अर्जुनधारा ।

तेक्वान्दो खेलको प्रबद्र्धनसँगै खेलाडीहरुको स्तर अभिवृद्धी गर्ने उद्धेश्यले झापाको बुद्धशान्ति–२स्थित जयपुरमा यही पुस २६ गते प्रथम जयपुर जुनियर जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
स्थानीय जयपुर तेक्वान्दो डोजाङको आयोजना र झापा जिल्ला तेक्वानदो संघको प्राविद्यिक सहयोगमा स्थानीय आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्धघाटन गाँउपालिकाका अध्यक्ष रमेशकुमार भूजेलले गर्ने आइतबार सम्पन्न पत्रकार भेटघाटमा बताइएको छ ।

जिल्लाको २२ वटा डोजाङका चार सय जना खेलाडीको सहभागिता रहने प्रतियोगिता अन्र्तगत पुरुष र महिला दुवैतर्फ २५–२८ केजी, २८–३१ केजी, ३१–३४ केजी, ३४–३७ केजी, ३७–४० केजी, ४०–४३ केजी, ४३–४६ केजी, ४६–४९ केजी र ४९–५२ केजी तौल समूहमा प्रतिष्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवम् डोजाङ प्रमुख चन्द गौतमले जानकारी दिए ।
त्यस्तै सीनीयर पुरुष र महिलासँगै जुनियर पुरुष र महिलातर्फ पुम्से हुने बताइएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई जनही नगद पुरस्कार ११ सयबाट पुरस्कृत गरिने छ । अनुमानित तीन लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिताको लागि आर्थिक स्रोत जुटाउन विभिन्न संघ–संस्था र दाताहरुसँग समन्वय भइरहेको अध्यक्ष गौतमले बताए ।


























