शान्तिनगर ।
झापाको बुद्धशान्ति गाउँपालिका ४ र ७ स्थित शान्तिनगर ग्रामिण खानेपानी तथा सरसफाई योजनाको ३ बर्षे कार्यकालका लागि अध्यक्षमा पुनःसुर्य ढुङ्गाना निर्वाचित भएका छन् । गत पौष ५ गते शनिवार सम्पन्न संस्थाको ३१ औं बार्षिक साधारणसभामा अध्यक्षबाहेक अन्य कार्यसमितिका सदस्य सर्वसम्मत चयन भएका थिए ।
अध्यक्षको सहमति जुटाउने प्रयास पटक–पटक गरिएपनि टुङ्गो नलागेपछि अन्ततः निर्वाचन भएको थियो । संस्थाका पूर्व अध्यक्ष नीरकुमार सुवेदी (विरेन) र सुर्य ढुङ्गानावीचको प्रतिस्पर्धा राजनीतिक ढंगले अघि बढेपछि निर्वाचन निक्कै प्रतिस्पर्धा र चासोको विषय बनेको थियो ।
गत पौष १३ गते सम्पन्न भएको निर्वाचनमा संस्थाका ४०६ जना उपभोक्ता मध्ये ३८१ जना अर्थात ९४ प्रतिशत बढी मत खसेको निर्वाचन आयोगका सम्योजक ज्ञानबहादुर मगरले जानकारी दिए । उनका अनुसार विहान ८ बजेबाट शुरु भएको निर्वाचन दिउँसो ३ बजेसम्म चलेको थियो । मतदानपछि तत्काल सर्वदलीय बैठक बसी सोही दिन मतगणना गरिएको थियो ।
निर्वाचनमा कुर्सी चिन्ह लिएर चुनावी मैदानमा उत्रिका अध्यक्ष पदका उम्मेदवार सुर्य ढुङ्गानाले २०८ मत ल्याउँदै विजयी बने । उनका प्रतिस्पर्धी नीरकुमार सुवेदीले १ सय ६९ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । सुवेदीले भन्दा ढुङ्गानाले ३९ मतबढी ल्याएका थिए ।
सोही दिन अध्यक्ष पदका विजयी उम्मेद्वार ढुङ्गाना र सर्वसम्मत चयन भएका सदस्यहरुलाई निर्वाचन समितिका सम्योजक मगरले प्रमाणपत्र समेत वितरण गरेका थिए । प्रमाण–पत्र वितरणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले खानेपानी वितरणमा कुनै कसर बाँकी नराख्ने बताए ।
उनले भने–‘बुद्धशान्ति गाउँपालिका ४ र ७ मा नयाँ पाइपलाईन विस्तार गरी खानेपानीको पहुँच सहज बनाउनेछु । मैले जितेको हैन् उपभोक्ताले काम गरेर देखाउँने जिम्वेवारी सुम्पिएको हुन् । सम्पूर्ण उपभोक्ताको विस्वासलाई घात गर्दिन् ।’
अन्तिम मत परिणामपछिको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल, ७ र ४ का वडाध्यक्ष मात्रिकाप्रसाद पौड्याल,बुद्धिमान जवेगु, विभिन्न राजनितिक दलका प्रतिनीधि, सामाजिक ब्यक्तित्व, बुद्धिजीवि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यसमितिको अन्य सदस्यहरुमा उपाध्यक्ष छत्रकुमार घिमिरे, सचिव नरेन्द्रकुमार भुर्तेल,स–सचिव सरिता चौहान र कोषाध्यक्षमा नर्वदा ढकाल(गौतम) सर्वसम्मत चयन भएका थिए । त्यस्तै, अन्य सदस्यहरुमा तीर्थ पोख्रेल, दीलप्रसाद अधिकारी, कर्णबहादुर भट्टराई, मणी गौतम र हरिमाया कटुवाल(गौतम) छन् ।
१३ सदस्यीय कार्यसमितिको बाँकी ३ जनाले समितिको पहिलो बैठकले मनोनित गर्नेछ । अध्यक्ष पदको निर्वाचनका लागि ज्ञानबहादुर मगरको सम्योजकत्वमा ८ सदस्यीय निर्वाचन आयोग गठन गरिएको थियो ।































