तीर्थराज खरेल,
‘कसरी चाउरिस् मरिच भन्दा आफ्नै पिरोले’ भने झैं नेपालको चौथो पुरानो र पटकपटक सत्तारूढ भइसकेको नेपाली कांग्रेस आफैं भित्रको गुटबन्दी र हानथापले इतिहासमा सबैभन्दा अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । दुई तिहाइ हाराहारीको समर्थनको जगमा उभिएको नेकपा नेतृत्वको सरकारले बाटो बिराउँदा खबरदारी गरी रचनात्मक प्रतिपक्षी भूमिका खेल्दै आउँदो निर्वाचनको माहौल आफ्नो पक्षमा पार्न अहिलेदेखि नै जनसमक्ष गई पार्टी संगठन बलियो बनाउनु पर्नेमा कांग्रेस न सृजनात्मक र सशक्त प्रतिपक्ष रह्यो उसले न आफ्ना पार्टी तथा जनवर्गीय संगठन नै सुदृढ गर्न सकेको छ ।
साँच्चै भन्ने हो भने कांग्रेसमा बीपीको विचार, सोच र उनले देखाएको बाटोको अब कुनै अर्थ छैन र आफ्नो गुट र व्यक्तिगत स्वार्थका लागि प्रजातान्त्रिक समाजवादको नारा उठाइने गरेको छ र सामन्तवादी तुषसहितको अनुदार पूँजीवादको धङ्धङीबाट कांग्रेस मुक्त भएर नेपालको संविधान २०७२ को मूल मर्म अनुरुप समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि कांग्रेसले योगदान गर्ला भनेर विश्वास र आशा गर्ने ठाउँ नै बाँकी रह्यो । लोकतान्त्रिक शासन व्यवस्थामा सरकारको जति महत्व छ, त्यति नै महत्व प्रमुख प्रतिपक्षीको पनि हुन्छ। मुलुकको अवस्थाप्रति जब–जब निराशाको स्थिति आउँछ, तब–तब प्रमुख प्रतिपक्षको भूमिकाप्रति ध्यान दिने गरिन्छ, किनभने प्रमुख प्रतिपक्षलाई ‘प्रतिक्षित सरकार’ अर्थात् आउन लागेको सरकार मानिन्छ । तर यतिबेला प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसभित्र भइरहेका गतिविधिले आम नागरिकलाई खासै आकर्षण गर्न सकेको छैन ।
मुलुकको सबैभन्दा पुरानो मध्येको एक लोकतान्त्रिक दलभित्र मौलाएका अलोकतान्त्रिक गतिविधिले आम नागरिकलाई थप निराश बनाएका छन् । एकातिर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गतिविधि आशातीत हुन सकेका छैनन् । सत्तारुढ दलको क्रियालाप लोकतन्त्रलाई धरापमा पारी निरंकुशता लाद्ने बाटोतर्फ छ भनेर प्रमुख विपक्षी कांग्रेसको आरोप छ । कांग्रेसले लगाएका आरोपजस्तो सरकारी गतिविधि छन् भने पनि सरकारका यस्ता गतिविधिलाई बेलैमा सच्याउन प्रेरित गर्ने अवस्थामा कांग्रेस छैन किनभने उ आफैं अन्तरकलहको कहिले नटुंगिने दलदलमा फँसेको छ । बरु आन्तरिक लोकतान्त्रिक अभ्यास सशक्त बन्न नसक्दा मुलुककै उदारवादी व्यवस्थामा संकुचन आउन सक्ने खतरा देखिँदै छ ।
केही समययता पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाका आआफ्ना गुटका क्रियाकलापले कांग्रेसलाई थिलथिलो पारेको महसुस हुँदै छ र जनतामा कांग्रेसप्रति रहेको साखलाई गिराउँदै छ, तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा शेरबहादुर देउवाले पार्टीलाई एकमना एकतामा लैजान नसकेको आरोपको खण्डन गर्दै देउवाको बचाउ गर्छन् । कांग्रेसमा युवा पुस्ताप्रति पनि धेरै भरोसा गर्ने ठाउँ छैन किनभने नेताका फेर समातेर वैतरणी तर्ने सोचमा युवा पुस्ता पनि रहेको छ । स्वाभाविक रूपमा दलको नेतृत्व पाएपछि देउवाले सबै पक्षलाई समेटेर लैजान सक्नुपर्ने थियो, तर त्यसो हुन सकेको छैन र देउवा खुला दिलले सबैसँग हातेमालो गर्दै सहकार्यको बाटोबाट अघि बढ्न तयार देखिँदैनन् ।
त्यसैगरी देउवाले दलको नेतृत्व पाइसकेपछि अन्यको भाग पु¥याउने वा नप¥(याउने उनैका हातमा छाडिदिएर अन्य निरन्तर दल र राजनीतिक शुद्धीकरणतर्फ लाग्नुपर्ने थियो । शशांक कोइराला, शेखर कोइराला र रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाहरुले पनि किचलोमा नफँसी जनता र कार्यकर्तासँग कांग्रेसको पुनर्जागरणका लागि अपिल गर्दा पनि हुने थियो । यस अर्थमा कांग्रेसभित्र कुनै एउटा पक्षलाई मात्र दोष दिन सकिने अवस्था छैन । यो अवस्था आउनुमा सबै शीर्ष नेताको समान भूमिका देखिन्छ । कांग्रेस आन्तरिक कलहको राजनीतिबाट सुध्रिन जरुरी छ भनेर सद्भाव राख्नुको पनि कार्यकर्ताका लागि त्यति सहज छैन । उसले आफ्नो मात्र होइन, मुलुकको लोकतान्त्रिक भविष्यका निम्ति पनि योगदान गर्नुपर्ने बेला आएको छ भनेर आम कार्यकर्ता भन्न सक्दैनन्, किनभने माथिदेखि तलसम्म गुटउपगुटको सञ्जाल छ । आगामी वर्ष महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसले आन्तरिक सम्बन्ध सुदृढ बनाउन आवश्यक छ र मिलेरै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा राम्रो हुने थियो ।

त्यति मात्र होइन, दलभित्रको लोकतन्त्र मजबुत बनाई अन्यका निम्ति समेत उदाहरणीय बन्नुपर्ने दबाब यतिबेला कांग्रेसलाई छ, तर नेतृत्वलाई त्यो दबाब पुग्न सकेको छैन । मुलुकको लोकतान्त्रिक राजनीतिको पृष्ठभूमिमा पुस महिनाको आफ्नै स्थान छ । यही महिनाको १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार अपदस्थ भएको थियो । २०१७ सालको तत्कालीन राजा महेन्द्रको कदमपछि मुलुक ३० वर्षसम्म एकतन्त्रीय शासन भोग्न अभिशप्त रह्यो । २०२५ सालमा थुनामुक्त भएपछि भारत प्रवासमा रहेका बीपी मुलुकको शान्ति, स्थीरता र सार्वभौमसत्ता रक्षाका लागि मुलुक फर्कने निधो गरी २०३३ पुस १६ गते बीपी ‘मेलमिलाप नीति’ लिएर स्वदेश फर्के । तर देशमा परिवर्तनको कुनै संकेत देखिएन । यस अवधिमा कांग्रेस सबैभन्दा कमजोर रह्यो । २०४६ सालमा वामपन्थी शक्तिसँग मिलेर गरिएको जनआन्दोलनले मुलुकलाई लोकतान्त्रिक बाटोमा हिँडाउने वातावरण बन्यो ।
कांग्रेस आफै भन्छ–इतिहासले पटकपटक साबित गरेको छ– जब–जब कांग्रेस कमजोर हुन्छ, तब–तब मुलुकमा लोकतन्त्रको भविष्य पनि कमजोर बन्छ । कांग्रेसलाई पटकपटक सत्ताको वागडोर नेपाली जनताले जिम्मा लगाएका हुन् तर कांग्रेसले आफ्नो त्यो गौरवपूर्ण इतिहास बिर्सेको छ । हिजोका दिनमा कांग्रेस जतिबेला राजनीतिक–सामाजिक परिवर्तनका निम्ति क्रियाशील थियो, त्यसबाट समाजमा सकारात्मक प्रभाव पारेर कांग्रेस उभिएको थियो तर अहिले त्यो अवस्था गुम्दै गएको छ । त्यति मात्र होइन, कांग्रेसले मुलुकलाई आफ्नो राजनीतिक मार्गमा हिँडाउन नसक्ने अवस्था आएको छ । बरु लतारिएर उसले अरूका मार्गचित्र र प्रस्तावमा आफूलाई हिँडाउनुपर्ने अवस्था बनेको छ । कांग्रेसलाई विगतमा नेतृत्व गरेका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका अनुयायीले परम्परालाई निरन्तरता दिन सकेका छैनन् । कुनै बेला पार्टीमा मतभेद भएपछि अलग भएर कांग्रेस प्रजातन्त्रवादी गठन गरेका देउवा आफैंले अहिले कांग्रेसको नेतृत्व गर्ने मौका पाएका छन् ।
यस्तो बेलामा समेत उनीप्रति गुटको मात्र हित गरेकाजस्ता आरोप लाग्नु अति दुःखद् कुरा हो । कांग्रेस आन्तरिक कलहको राजनीतिबाट सुध्रिन जरुरी छ । उसले आफ्नो मात्र होइन, मुलुकको लोकतान्त्रिक भविष्यका निम्ति पनि योगदान गर्नुपर्ने बेला आएको छ । आगामी वर्ष महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसले आन्तरिक सम्बन्ध सुदृढ बनाउन आवश्यक छ । त्यति मात्र होइन, दलभित्रको लोकतन्त्र मजबुत बनाई अन्यका निम्ति समेत उदाहरणीय बन्नुपर्ने दबाब यतिबेला कांग्रेसलाई छ । कांग्रेसमा अहिले विभिन्न गुटका भेला भइरहेका समाचार आइरहेका छन् ।
गुटकै राजनीतिमा रमाउनेलाई त यसले खुसी पार्ला, तर मुलुकको लोकतान्त्रिक भविष्यप्रति चिन्तित नागरिकलाई भने अवश्य दुःखी बनाउँछ । लामो इतिहास र योगदान भएको दल अहिले कमजोर अवस्थामा पुगेको देखेर ठाउँठाउँमा टिप्पणी भइरहेको सुनिन्छ । देशको समग्र अवस्था चिन्ताजनक हुँदा आशा लाग्ने अर्को दल पनि बिग्रँदै गएको भनेर आलोचना भइरहेको छ । तेस्रो विकल्पका रुपमा समाजवादी पार्टी उभिन कोशिस गरिरहे पनि समग्र राष्ट्रिय राजनीतिको भरपर्दो शक्ति समाजवादी पार्टी त्यति सजिलै बन्ला भनेर अहिले नै विश्वास गर्न सकिने ठाउँ छैन ।
यस्ता विषयमा कांग्रेस नेतृत्व वर्गले आफैं सर्वसाधारणका धारणा बुझ्न र तदनुकूल अघि बढ्न उचित हुन्छ । गुटको राजनीतिले आक्रान्त आफ्नो दललाई त्यसबाट बाहिर ल्याउने प्रयास गर्न नेताले नै भूमिका खेल्ने बेला आएको छ । यो लुछाचुँडीले यस्तो लाग्छ नेपाली कांग्रेस न कलहबाट मुक्त हुन्छ न यसले सशक्त विपक्षी भूमिका नै खेल्न सक्छ । धुमिल दृष्टिले दृष्टिकोण सफा हुन सक्दैन र भविष्यको मार्ग स्पष्ट नभए गन्तव्यमा पुग्न सकिदैन भन्ने भित्तामा लेखिएको सत्य समयमै नेपाली कांग्रेसले आत्मसात् नगर्ने हो भने पुरानो मध्ये एक भए पनि नेपाल प्रजापरिषद्को अवस्थामा नपुग्ला भन्न सकिदैन ।
राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सुललित पदावली विस्तारै इतिहासको गर्तमा विलिन भएर जानसक्छ । उभिनलाई त इतिहासको भूमि चाहिन्छ तर इतिहास भजाएर न नेकपा नै लामो समय जनताका नजरमा टिक्न सक्छ न नेपाली कांग्रेस नै इतिहासको ब्याज खाएर बाँच्न सक्छ । यतिबेला कांग्रेसले अन्य पार्टीको आलोचना गर्ने भन्दा पनि आफूभित्र रहेका दुर्गुणलाई हटाउने हो र जनतामा व्याप्त अविश्वासलाई चिर्ने हो ।


























