बिर्तामोड।
भोजराज घिमिरेद्वारा लिखित कथा संग्रह अन्तिम प्रश्नको समीक्षात्मक कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषको सभाहलमा शुक्रबार भएको कार्यक्रमका वक्ताहरुले कृतिको समीक्षा गर्दै सरकारी सेवाबाट निवृत्त भएका समय पनि सृजनशील रहेका कथाकार घिमिरेको कृतिगत प्रवृत्तिको चर्चा गरेका थिए ।
मिडिया रिसर्च सेन्टरको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले पाठकीय तथा समीक्षात्मक टिप्पण गरेका थिए । उनीहरुले इतिहास, मनोविज्ञान, सामाजिक यथार्थ र समसामयिक विषय कथाहरुले समेटेको उल्लेख गरे । परिवेश सृजना गर्ने नवीन प्रयोग गरिएको कथा पाठकलाई कथाको अन्तिम समयसम्म जोड्नेमा उनीहरुको जोड थियो ।
सेन्टरका संयोजक तीर्थ सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा घनेन्द्र ओझा, केशवराज खनाल, शिरो सान्दाइ, कुमार भट्टराई, महेश पौडेलले टिप्पणी तथा समीक्षा गरेका थिए । सन्तोष आचार्यले सञ्चालन गरेको कार्यक्रममा पुष्पराज पौडेलले स्वागत गरेका थिए ।



























