तीर्थराज खरेल / सुरुङ्गा।

झापाली प्रजातन्त्रवादी योद्धा तुर्सा हेमरमको २२ औं स्मृति दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठानले कनकाई नगरपालिका–१ कालीमुडामा आइतवार आयोजना गरेको कार्यक्रममा नेपाली लोकतान्त्रिक आन्दोलनका चर्चित व्यक्तित्व हेमरमले पु¥याएको योगदानको बारेमा सहभागी वक्ताहरुले चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि आदिवासी नेता सुनसरीका संघीय सांसद सीताराम मेहताले तुर्साको आदर्श पछ्याउन सके मुलुकले सही दिशा लिने बताए । मेहताले तुर्सा आदिवासी जनजातिका नेता भनिएकामा असन्तुष्टि व्यक्त गर्दै उनी सारा मुलुकको नेता भएको बताएका थिए । उनले तुर्सा हेमरमलाई लोकतन्त्रवादी अनुकरणीय आदर्श नेताका रुपमा चित्रण गरेका थिए । तुर्साले आदिवासी जनजातिका लागि मात्र नभएर समस्त मुलुकवासी र लोकतन्त्रका लागि जीवन अर्पण गरेको प्रमुख अतिथि मेहताले बताए ।
तुर्साको योगदानलाई सीमित घेरामा मात्र राख्न नहुनेमा उनको जोड थियो । उनले अर्को एक प्रसंगमा बहुदलीय व्यवस्था ल्याउन प्रमुख भूमिका नेपाली कांग्रेसको रहेको र राणा, पञ्चायतसँगको संघर्षमा कांग्रेसले मुख्य भूमिका खेलेको बताए । उनले भने, ‘जंगलमा बसेर सशस्त्र युद्ध गरिरहेको माओवादीलाई पनि जनआन्दोलनमार्फत कांग्रेसले नै लोकतान्त्रिक धारमा ल्याएको हो ।’
कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका पुराना नेता पूर्व सांसद डिल्ली सिटौलाले नेपाली कांग्रेसमा झाँगिदै गएको गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । सिटौलाले तुर्सा हेमरम लगायतका महान प्रजातन्त्रवादी योद्धाले आफ्नो सारा जीवन समर्पण गरेर बनाएको पार्टी र ल्याएको लोकतान्त्रिक व्यवस्थालाई बिगार्न नहुने बताए । उनले तुर्सालाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने, चट्टानी अडान भएका, इमान्दार, व्यक्तिगत लोभलालच नभएका, स्वतन्त्रता पक्षधर नेता भएको स्मरण गरे ।
आदर्श नेताको छबि बनाएका तुर्साले जेलनेलको दुःखकष्ट बेहोरेका थिए । हेमरमले आफ्नो सम्पूर्ण जीवन देश, जनता र लोकतन्त्रका लागि समर्पित गरेका थिए । सिटौलाले वर्तमान नेपाली राजनीतिमा निष्ठा र आदर्शप्रतिको बफादारितामा कमी भइरहेकोले प्रजातान्त्रिक समाजवादका सच्चा अनुयायी रहेका तुर्साको जीवनबाट प्रेरणा लिनुपर्ने बताए ।
नेपाली कांग्रेस झापाका पूर्व सभापति एवम् संविधानसभा सदस्य सुधीर शिवाकोटीले तुर्सा हेमरम स्मृति प्रतिष्ठानले सभाहल सहितको सामुदायिक भवन निर्माणको काम सम्पन्न गर्नेमा आफू आशावादी रहेको बताएका थिए । यस अघि नै प्रतिष्ठानले तुर्साको शालिक निर्माण गरेर अनावरण गरिसकेको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि बी.पी. कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोगेका हेमरमको योगदानलाई नेपाली कांग्रेस र प्रजातन्त्रका पक्षधरले बिर्सन नहुनेमा शिवाकोटीको जोड थियो ।
कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा कठिनाइ भोग्ने बाबुलाल टुडूलाई ५ हजार नगदसहित सम्मान गरिएको थियो । सो कार्यक्रम प्रतिष्ठानको सभाहल सहितको सामुदायिक भवन निर्माण गर्ने स्थलमा सम्पन्न भएको थियो । उक्त स्थानमा केही वर्ष अघि नै तुर्सा हेमरमको शालिक निर्माण गरी अनावरण समेत भइसकेको छ ।
कार्यक्रममा नेका सुनसरी जिल्ला उपसभापति हरिलाल मेहता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाई, सुनसरी देवानगञ्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता, नेपाली कांग्रेस झापाका नेताहरु बडाराम हेमरम, सुरेश बास्के, बलराम हेमरम, राम कट्टेल, देउमान थेबे, लोकराज ढकाल लगायतको आतिथ्य रहेको थियो ।
को हुन् तुर्सा हेमरम ?
वि.स. १९७४ मा भारतको दुम्का जिल्लामा जन्मेका तुर्सा हेमरमले बी.पी. कोइरालाको निकटमा रही प्रजातान्त्रिक आन्दोलनमा अगुवा सेनानीको रुपमा काम गरेका थिए । उनी आफ्ना आमाबुबाको साथ लागेर ४÷५ वर्षको उमेरमा नेपाल आएका थिए । हेमरमलाई प्रसिद्ध समाजवादी चिन्तक सी.के.प्रसाईंले समेत राजनीतिका गुरु मान्ने गरेका थिए । सीकेसँगको संसर्गमा संकोच नभएको, भेदभाव नगरिएको र समस्यामा आर्थिक, भौतिक र वैचारिक सहयोग पाएको हेमरम बताउने गर्थे ।
हेमरमले २००६ सालमा बीपीलाई भेटेका थिए । राणाशासन विरोधी सशस्त्र संघर्ष र त्यसपछिका २०१४ सालको भद्र अवज्ञा, २०१५ सालको आम चुनाव र तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र हरण गरेपछि पनि नेपाली कांग्रेसको छातामुनि हेमरम क्रियाशील रहे । प्रजातन्त्र अपहरणपछि उनले पञ्चायती शासकहरुको ठूलो यातना सहनुपरेको थियो । उनले जतिसुकै दमन, अन्याय र जेलको यातना भए पनि लोकतन्त्रप्रतिको निष्ठालाई कहिल्यै त्यागेनन् ।
२०४९ साल फागुन ३ गतेदेखि झापाको कलबलगुडीमा शुरु भएको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले नपढेको आदिवासीको छोरा भएर पनि तुर्साले लोकतन्त्र, नेपाली कांगे्रस र मुलुकको लागि ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । स्व. हेमरम मुलुकको समस्त विकासका लागि निष्ठावान र प्रजातन्त्रका इमान्दार सेनानी थिए । प्रजातन्त्र प्राप्तिका लागि जीवनभर संघर्ष गर्ने अथक योद्धा थिए । उनी जातीय पहिचानप्रति अत्यन्तै सजग थिए । उनी सादा जीवन उच्च विचारका धनी थिए ।
उनका समकालीनहरुले स्मरण गरेका छन्–जेलमा यातना दिँदा उनी भन्थे, ‘म माफी माग्दिन, म जनताको मान्छे हुँ, तिमी सेना, पुलिस र कर्मचारी त जनताका कारिन्दा हौ, तिमीहरु मलाई किन कुट्छौ ?’ प्रजातान्त्रिक आन्दोलनमा उनी आफू मात्र सरिक भएनन्, खेती र किसानीमा मात्र भर पर्ने र शिक्षा, राजनीतिबाट टाढा रहेका सन्थाल जातिलाई पनि संगठनमा आबद्ध गराएका थिए । नेपाली कांग्रेस भन्दा डराउनुपर्ने पञ्चायती व्यवस्थाको कालरात्रीमा सन्थालहरुले प्रजातन्त्रप्रति देखाएको समर्थनका कारण धेरै सन्थालहरु पञ्चायतको दमनको शिकार हुनुप¥यो भने तराई÷मधेशमा औलोसँग लडाइँ गर्दै जमिन आवाद गरेर बसेका उनीहरुको जोताहा खोसियो र जमिनबाट विस्थापित गरियो । शासक र सामन्तको दोहोरो चपेटामा सन्थालहरु परेका थिए ।
तुर्साले प्रजातन्त्र र जनताका लागि दिन मात्र चाहेका र व्यक्तिगत लाभ लिन कहिल्यै नचाहेको कांग्रेसका पुराना नेताहरु बताउँछन् । हेमरमका शरिरमा यातनाका चोटका दागैदाग रहेका थिए । उनले लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा उभिएर पीडा र यातना भोग्नु परेकोमा कहिल्यै पनि पश्चाताप नगरेको उनलाई चिन्ने कांग्रेसीजनको भनाइ छ । प्रजातन्त्रको पुनःस्थापनापछि पनि उनको घरको चुल्होमा आगो बलेन ।
नेपाली कांग्रेसले उनका लागि केही जग्गा र केही पैसाको व्यवस्था गरेकाले त्यसैको भरमा उनले गुजारा चलाएका थिए । २०५४ साल पुस २० गते तुर्साको देहान्त भएको थियो । उनले आफ्नो सम्पूर्ण ऊर्जा, क्षमता, वैंश, सुखसुविधा र ऐश्वर्य त्यागेर आदर्श र निष्ठाको राजनीति गरे । तुर्सा हेमरम जस्ता निष्ठावान, संघर्षशिल र लोकतन्त्रप्रति प्रतिबद्ध नेताहरुको आदर्श भुलेर गुटबन्दी, नातावाद, कृपावाद, अहम् र स्वार्थकेन्द्रित भएका कारण कांग्रेस पछि परेको आम कांग्रेस समर्थकको बुझाइ छ ।
सो अवसरमा सन्थालहरुकै वीचमा धनुषतीर, लङजम्प तथा प्रतियोगितात्मक सन्थाल नृत्य आयोजना गरिएको थियो । तीरधनुष प्रतियोगितामा रामलाल सोरेन (शिवसताक्षी–२) प्रथम, विश्वनाथ मुर्मू (बा¥हदशी–६) द्वितीय र डीसी मुर्मू (कनकाई–७) तृतीय भएका थिए । त्यसै गरी, लङजम्पतर्फ विशाल टुडू (कनकाई–७) पहिलो, विक्रम हेमरम (कनकाई–७) दोस्रो र हरि मर्डी (झापा गाउँपालिका–४) तेस्रो भएका थिए । सामूहिक सन्थाल नृत्यका विजेतासहित सबै विजेतालाई प्रतिष्ठानका उपाध्यक्ष टीका मैनाली, कोषाध्यक्ष मञ्जु सिटौला, नेपाली कांग्रेस क्षेत्र नं. ५ का सचिव शिवकुमार कडेंलले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले गरेका थिए ।





























