको सकेको छ ? सन् २०२० लाई पर्यटन वर्ष मनाउने र २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले लिएको छ । यो लक्ष्य पूरा गर्न सरकारले के–के गर्नुपर्छ र पर्यटन व्यवसायीले के–के गर्ने भन्ने बारेमा धेरै बहस हुन सक्ला ।
पर्यटक लोभ्याउने गन्तव्य, पूर्वाधार, सुरक्षित यातायात, पर्यटकको सुरक्षा, पर्यटकको बसाई लम्ब्याउने र खर्च बढाउने जस्ता अनेक विषयमा बहस भइरहेको छ । यो स्वभाविक छ । यसमा अधिकतम् सुधार गरेर पर्यटक लोभ्याउन सकिन्छ । यसमा दुईमत नै छैन । हामी नेपाल घुम्न आउने पर्यटकलाई जति बढी सुविधा दिएर खुशी पार्न सक्छौं पर्यटक त्यति नै लोभिने र पटक–पटक नेपाल आउने त गर्छन् नै सँगसगै उनीहरुले नेपालको बारेमा विश्व बजारमा प्रचार पनि गरिरहेका हुन्छन् । हामीले ठूलो धनराशी खर्चेर गरेको प्रचार–प्रसारभन्दा नेपाल घुम्न आएका पर्यटकले नेपाल प्रति बनाएको धारणा र तीनले आप्mना साथि र आफन्तलाई थोरै शब्दमा शेयर गरेको आप्mनो अनुभूति कता हो कता बलवान एवम् शक्तिशाली हुन्छ । पर्यटकले गरेको अनुभूतिका आधारमा उनको अभिव्यक्ति हुन्छ । सुझाव र सल्लाह हुन्छ । यसबारेमा हामीले धेरै बहस र छलफल गरेका छैनौं भन्ने मलाई लागिरहेको छ ।
आन्तरिक हुन् वा वाह्य पर्यटकलाई नयाँ ठाउँमा सबैभन्दा पहिला लोभ्याउने, विश्वस्त पार्ने कुरा भनेको उनीसँग ठोक्किएका मानिसको व्यवहार हो । जस्तो बाह्य पर्यटक नेपाल प्रवेश गर्ने बित्तिकै उनले सम्पर्क गरेको वा सम्पर्कमा आएको पहिलो व्यक्ति निकै महत्वपूर्ण हुन्छन् । अध्यागमनमा बस्ने मानिसले कसरी सेवा दिए ? ट्याक्सी वा अन्य सवारीसाधनका चालक वा पहिलो सम्पर्क व्यक्तिको व्यवहार कस्तो रह्यो ? बास बस्ने स्थानमा उनले कस्तो सेवा पाए ? पर्यटकलाई सेवा दिन बसेका मानिसको बोलीबचन, शिष्टता, व्यवहार, हाउभाउ, सहयोगको तरिका आदि पहिलो आकर्षणको विषय हो ।
दोस्रोमा पर्यटकले पाएको सेवा वा उपभोग एवम् खरिद गरेको वस्तु र सेवाको मूल्य कतिको सही छ ? पर्यटकले सेवा र मूल्यको बीचमा तुलना गर्दा अनुचित लागेमा त्यसलाई चित्त बुझाउने गरी सम्झाउने वा अनुचित भएको भए पर्यटकलाई न्याय दिने हाम्रो सिस्टमले कतिको काम गरेको छ ? कुनै पनि आन्तरिक वा वाह्य पर्यटकले म कसैबाट कति पनि ठगिने छुइन भनेर ढुक्क हुने अवस्था छ कि छैन ? ढुक्कले घुम्न, रम्न सक्ने सुरक्षाको अनुभूति पर्यटकले गर्न सक्छन् कि सक्दैनन् ? तेस्रोमा पर्यटकलाई यहाँ बस्न, खान, घुम्न, यातायातको व्यवस्था, सहयोगीको व्यवस्था आदि कतिको भरपर्दो छ ? यसले पर्यटकको मन कतिको जित्न सकेका छौं ? चौथोमा पर्यटकलाई लोभ्याउने प्राकृतिक स्थान र सुन्दरता, सांस्कृतिक मौलिकता र विविधता, ऐतिहासिक धरोहर, स्थानीय विशेषता आदि महत्वपूर्ण मानिन्छन् ।
त्यसैगरी स्वच्छ, सुन्दर र सजावटले मनमोहक बनाएको सबैलाई मनपर्छ । फोहोर, दुर्गन्ध, बिग्रेको, भत्केको, कुरुप भएको कसैलाई मन पर्दैन । यसबारेमा हाम्रो आनिबानी कस्तो छ ? पर्यटकको चित्त बुझाएर मात्रै हामी संख्या बढाउन र बसाई लम्ब्याउन सक्छौं । हल्ला त जति धेरै गरे पनि त्यसले खासै नतिजा नदिन सक्छ ।
हामीसँग पर्यटकलाई लोभ्याउने प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता यति धेरै छ कि त्यसको एक छेउ पनि हामीले बुभ्mन र बुझाउन सकेका छैनौं जस्तो लाग्छ । त्यसका अतिरिक्त हामीसँग ऐतिहासिक महत्वका धरोहर धेरै छन् । आस्थाका धरोहर छन् । हिन्दूका लागि पशुपतिनाथ र बुद्धिष्टका लागि गौतमबुद्धको जन्मस्थान लुम्बिनी छ । हामीसँग भएका यिनै विविधतामा लोभिएर विदेशी पर्यटक नेपाल घुम्न र रम्न आउँछन् । पर्यटक आउँदा तिनले यहाँको बसाईमा गर्ने सबै खर्च नेपालको आम्दानी हो । यसले देशको आर्थिक समृद्धिमा ठूलो मद्दत पु¥याउने गर्छ ।
पर्यटक नेपालमा प्रवेश गरेदेखि स्वदेश फर्कदासम्म यहाँको बसाईमा हामीले कतिको आदर, सम्मान गर्न सक्यौं । कतिको सन्तुष्ट र खुशी पार्न सक्यौं । यो एकदमै महत्वपूर्ण कुरा हो । मलाई के लाग्छ भने हामीसँग धेरैथोक भएर पनि हामी पर्यटकलाई चित्त बुझाउन चुकेका छौं । पर्यटकले यहाँ राम्रो हस्पिटालिटी पाएनन् भने उनले आप्mना साथीलाई सुनाउने, शेयर गर्ने र भन्ने कुरा के हुन्छ भन्दा नेपाल एकदमै राम्रो देश हो, हेर्नलाई धेरै कुरा राम्रा छन् । तर, त्यहाँ हामी जस्ता पर्यटक ठगिने सम्भावना पनि त्यत्तिकै छ मात्रै भनिदिए भने त्यसको असर के पर्छ ? जस्तो हामी पर्यटक बनेर गएको ठाउँका बारेमा हामीलाई कसैले त्यहाँ हेर्न लायक धेरै राम्रा कुरा छन् । जाउ तर अलि सतर्क बन्नु, ठग्लान् नि मात्रै भने पनि हाम्रो मन खिस्रिक्क हुन्छ । किनकि मानिस आप्mनै इच्छाले ठगिन, अपमानित हुन, झगडा गर्न र असुरक्षित हुन चाहँदैन । तर, परिस्थितिले मानिसलाई यी कुराबाट बचाएन भने मन अमिलो पारेर स्वीकार्नुको विकल्प हुँदैन ।
भारतकै पर्यटकीय स्थान घुम्न जाने पर्यटकले त्यहाँका ट्राभल्स एजेन्सी, चालक, होटल व्यवसायी, गाइड आदिबाट हामीले जुन व्यवहार पाउँछौं त्यो स्तरको व्यवहार पनि हामीले पर्यटकलाई दिन सकेका छौं ? यो आपैmलाई प्रश्न गर्नुपर्ने अवस्था छ । यहाँका सवारी चालकले गतिलो खाना (रोजेको मासुभात, बेलुका रक्सी), चित्तबुझ्ने गरी टिप्स बार्गेनिङ गरेरै लिन, खान चाहन्छन् । त्यति गरेर पनि उनले दिने सेवा चित्त बुझ्दो हुन्छ नै भन्ने छैन । यस्तै व्यवहार घुम्न निस्केका धेरैले पाइला–पाइलामा व्यहोर्नु पर्छ । कहिँकतै राम्रो व्यवहार पाए अनौठो मान्नुपर्ने अवस्था छ । स्तरीय र नाम चलेका पर्यटकसँग सम्बन्धित निजी सेवा प्रदायक कम्पनी, संस्था आदिले राम्रो सेवा दिएका पनि छन् । तर, सरकारी स्तरबाटै राम्रो सेवा पाउन सकिएको छैन । पर्यटकका समस्या कसरी समाधान गर्न सकिन्छ, कसरी खुशी पार्न सकिन्छ भनेर सोचेर काम गर्नेभन्दा काम सार्ने, टार्ने र गर्नैपर्ने भएमा रुखासुख्खा व्यवहार देखाउनु सामान्य चलन नै बनेको छ ।
यो व्यवसायमा जति स्तरीय सेवाप्रदायक संस्था र व्यक्ति छन् त्यतिले त अहिलेको भन्दा धेरै सेवा दिन सक्दैनन् । त्यसो हो भने कसरी हामी धेरै पर्यटकलाई राम्रो सेवा दिएर चित्त बुझाउन सकौला त । यसको अर्थ हामीले हाम्रो सेवाको स्तर अभैm बढाउनुपर्छ । सेवा दिने व्यक्ति संस्थाको संख्या बढाउनुपर्छ । बढेको जनशक्तिलाई दक्ष बनाउन तालिम दिनुपर्छ । सेवाको स्तरको मापदण्ड तयार गर्नुपर्छ र मापदण्ड पूरा नगर्नेलाई पूरा गरेर मात्रै सेवा दिने गरी तयार गर्नुपर्छ । कमशल सेवा दिएर पर्यटकलाई न्याय नगर्नेहरुलाई दण्डित गर्न सक्ने अवस्था छ÷छैन ? कि हामी यस्तै हो यी कहाँका मानिस हुन फेरि आउने होइनन् । जे गरे ठीकै गरे भन्ने सामाजिक भाव छ भने त्यसले नै मान्यता पाउँछ । यस्तो मान्यताले पर्यटक ठगिएको, लुटिएको, असुरक्षित भएको कुरालाई समाजले राज्यले सामान्य मान्छ । सामान्य मान्नुको अर्थ पर्यटकलाई सही सेवा दिएर आकर्षित गर्न चुकिरहेका छौं । यो भाव र व्यवहारमा परिवर्तन गर्न आवश्यक छ । पर्यटकलाई सेवा दिने गरी खुलेका होटल, ट्राभल्स, मनिचेञ्जर, टुरिष्ट गाइड लगायतका सेवा प्रदायक निकायको सूचीकरण र निममित अनुगमन हुन आवश्यक छ । अनुगमन गर्न आउनेले खाम लिएर आँखा चिम्लिने प्रवृत्ति पूर्णरुपमा अन्त्य हुनुपर्छ ।
दार्जिलिङ सय वर्षदेखि घुम्नलाई नाम चलेको ठाउँ । पर्यटकीय स्थान तर त्यहाँ पर्यटकलाई ठग्ने सम्भावना धेरै छ । ट्याक्सी, होटल, गाइड, व्यापारी जसले पनि ठग्ने सम्भावना हुन्छ । तर, सिक्किममा पर्यटकलाई ठग्ने ट्याक्सी, होटल गाइड, व्यापारीलाई ठगेको थाहा पाउने बित्तिकै सरकारले गतिलो कारवाही गर्छ । असुरक्षाको अनुभूति पर्यटकलाई नहोस् भनेर सबै सजग छन् । यहाँ पर्यटक ढुक्कले यात्रा गर्न, बस्न, घुम्न सक्छन् । त्यसैले अहिले पर्यटकको संख्या सय वर्षभन्दा लामो इतिहास भएको दार्जिलिङमा भन्दा छोटो इतिहास भएको सिक्किममा बढी देखिन थालेको छ । पर्यटकसँग गरिने व्यवहार र पर्यटकलाई दिने सूचनामा हामी कतिको इमान्दार भएर प्रस्तुत हुन सक्छौं । पर्यटकलाई कतिको चित्त बुझाएर खुशी पार्न सक्छौैं । यो निकै महत्वको कुरा हो ।
लामो यात्रामा निस्किएका यात्रुले सवारीका चालक, सहचालक र अरु स्टाफबाट कस्तो व्यवहार पायौं । यसले महत्व राख्छ । यिनले यात्रुलाई जहाँ खाना खुवाउँछन् त्यही खानुपर्छ । त्यो होटल वा खाजा घरमा कस्तो सेवा दिए, कस्तो व्यवहार देखाए, सरसफाईको अवस्था कस्तो थियो र त्यो सेवा अनुसारको मूल्य लिए कि त्योभन्दा अधिक । सेवा प्रदायक सवारीसाधनका मानिसले अर्थात् हामीले प्रयोग गरेको सवारीवालाले हामीलाई कस्तो सेवा दिए । हो, यस्तै हो हाम्रो देश घुम्न आउने पर्यटकलाई हामीले चित्त बुझाउन सके उनले राम्रो अनुभूति लिएर फर्कन्छन् । चित्त बुझाउन नसके ठोक्किएका केही थोरै मानिसले अलि कमशल सेवा, वस्तु दिएर अलि बढी फाइदा त लिए । तर, पर्यटकले मन दुखाएर फर्किएका रहेछन् भने समग्र देशको पर्यटक आगमनमा नकारात्मक प्रभाव पर्छ । त्यसैले हाम्रो व्यवहारले ठूलो अर्थ राख्ने गर्छ ।
हामी भारतीय पर्यटकलाई पर्यटक नै मान्दैनौं भन्दा धेरै हुँदैन होला । किनकि उनीहरुलाई सम्मानजनक व्यवहार गर्ने, सही सूचना दिने, उचित मूल्य लिनेभन्दा पनि यी यस्तै हुन् कति सकिन्छ लिनुपर्छ भन्ने मानसिकता धेरै भेटिन्छ । यो सरासर गलत सोच हो । नेपालमा धेरै आउने भनेको भारतीय पर्यटक नै हुन् । दोस्रोमा चिनिया पर्यटक धेरै आउँछन् । पहिला–पहिला चिनिया पर्यटक प्रति हाम्रो दृष्टिकोण ठीकै थियो । तर, पछिल्लो केही समयदेखि चिनिया पर्यटक प्रति पनि हामी धेरै सकारात्मक छैनौं । यी यस्तै हुन् भन्ने सोच्न थालेका छौं । केही भारतीय र केही चिनिया खराब भए भन्दैमा सबै खराब त हुँदैनन् नि । तर, हामीमा धारणा यी देशका पर्यटक प्रति बिग्रन थालेको छ । यसलाई हामीले सच्याउनु पर्छ । गलत गर्नेलाई त कानूनी कारवाही पो गर्नुपर्छ ।
आन्तरिक पर्यटकलाई आकर्षित गरेर, सेवा दिएर र इज्जत गरेर पनि अर्थतन्त्रमा धेरै योगदान हुनसक्छ । रोजगारी सृजना हुन्छ । अहिले भएका सबै तहका सरकारले पर्यटकको संख्या बढाउने, रोजगारी सृजना गर्ने, आर्थिक प्रगति गर्ने भनेको भाषण गरेको, पर्यटकीय गन्तव्यको घोषणा गर्ने गरेको र त्यहाँ केही लगानी गरेको देखिन्छ । तर, त्यहाँ घुम्न आउने पर्यटकले कस्तो सेवा पाइरहेका छन् भन्ने बारेमा धेरैको ध्यान गएको देखिँदैन । यसबारेमा ध्यान पु¥याउन सके पर्यटन विकासमा थप टेवा पुग्ने थियो ।


























