भद्रपुर ज्यामिरगढी हुदै धुलावारीसम्मको सडकको कालोपत्रे हुने

0
1716

लक्ष्मी उप्रेती / मेचीनगर ।

प्रदेश सरकारको रातो कितावमा परेको तथा १ नम्बर प्रदेश सरकारको गौरवको योजनामा परेको भद्रपुर ज्यामिरगढी हुदै धुलावारीसम्मको सडकको कालोपत्रे हुने भएको छ ।

यसैगरी पूुर्वी झापाको बहुप्रतिक्षित सडक धुलाबारी–इरौटार सडक खण्ड समेत कालो पत्रे हुने भएको छ । पहिलो प्याकेजमा भद्रपुर धुलावरी खण्डको ९ दशमलव १४ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । प्याकेज २ मा धुलावारी इरौटार खण्डको २५ दशमलव ३७ किलोमिटर कालोपत्रे हुने भएको हो ।

शनिबार योजनाको शनिबार १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरेका थिए । भद्रपुर धुलावारी खण्डको लागत मुल्य अभिवद्धि कर सहित कुल २५ करोड ३२ लाख ८४ हजार ८ सय २२ रुपैयाँको लागतमा हिम्डुङ्ग एण्ड थोकर सरोज जेभीलाई ठेक्कामा दिएको हो । उक्त निर्माण कमपनिसँग २०७६ कात्तिक २० गते सम्झौता भएको । २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सहमति भएको छ ।

यसैगरी प्याकेज २ मा धुलावारी इरौटार खण्डको निर्माण व्यवसायी कन्काई झापाली जेभी विर्तामोडसँग २०७६ कात्तिक २० गते सम्झौता भएको थियो । २०७९ साल असार ३१ ग्ते निर्माण सम्पन्न गर्ने उक्त योजनको कुल लागत मुल्य अभिवद्धि कर सहित कुल ४६ करोड २३ लाख ८२ हजार ९ सय ८३ रुपैयाँ रहेको छ ।

भद्रपुर देखि इरौंटारसम्मको ३४ किलोमिटर सडक आगामी अढाई बर्षमा कालो पत्रे सम्पन्ने हुने प्रदेश सरकारले जनाएको छ । दुवै खण्डका लागि हाल १० करोड रकम बिनियोजन भएको छ ।

धुलाबारीमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले यो सडक निर्माणमा कुनै कमि हुन नदिने दावी गरे । मन्त्री आङ्बोले सडक गुणस्तरीय बनाउन स्थानीयबासीहरुले दैनिक जसो अनुगमन गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।

खास गरी भद्रपुर धुलावारी जोड्ने यो सडक खण्डमा नेपाल प्रवेश गरेका पर्यटकहरु यही बाटो हुदै चन्द्रगढी एयरपोर्टबाट काठमाण्डौं लगायत देशका अन्य भागमा जाने हुनाले समेत यो सडक खण्ड पुनः निर्माण हुन आवश्यक रहेको मन्त्री आङ्बोले बताए ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य रविन कोइरालाले यो सडक निर्माण भए पछि ताप्लेजुङ, पाँचथर र इलामका उत्पादन मेचीनगरमा ल्याउन सहज हुने विश्वास व्यक्त गरे । प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले यो सडक निर्माणले यस क्षेत्रका नागरिकको सदरमुकामसंगको पहँुचलाई सहज बनाएको बताए । प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली र राधा थापाले यो सडक समयमा नै निर्माण सम्पन्न गर्न सहयोग गर्ने बताए ।

यो सडक मेचीनगरका नागरिकले बिगत लामो समयदेखि प्रतिक्षा र पहल गरेको सडक भएकाले पनि यसको निर्माण समयमा नै सम्पन्न गर्न र गुणस्तर कायम गर्न मेचीनगर नगरपालिकाको तर्फबाट समेत आवश्यक सहयोग गर्ने मेचीनगर नगरप्रमुख बिमल आचार्यले बताए । शिलान्यास समारोहमा रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले समेत आफ्नो विचार राखेका थिए ।

निर्माण व्यवसायीहरुकातर्फबाट बोल्दै भीमचन्द्र भट्टराई तथा शेरबहादुर थापाले आवश्यक सामाग्री समयमै उपलब्ध भए समयमै काम सम्पन्न हुने बताए । प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राजेशप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्तव्यसहित योजनाको संक्षिप्त जानकारी गराउँदै पूर्वाधार विकास कार्यालय झापाका प्रमुख सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार श्रेष्ठले यस कार्यमा गुणस्तरका बारेमा कुनै सम्झौता नहुने बताए । उनले रकम समयमै उपलब्ध गराउन समेत मन्त्री समक्ष आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here