‘खेपा’ को भरमा टिकेकाहरु !

२० पुष २०७६, आईतवार मा प्रकाशित

राजु पौडेल / झापा।

फुटबल खेलाडीका उत्पादनका लागि पूर्व उर्वर मानिन्छ । पूर्वको समथर तराई होस् या पहाडको डाँडाकाँडा बस्नेहरु हुन् सबैको फुटबलप्रतिको क्रेज उस्तै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘क्यालेन्डर’मा परेका गोल्डकपबाहेक गाउँशहरमा हुने त्यस्ता फुटबल प्रतियोगिताले पूर्वमा नयाँ खेलाडीहरुलाई अवसर मात्रै सिर्जना गरेको छैन, फुटबल खेल्ने खेलाडीलाई बाँच्ने आधार समेत बनाएको छ ।

नेपाली फुटबलमा व्यवसायिकताको कमी र नियमित रुपमा लिग नहुँदा पूर्वतिरका खेलाडीको बाँच्ने आधार मोफसलको गोल्डकप र सीमावर्ती भारतमा हुने प्रतियोगिताको ‘खेपा’ हो । २ महिनाको लिगपछि धेरै खेलाडीको बाँच्ने आधार भनेको खेपा नै हो, खेपा अर्थात् खेल पारिश्रमिक ।

पूर्वको झापा, मोरङ, सुनसरी, इलामका खेलाडी खेपाका भरमा चलेका छन् । विशेष गरी यी जिल्लाहरुसँगै पूर्वी पहाडी जिल्लाहरुमा हुने गोल्डकप साथै भारतको कोलकाता, आसाम, पश्चिम बंगाल क्षेत्र, कालिम्पोङ, दार्जीलिङ र सिक्किम लगायतका शहरमा हुने फुटबल प्रतियोगितामा खेपामा खेल्दै आएका छन् ।

भारत र नेपालको पूर्वी पहाडी जिल्लामा हुने प्रतियोगितामा खैल मैदान र रंगशालाको भौतिक संरचना उपयुक्त नभए पनि फुटबलप्रतिको क्रेजका कारण त्यस्ता ठाउँहरुमा समेत प्रतियोगिता सञ्चालन हुँदै आइरहेका छन् । जसका कारण स्थानीय खेलाडीहरुले अवसर मात्रै पाएका छैनन् मोफसलमा चलेका खेलाडीको परिवार धान्ने माध्यम पनि बनेको छ । ‘मैले लिग खेलेको छैन’– सुनसरीका खेलाडी रमेश राजवंशी भन्छन्.– ‘तर पनि विभिन्न क्लबबाट फुटबल खेलिरहेको छु ।’

झण्डै ५ वर्षपछि लिग भए पनि त्यसपछि प्रतियोगिता निरन्तरताको सम्भावना न्यून रहँदा खेपा नै फुटबलमा टिक्ने आधार रहेको खेलाडीहरु बताउँछन् । खेपाले आर्थिक पाटोमा मात्र समर्थन गरेको छैन, उनीहरूको खेल जीवनलाई पनि निरन्तरता दिएको झापाका खेलाडी सरोज कार्की बताउँछन् । तर, साना–साना प्रतियोगिताका दौरान भएका ‘इञ्जुरी’ले भने ठूला र प्रतिष्ठित प्रतियोगिताका लागि समस्या सृजना गर्दै आएको कतिपय खेलाडी बताउँछन् ।

देशमा दुई दर्जनभन्दा बढी गोल्डकप प्रतियोगिता आयोजना हुन्छन् । यो बाहेक साना र भारतमा हुने प्रतियोगिताको संख्या पनि धेरै छ । जसमा एउटा क्लबमा देखिएको खेलाडी अर्को प्रतियोगितामा अर्को क्लबबाट खेलेको भेटिन्छ । धेरैजसो प्रतियोगिताको मिति जुद्धा यस्ता खेलाडीहरुलाई समस्या पर्ने गरेको उनीहरु बताउँछन् । एन्फाले फुटबलको विकासका लागि सीमित समयमा आयोजना गरिएका गोल्डकपहरु जुधाउनु भन्दा पनि बर्ष भरिनै चलायमान बनाउनु पर्ने सुनसरीका खेलाडी निशान लिम्बूको धारणा छ ।

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर देवेन्द्र तामाङ, झापाका कर्ण लिम्बू, योगेश गुरुङ, विशाल राई, दिलेन लोक्ताम, एञ्जल गुरुङ, निरोज बस्नेतलगायतका खेलाडीहरु खेपाकै कारण टिकेका छन् । यी बाहेक पूर्वमा विभिन्न स्थानमा हुने प्रतियोगितामा विभिन्न क्लबहरुबाट फुटबल खेल्ने खेलाडीहरु पनि धेरै छन् ।

मोफसलमा चलेका खेलाडीको आर्थिक उपार्जनको मुख्य स्रोत र नियमित अभ्यास नै नेपाल र भारतको विभिन्न स्थानमा हुने प्रतियोगिता बनेको छ । मोफसलमा हुने सानाठूला गोल्डकप तथा फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका साथै खेलाडीलाई आर्थिक उपार्जनको लागि सहयोग पुगेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’ बताउँछन् ।

विभागीय बाहेकका ‘ए’ डिभिजनका क्लबहरुले प्रतियोगिता दौरान खेलाडीहरुलाई खेल पारिश्रमिक अनुसार सहभागी गराउँछन् । मोफसलको सफल क्लबको रुपमा रहेको पूर्वको झापा–११ ले समेत सबै खेलाडी अनुबन्धन गरेको छैन । यसरी क्लबहरुले खेलाडीलाई कम्तीमा एक वर्ष पनि अनुबन्धन नगर्दा वर्षभरि खेलेर बाँच्ने वातावरण बनेको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here