‘मेरो पर्तिभासमच्छे बोल्ने आँट कस्सैले गरे त थुक्क !’

0
642

व्यंग्यनारान पाँडे,

आज बिहानै मोटामोटी ‘रिम्झिम् परेली’ भएर आएका थिए— गौंथलीको बाऊ । उनी घरबाट सोझै कैलुको भट्टी हुटेल भ्याइवरि मकहाँ आएका हुन् भन्ने मेरो नाकैले थाहा पायो पहिला र उनको हावभावका प्रति त मेरा आँखा पूर्वाग्रही हुनु स्वाभाविक छँदैथ्यो । र, उनी मेरै सामू कुर्सीमा बसेपछि मैले ठट्टा गरे झैं भनें— “अरे हौ, आज त बिहानै ठीक–ठीक भएर आउनु भएछ नि दाइ ! केको उपलक्ष्यमा हो हँ दाइ ?”

उनले एकपल्ट दुबै हातले अनुहार माडमुड पारेपछि खरायोशैलीमा अघिल्लो दाँत देखाउँदै र झोला भूँइमा राख्तै भने— “हल्का अलेली मात्तै आजको उधुम ठण्डीको उपलच्छेमा पनि र साइत्ते गोस्टीमा जानुपर्ने उपलच्छे पर्याले पनि । अब हामेरु सात्तेकार–कबिकारहेरु साइत्ते गोस्टीमा जाँदाहुँदी निस्तै गइँने चलन छैन र एस्तो पर्चन्ड जाडोमा अलेली नगर्माइकन गइयो भने र त्याँ सुनाउने जिनिस पाठ गर्न बोली जमो भने लाजैमर्दो हुन्छ भन्ने अनुभौ च मेरो ।”
यस्तो अवस्थामा उनी अरुलाई बोल्ने मौकै दिंदैनन् ।….

म बोलेको थिइन । उनै बोल्दै गए— “ती क्या त, काटमाडँुका कबिकार बासु सस्सी, पिर्थिनगरका बिरइ अदिकारी, दोर्जेलिङका अगमसिम्ह गिरी, आछामका हरिभक्त कट्वाल, पस्सिउँ नेपालतिरका भूप्पी शेर्चन र म समेत हामी एकै हन्जाका कबिकार–साइत्तेकार साथी–भाइ होइनम् त अनि ? अलेली तो पढ्के झोल पेटमा सिँचाइ नगरी हामेरको डटप्यान चलोस् न सोर खुलोस् ।”

उनी भुन्भुनाउँदै गए— “र, आज मैले एउडा साइत्ते गोस्टीमा नगइनहुने कम्पलसोरी उपश्रित हुनुपर्ने निम्तो मान्न जानु पर्दैछ । सो–उक्त गोस्टीमा म सोएम् जाँदा दउरा–सुराल, कोट–टोपी, कम्बरमा पटुका र तेस पटुकामा कर्द–चक्मकले चिरिच्याँट्ट कोथीमोडा सिरुपाते खुक्री भिरेर जान पा’देखुन् म भानुभक्त अचार्ज आधिकबिभन्दा कम च्वाँक देखिँदो हुँला त ? मसित एकजोर दउरा–सुराल, दोडा टोपी र गोडा तिनेक कोट थे नि थिन त । तर अच्कलका लुगा अनअर्जिनिल धागाका हुन्छन्, तेती मज्गुत हुँदैनन् पढ्के । आज अगि बेहान पो ती लुगा–सर्जाम सप्पै राख्या बोराको मुख खोल्नु त कतिपए मुसाले चाल्नु बना’र काटेका अनि धेइरपए चइँ मक्का’र फाटेका पो ! थुक्क साला !….इ एइ एउडो टोपी चइँ भित्तामा झण्डाइरथेँ र यइ मात्तै टुहुरो जस्तो बँचेको रच बिचारा !”…

उनले लाइराखेको टोपी झिकेर दाहिरे घुँडामा ओडाउँदै अनि भने— “र, तपइँसित छन् भने आज गोस्टीभरि मात्तै लाउने र गोस्टी सकेर खानपीन सक्सेसि कुद्दै आ’र खात्खुत खोलिहाल्छु म, देरी नै गर्दिन । म जत्तिकाले भनेसि दिनैपर्छ नि ।”
मैले उनले मागेको बुझेकै थिएँ तापनि सोधें— “के दिनु मैले ?”

उनले अलिक अक्मकाएर भने— “ती क्या त, पोरपरार हाम्रा ग्यानेन्द्र सिरि पान्सर्खार भ’का बेला बिराठन’र सबारी गर्या दिन म रास्टवादी गर्न बिराठन’र गइरथेँ नि ? हो तेस दिन म तपइँको दउरा–सुराल, तपइँकै कोट–टोपी, जुत्ता र गगल चेस्मा जखेर गइरथेँ नि रामदुलारीसँग नार्रिएर चट्टसँगले ? हो तिनै सर्जाम आजका लागि मात्तै देऊ भन्या । आज चइँ मख्लर पनि थपनी चाइँच होला ।”

उनको लबस्तर्याइँले कन्पारो अलिअलि तात्यो मेरो र भनें— “अब हामीले दौरा–सुरुवाल र टोपी–सोपी राख्नु खतरा निम्त्याउनु हो भन्ने बुझेको हुँदा मैले त्यस्ता कपडा सबै हटाएँ घरबाटै । पेन्ट–सर्ट र धोती–कुर्ता भए, अबको भविष्यमा क्या हो–कसो हो भनेर, राखिन्थ्यो होला बरु ! किन भन्नु होला भने— पहिला–पहिला इण्डियाको बिहार–बंगालतिर दौरा–सुरुवाल र टोपी लगाएका झर्रा नेपाली लुटिन्छन्–ठगिन्छन् भन्थे अनुभवीहरु— यसबेला त्यस्ता झर्रा नेपाली नेपालभित्रै ठगिरहेका–लुटिइरहेका देखिन्छन् जताततै, होइन र ? त्यस्तो झर्रो नेपाली राष्ट्रिय कपडा घरमा भए भने कहिलेकाहीँ लगाइ हालिएला र जोखिममा परिएला भनेर मकहाँ भएका त्यस्ता कपडा जम्मै मैले उतै बिहारतिरबाट बाक्लै आइरहने नाङ्गा–भुतुङ्गा भीक–मङ्गा दरिद्रहरु र उतैका कुल्ली–कवाडीहरुलाई जम्मै दिपठाएँ ।”

उनले चख्ल्याँस्स हुँदै भने— “थुइया ! कस्तो कुतउजीको लोदर कुरो ! तेस्ता जिनिस दिने बेलाँ तपइँ मलाई के सम्झिन्थ्यौ र ! खएर मेरो इजोतै बँचेच म जस्तो एत्रो छेत्रको एरिआ–कम्रेटले आर्काका थोत्रा जडउरी बिहोर्नु बिजेती हुन्थ्यो, पेस्टिच धुलोपिठ्ठै हुन्थ्यो ।… तर जे भओस्–भओस् भन्र बिहोर्दा पनि उत्ति उजाति चइँ हुन्थेन होला । लुगा–टोपी र जुत्तामा कस्सैको नाम छापिया हुन्थेन । मैले ला’र हिन्दा कल्ले मेरो होइन भन्ने हिक्मत गथ्र्यो र ? लेकिन, भइगो अब..!”

उनी टोलाए । त्यस मौकामा मैले सोधें— “अनि साहित्य गोष्ठी चाहिँ कहाँ हुँदैछ नि दाइ ?”
उनले निरस स्वरमा भने— “हुँदैछ नि एक ठाम्मा । उइँ टन्न खातेपितेको मेलोमेसो पनि छ । नत्र एति मरिमेट्न किन पथ्र्यो ?”
आदि–अन्त्य बुझी–बुझी पनि मैले थप सोधें— “अनि दाइ त्यहाँ कविता, कथा, निबन्ध के सुनाउन कि अतिथि–प्रमुख अतिथि हुन कि साहित्यिक प्रवचन दिन जाँदै हुनुहुन्छ नि ?”

म र उनी बसिरहेको बरण्डा–एरियालाई मनग्गे प्रदूषित हुने गरी, जाडोको पेटभित्रबाट पगारेको वाफसँग घोलिएको कुइगन्धे सास छर्दै अघि कैलुको भट्टीमा खुदी र पुराना हवाइ–चप्पलको ‘पास’–बाट बनेको ठर्रा घुट्क्याउँदा सितनको रुपमा मक्मक्याएका भिजाएको काँचो चना, प्याज र हरियो खोर्सानीका खोस्टा लटरम्मै अल्झिएका खलपत्रे दाँत–बङ्गारा र पहेंलपुर गिजा–बिज्रोसम्म देखाउँदै, असली पियक्कड जँड्याहामार्का हाँसो, हाब्डो तन्काएर, हाँसेपछि भने— “हन तपइँ मलाई किन ख्याल्ख्याल ठान्छौं हँ ? हामेरको भामट बौमट बोमतको सर्खार भका ट्यामको म पर्गतिशील साइत्तेकारमा अर्जिनिल हुँइन त यार ? कस्तो कोइसिन खापिराख्या हँ ? म गोस्टीमा गइसकेसि कवित्, लगु कथा, अलगु कथा पाठ गर्नपर्च मैले । अज लु उपन्न्यासको इस्टोरी सुनाइदिनु भन्ने सिकोएस गरेर एलाउन्सर भो भने तो पनि दन्काइदिनु पर्च । इ क्या त, झोलाभरि टन्नै बोकेर लेराको छइँछु । साइत्ते, भासा, समस्कीर्ति, कउमोधी ब्याकर्णका सिलोक, मिस्कट भाषाविदको सिधान्तहेरु जेका सनबन्दमा भासन भन्नेमा एलाउन्सरेले मेरो सुबनाम एलाउन्सर गरो भने मैले भटटटट भासन ठोक्नै पर्च भने के कुरो गर्या तपइँले मलाई नपत्याएर जस्तो !”

मैले उनलाई अझ उकास्तै भनें— “मलाई त्यो गोष्ठीमा निम्तो छैन । दाइका कुरा सुनेर त मेरो मुखमा पानी पो आयो । दाइका कविताहरुमध्येको राम्रो चाहिँ एउटा यिँही नै सुन्न पाए ख्याल मज्जा हुने थिएन । लु न दाइ ।”
उनले झोला टिपेर त्यसभित्रबाट कपडाको धरोहरुले बाँधेका तीनवटा बिटा कागज निकालेर बिटो छाने अनि त्यो बिटो खोसेल्दै भने— “सुन्ने त ? सुनाइहाल्छु नि तपइँले इन्टेस राखेपछि । एछिन् हए, छान्नदेऊ ।”

उनले सो बिटोबाट एउटा पन्ना निकाले र अरु खोसेल्टा के–के थिए कुन्नि, अलिकति उठेर ‘बस्ने ठाउँ’–मा चेपेपछि भने— “यो कवित् मैले पोरप्रारई हामेरका माकबिकार लछिमी पर्सात देउकोटा, केदारम्याद बेतिथ, भुवानी घिम्रे, मेरा माओलाका हजुरबाऊ लगाएतका महोद्दएहर्ले माथि पाहाडको कर्फोकमा साइत्ते गोस्टी गर्दाको उपलच्छेमा सब्से फस् ट्याम सुनाइरथें, आज सब्से सेकिन ट्याम तपइँलाई सुनाइराँचु । एस्तो कवित् जइलेसुकै सुनायो भने एसको रसको भेलु घट्छ क्या भाइ ।”
त्यसपछि उनले खोकेर गलो सफा गरे अनि भन्न थाले— “उपश्रित मेरा आदर्नीए–पिर्रे पाँडे भाइ, आगे मेरो यो कवित्को शीश्रक ‘हाम्रो नेपाल देश ।’ अब म मेरो कवित् पाठ गर्चु । कोइकुछ भूलचुक भए छेमा दिनु होला भन्ने अनुरोद गर्चु ।”
उनले त्यसपछि मलाई सुनाएको कविता—

हाम्रो नेपाल सब्से उधुम राम्रो ।
अरु–अन्ने देशभन्दा हरिराम्रो ।।
नयाँ चामलको भात सेलाउँदा चाम्रो ।
हाम्रो नेपाल देश राम्रोभन्दा राम्रो ।।१।।
ताजा सन्तोला गुल्या ताजा ।
कति राम्रा छन् हेर हाम्रा राजा ।।
भुटेका मकइ भट्वास मिठो खाजा
उस्तै टेसिलो हाम्रो नउमती बाजा ।।२।।
खेतहेरुमा नपरुन् हए अब धाँजा ।
फलेका धान काटेर बनाइँछ पाँजा ।।
घरबारीहेरु कैले नराख्नु हए बाँजा ।
पर्गति नहुँदा सन्केर नखानु भए गाँजा ।।३।।
कति राम्रो बेउलो जस्तो नेपाल देश ।
कन्ने केटीले काटे काटुन् कपालको केश ।।
कन्ने केटाहर्का बिउटा छन् झ्याप्लुङ भेष ।
र त नेपाल हाम्रो हरिराम्रो देश ।।४।।

अनि उनले गर्वसाथ मेरो अनुहार ताकेर हेर्दै भने— “कस्तो लागो त तपइँलाई ?”
मैले भनें— “हरिराम्रो मात्र होइन, हरिपुङतामे राम्रो । अनि उसबेला महाकवि देवकोटाले र अरु साहित्यकार–श्रोताहरुले के कमेन्ट गरेका थिए नि ?”

उनले गजक्क परेर देहाती सामन्तले जस्तो जर्रो र दलाहा स्वर कोरल्दै भने— “के एत्रो खान कमेन गर्थे ? मेरो तेसबेलाको पर्खर पर्तिभा समच्छे बोल्ने आँट कस्सैले गरे त थुक्क लु, म लाट्टीकै पोई ।”….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here