झापा र इलामका ४३ होटलको स्तरीकरण

0
972

नरेन्द्र ढकाल / बिर्तामोड।

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेर विभिन्न कार्यक्रम गर्दै पर्यटकहरुलाई नेपाल भ्रमणको निम्ति आग्रह गरिरहेको छ ।

सरकारले पर्यटकलाई नेपाल भ्रमणको आग्रह गरिरहेका समय खाद्यान्नको विषयमा सरकारी निकायले चासो देखाएको । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको छ । झापा र इलामका होटलहरुको अनुगमन गर्दै स्तरीकरण गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख भरतबहादुर पुरीले जानकारी दिए ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको खाद्य स्वच्छताको मापदण्डको आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ अनुसार बिर्तामोड र इलामका होटलहरुको स्तरीकरण गरिएको जनाइएको छ । त्यस्तै होटल रेस्टुरेन्ट सञ्चालकले पालना गर्नुपर्ने मापदण्डको व्यवस्था गरिएको छ । त्यही मापदण्डका आधारमा स्तरीकरण तथा मूल्यांकनका लागि चेकलिस्ट बनाएर स्टिकर प्रदान गर्ने गरेको बताइएको छ । निर्देशिकामा उल्लेख भए अनुसार होटल तथा रेष्टुरेन्टले पालना गर्नुपर्ने मापदण्डका आधारमा खाद्य स्वच्छता निरीक्षण गर्न ५० बुँदे चेक लिस्ट बनाइएको छ ।

कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेष्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाई हेरेर मूल्याङ्कन गरिने प्रमुख पुरीले जानकारी दिए । खानामा दिइने गुणस्तरीयता, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग गरिएको छ भन्नेलगायतको जाँच गरेर मूल्यांकन गरिने बताइएको छ ।

रेष्टुरेन्टमा नै गएर अनुगमन गर्दा तत्काल देखिएको अवस्थालाई चेकलिस्टमार्फत मूल्यांकन गरेर स्टीकर प्रदान गरिएको पुरीले जानकारी दिए । चेकलिस्टमा मार्किङ गर्ने तरिका समेत उल्लेख छ । त्यही आधारमा प्राप्त हुने नतिजा अनुसार स्टीकर प्रदान गरिएको छ । यसरी दिइएको स्तरीकरणको स्टीकर एक वर्षका लागि मान्य हुने गरी दिइन्छ ।

अनुगमन र मूल्यांकनका लागि व्यवसायी, उपभोक्ता र स्थानीय जनप्रतिनिधिसहितको समिति बनाइएको छ । समय–समयमा हुने अनुगमनले होटलहरुलाई स्वच्छ र सफा राख्न सहयोग गर्ने होटल व्यवसायीहरुको भनाइ छ । निर्देशिकामा होटल रेष्टुरेन्टको बर्गीकरणका लागि ५० वटा प्रश्नावली उल्लेख गरिएको छ । उक्त प्रश्नावली र तोकिएको शर्त अनुसार बढी अंक ल्याउने व्यवसायले अतिउत्तम, उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउने छन् । अतिउत्तम श्रेणीको होटेल रेष्टुराँले तीन वटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टीकर पाउनेछ । यो लोगोे पाउन होटेल रेष्टुराँले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ ।

त्यस्तै, उत्तम श्रेणीको खाद्य व्यवसायीले दुई वटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टीकर पाउने छन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक) को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटेल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टीकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टीकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५०देखि ६० बीचको अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । विभागले यो श्रेणीलाई सन्तोषजनक स्तरमा राखे पनि मन्त्रालयबाट स्वीकृत हुँदा यसलाई ‘सामान्य’ श्रेणीमा राखेर स्वीकृत गरिएको छ ।

व्यवसायीले लोगोको प्रकृति बमोजिम प्रतिवद्धता जाहेर गरेर मात्र स्तरीकरण लोगो पाउने छन् । लोगो प्रमाणपत्रको अवधि एक वर्षको हुने निर्देशिकामा उल्लेख छ । प्रमाणपत्र पाइसकेपछि पनि स्तर अनुसारको खाद्य स्वच्छता कायम नगर्ने व्यवसायीको लोगो प्रमाणपत्र जफत, परिवर्तन वा फिर्ता हुनसक्ने व्यवस्था छ ।

लोगो प्राप्त गर्ने होेटल रेष्टुरेन्टको पुनः निरीक्षण पनि हुनेछ । जसमा अतिउत्तम प्रकृतिको खाद्य व्यवसायका हकमा एक वर्ष र त्यसभन्दा तल्लो श्रेणीकाको हकमा प्रत्येक छ महिनामा पुनः निरीक्षण गर्ने व्यवस्था निर्देशिकामा छ । अनुगमन र निरीक्षणका क्रममा कैफियत देखिए एक महिना सुधारको मौका दिने र उक्त अवधिमा पनि सुधार भएको नपाइए श्रेणी अनुसार एक तह घटुवा गर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । लोगो प्रमाणपत्र पाउने खाद्य व्यवसायीले म्याद सकिएको तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले भ्रमण वर्षलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गरिरहेकाले आन्तरिक तथा वाह्य पर्यटकले खाद्यान्न पनि स्वच्छ रसफा खाउन् भन्ने उद्देश्यले होटलहरुको अनुगमन गरेर स्तरीकरण गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख पुरीको भनाइ छ ।

उनका अनुसार झापाको बिर्तामोडका २० वटा होटलको अनुगमन गरेर स्तरीकरण गरिएको छ भने इलामका २३ वटा होटलको स्तरीकरण गरिएको छ । बिर्तामोडका २० मध्ये ५ वटाले अति उत्तम, ५ वटा उत्तम, ५ वटा सन्तोषजनक र ५ वटा सामान्य रहेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख पुरीले बताए । होटल तथा रेष्टुरेन्ट अनुगमन गरेर खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्न स्टीकर वितरण गरिएको पुरीले जानकारी दिए ।
उता पर्यटकीय चहलपहल धेरै हुने इलामका २३ वटा होटलको अनुगमन गर्दै स्तरीकरण समेत गरेको जनाइएको छ ।

जसमा दुई वटाले अतिउत्तम, एउटा उत्तम, ११ वटा सन्तोषजनक र ९ वटा समान्य रहेको प्रमुख पुरीले बताए । उनले इलामका होटलहरुले खाद्य स्वच्छताको विषयमा सुधार गर्नुपर्ने धेरै रहेको र उनीहरुलाई सचेत गराउँदै आफ्नो होटलको स्तरीकरणमा ध्यान दिन आग्रह गरेको बताइएको छ ।

नेपाल भ्रमण वर्ष शुरु भएसंगै पर्यटकहरुलाई होटलको स्टीकर हेरेर खान आग्रह गर्दै प्रमुख पुरीले भने– स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । त्यसैले होटल तथा रेष्टुराँमा बस्दा वा खाँदा स्वच्छताको विषयमा ख्याल गर्नुहोला ।

होटल सञ्चालहरुले पर्यटकलाई राम्रो ब्यवहार गर्ने र स्वच्छ खानेकुरा खुवाएमा पर्यटकको बसाई लम्ब्याउन सकिने भएकाले यसको फाइदा स्वयम् होटल व्यवसायी नै हुने तथा आफ्नो होटलप्रतिको सोच सकारात्मक हुने सरोकारवालाहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here