अनिल वाग्ले/झापा ।

भ्रमण वर्ष सफल बनाउन कतार स्थित नेपाली राजदूतावासले विशेष कार्यक्रम सुुरु गरेको छ । कतारी नागरिक र कतारमा रहेका विदेशी नागरिकलाई नेपालका भ्रमण गर्न लायक ठाउँहरुको बारेमा जानकारी गराउने, नेपाल जाँदा पर्यटकका लागि हुने सहजता र नेपाल सरकारले पर्यटकका लागि दिने सुविधा र नेपालीले गर्ने अतिथि देवो भवको सार तत्वलाई विदेशी नागरिकसम्म पु¥याउन हेल्प डेक्स राखिएको कतार स्थित नेपाली राजदूत डा. नारद भारद्वाज वाग्लेले जानकारी गराएका छन् ।
कतार स्थित राजदुतावासमा हेल्प डेक्स नै सञ्चालनमा ल्याएर भ्रमण वर्ष २०२० को व्यापक प्रचार भईरहेको छ । कतार स्थित नेपाली राजदुतावास र एनआरएनको संयुक्त प्रयासमा डिसेम्बर ३१ देखि हेल्प डेक्स नै सञ्चालनमा ल्याएर नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाहरुको जानकारी, प्रचारप्रसार गरिरहेको कतार स्थित नेपाली राजदूत डा. नारदभारद्वार वाग्लेले बताएका छन् ।
उनले कतारमा रहेका कतारी नागरिक, कतारमा रहेका अन्य विदेशी नागरिकहरुलाई नेपालबारे बुझाउन, चिनाउन र लोभ्याउन विभिन्न प्रचार सामग्री राखेर भ्रमण वर्ष २०२० को व्यापक प्रचार गरिरहेको जानकारी गराए । ‘कतारमा हाराहारी ३ लाख जनसंख्या छ, यहाँ २६ लाख विदेशी नागरिक बस्ने गरेका छन्’ राजदूत डा. वाग्ले भन्छन् ‘नेपालका लोभ्याउने ठाउँ, महत्व बोकेका धरोहरका बारेमा हामी मसिनो गरी जानकारी गराइरहेका छौं ।’
उनले जनवरी ७ तारिकमा भव्य कार्यक्रम गरेर विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्ने र नेपाल भ्रमण गर्दा विदेशी नागरिकहरुलाई सहजताका निम्ति नेपाल सरकारले अवलम्बन गरेका कुराहरुबारे जानकारी गराउने पनि बताए । राजदूत डा. वाग्लेले सोदिन कतारी नागरिक, कुटनीतिक नियोगका प्रतिनिधि, उच्च अधिकारी, नेपाली दाजुभाईको उपस्थितिमा विशेष कार्यक्रम हुने बताए । उनले कतारमा रहेका नेपाली दाजुभाईसँगको सहकार्यमा नेपाल भ्रमण वर्ष २०२० अंकित टिसर्ट लगाएर मुख्य मुख्य ठाउँहरुमा निरन्तर रुपमा कार्यक्रम गर्ने पनि बताएका छन् ।
२० लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्यका साथ नेपाल सरकारले भ्रमण वर्ष २०२० को भव्य सुरुवात गरेको छ । लक्ष्य प्राप्तिका लागि केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सरकारसँग सम्बन्धित निकाय, गैर सरकारी निकाय हौसिएर लागि परेका छन् ।
नेपालमा रहेका विभिन्न संघसंस्थाहरुले पनि भ्रमण वर्षको भव्य प्रचार गरिरहेका छन् । होटल व्यवसायी पनि हौसिएर बढी भन्दा बढी पर्यटक नेपाल भित्राएर त्यसबाट आर्थिक संवृद्धि हासिल गर्ने कुरामा लागेका छन् । विभिन्न देशमा रहेका नेपाली राजदुतावास, गैर आवासीय नेपालीहरु पनि त्यसरी नै जुटेका छन् ।































