बिर्तामोड, मस्तिष्क तथा स्नायू रोग सम्वन्धी निःशुल्क सेवा दिने उद्देश्यले सहारा नेपाल सहकारी संस्था सहित बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले दुई दिने शिविरको आयोजना गरेका छन् ।

आजबाट शुरु भएको शिविरमा ३ सय ५० जना मस्तिष्क तथा स्नायू रोगीको उपचार गरिने भएको छ । उपचारकालागि यस अघि तीन वटा नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा शिविरको आयोजना गर्दै विरामी पहिचान गरिएको सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
शिविरमा नशा रोगका वरिष्ठ विशेषज्ञ डा वशन्त पन्त सहितको टोलीले विरामीको स्वास्थ्य जाँच गरिरहेको छ । शिविर सञ्चालनका लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं, फेमिली हेल्थ नेपाल र बीएण्डसी अस्पतालको प्रविधिक सहयोग रहेको बताइएको छ ।
सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद संजेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख ध्रुब शिवाकोटी, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगर प्रमुख हरिकुमार राना लगायतले बोल्नु भएको थियो ।
शिविरमा डा. समिर आचार्य, डाक्टर डा.पंकज नेपाल, डा.चन्द्रप्रकास लिम्बू, डा.राजिवकुमार साह लगायतको चिकित्सकको टोलीले विरामीको स्वास्थ्य जाँच गरिरहेको छ । सहकारीले विरामीको शल्यक्रिया गर्नुपरेको खण्डमा समेत निःशुल्क उपचार गर्ने सहारा नेपालसहकारीसंस्थाका जीवन वरदान कार्यक्रम संयोजक भक्तवहादुर खड्काले जानकारी दिनुभयो ।































